अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर ६ रानीवनमा नवनिर्मित प्रशासनिक भवनको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ। एक भव्य समारोहका बीच गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले भवनको उद्घाटन गर्नुभएको हो।
उक्त प्रशासनिक भवन कुल लागत १ करोड १२ लाख ५७ हजार ५३८ रुपैयाँमा निर्माण गरिएको हो भने निर्माण सम्झौता रकम ६३ लाख ३९ हजार ३७७ रुपैयाँ रहेको थियो। यसअघि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा कार्यालयले अब आफ्नै दुईतले भवनबाट सेवा दिन थालेको छ।
वडा अध्यक्ष टीकाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष बिसीले नयाँ प्रशासनिक भवनबाट नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। उहाँले गाउँपालिकाका अधिकांश वडाहरूमा प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेको र बाँकी वडाहरूमा समेत निर्माण कार्य निरन्तर अगाडि बढाइने जानकारी दिनुभयो।
कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष निरक बहादुर शाही, नेपाली कांग्रेसका पूर्ण प्रसाद उपाध्याय, एमालेका निर्मला धमाला र अमर न्यौपाने, नेकपाका जनक न्यौपाने र तपेन्द्र शाही, कार्यपालिका सदस्य सुनीता शाही, पूर्व वडा अध्यक्ष मुक्तिनाथ उपाध्याय, पूर्व गाविस अध्यक्ष ध्वज बहादुर साउद लगायत स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन जीवनराज न्यौपानेले गर्नुभएको थियो। प्रशासनिक भवन निर्माण व्यवसायी भीम बहादुर शाहीले समयमै निर्माण कार्य सम्पन्न गरेपछि स्थानीयवासीहरू खुसी भएका छन्।






















प्रतिक्रिया