टेकराज भण्डारी
पौष १४, अछाम
अछामको गंगा माध्यमिक विद्यालय, तेसिङ्गेमा किशोरीहरूका लागि दुईदिने आत्मरक्षा सम्बन्धी तालिम सुरु भएको छ। किशोरीहरूलाई आत्मरक्षा गर्न सक्षम बनाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो।
सामाजिक विकास कार्यालय अछामको आयोजनामा सञ्चालन भएको तालिममा किशोरीहरूलाई आत्मरक्षाका सीप प्रदान गर्नुका साथै घरेलु हिंसा र लैङ्गिक हिंसाबाट बच्ने उपायबारे जानकारी दिइँदै आएको छ। साथै हिंसामा परेका अन्य महिला तथा किशोरीलाई सहयोग गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बरबहादुर रावलले जानकारी दिनुभयो।
कार्यालयले जिल्लाका १० वटै स्थानीय तहका विभिन्न विद्यालयमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको उल्लेख गर्दै प्रमुख रावलले यस्ता तालिमले किशोरीहरूमा आत्मरक्षाका लागि आवश्यक आत्मविश्वास वृद्धि हुने बताउनुभयो।
सामाजिक विकास कार्यालयले किशोरी आत्मरक्षासँगै लागूपदार्थ दुर्व्यसनविरुद्ध पनि विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सचेतना कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख रावलले बताउनुभयो। लागूपदार्थले किशोरकिशोरीहरूलाई ठूलो क्षति पुर्याउने भएकाले समयमै यसविरुद्ध सचेत हुन उहाँले आग्रह गर्नुभयो।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै गंगा मावि, मंगलसेन–६ तेसिङ्गेका प्रधानाध्यापक मोतिराम भण्डारीले तालिमका लागि आफ्नै विद्यालय छनोट गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले तालिमले किशोरीहरूलाई आत्मरक्षाका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै विद्यालयले हाल गुणस्तरीय शिक्षाका लागि सक्दो प्रयास गरिरहेको र कक्षा ११ समेत सञ्चालन भइरहेको बताउँदै विद्यालय भवनको समस्या रहेको उल्लेख गर्नुभयो। त्यसका लागि सामाजिक विकास कार्यालयसँग भवन निर्माणमा सहयोगको आग्रह समेत गर्नुभयो।
तालिममा विद्यालयका कक्षा ९, १० र ११ मा अध्ययनरत ५० जना किशोरीहरू सहभागी छन्। उनीहरूलाई प्रशिक्षक हिक्मत भुल र बहादुरसिंह (बी.एस.) ओडले प्रशिक्षण दिइरहनु भएको छ।
सामाजिक विकास कार्यालयका वरिष्ठ शिक्षा सहायक राजु साहले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो।



























प्रतिक्रिया