अछामः जिल्लाको ढकारी गाउँपालिकाको १६ औँ गाउँसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष प्रकाशबहादुर साँउदको अध्यक्षतामा सम्पन्न उक्त बैठकले छाउपडी प्रथा निवारणसम्बन्धी कार्यविधिसहित ६ वटा कार्यविधि र १ वटा विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले महिलामाथि हुने सामाजिक विभेद अन्त्य गर्ने महत्वपूर्ण कदमस्वरूप ढकारी गाउँपालिकाको छाउपडी प्रथा निवारण गर्न बनेको कार्यविधि पारित गरेको हो। यस कार्यविधिले महिनावारी तथा सुत्केरी अवस्थाका महिलालाई गोठ वा अलग्गै बस्न बाध्य पार्ने कुप्रथाको अन्त्य गर्दै महिलाको सम्मान, स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्ने विश्वास लिइएको छ। कार्यविधिमार्फत छाउपडी प्रथाविरुद्ध जनचेतना अभिवृद्धि, निगरानी संयन्त्र तथा कानुनी प्रक्रिया स्पष्ट हुने अपेक्षा गरिएको छ।
यसैगरी, गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय पोशाक वितरण गर्ने सम्बन्धी कार्यविधि, २०८२ पनि पारित गरेको छ। उक्त कार्यविधिले विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई समान पहुँचसहित पोशाक उपलब्ध गराई शिक्षामा निरन्तरता, उपस्थितिदर वृद्धि तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई राहत पुग्ने लक्ष्य लिएको छ।
बैठकले यसका अतिरिक्त ढकारी गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, बेरुजु फछ्र्यौट कार्यविधि, गाउँसभा सचिवालय स्थापना तथा कार्यविधि, लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि सर्वसम्मत रूपमा पारित गरेको छ। साथै बेरुजु फछ्र्यौट र समन्वयसम्बन्धी विषयमा समेत छलफल गरी आवश्यक निर्णयहरू गरिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ को उपदफा (२) तथा सुदूरपश्चिम प्रदेश सरकार गाउँसभा तथा नगरसभा कार्यसञ्चालन ऐन, २०७५ को परिच्छेद २ दफा ३(१) बमोजिम १६ औँ गाउँसभाको हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठक सम्पन्न भएको हो।
हिउँदे अधिवेशनको उक्त पहिलो बैठकमा गाउँसभाका सदस्य, पालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।


























प्रतिक्रिया