मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी–६ दुंगाचाल्लामा नेपाली कांग्रेसको चुनाव केन्द्रित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

ढकारी–६ दुंगाचाल्लामा नेपाली कांग्रेसको चुनाव केन्द्रित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न


अछाम – नेपाली कांग्रेस अछाम निर्वाचन क्षेत्र नं. २ द्वारा आयोजना गरिएको चुनाव केन्द्रित घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम ढकारी गाउँपालिका वडा नं. ६ दुंगाचाल्लामा सम्पन्न भएको छ।

वडा कार्यसमितिका सभापति लोक बहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा नेपाली कांग्रेस अछामका सभापति पुष्प बहादुर शाहले ढकारी क्षेत्रको दिगो विकासका लागि आफू निरन्तर प्रयत्नशील रहेको बताए।

उनले कमलबजार–ढकारी पक्की सडक निर्माण, बेनी सडक, पुनेपाटा–दुंगाचाल्ला सडक स्तरोन्नति, जंगलघाट–आस चिजाई पुल निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। साथै बेतान कर्णाली जलविद्युत् आयोजनाको निर्माणका लागि स्वीकृति प्राप्त गर्ने, मुआब्जा वितरण, विद्युत् विस्तार, खानेपानी आयोजना, विद्यालय भवन तथा स्वास्थ्य संस्था भवन निर्माणका क्षेत्रमा महत्वपूर्ण काम गरिएको बताए।

शाहले अछामी जनताको जनजीविकासँग सम्बन्धित मुद्दाहरू सरकार र संसदमा सशक्त रूपमा उठाउँदै आएको उल्लेख गरे। आगामी फागुन २१ गते हुने निर्वाचनमा आफू विजयी हुनेमा विश्वस्त रहेको उनले बताए। अछामको गरिबी न्यूनीकरण, स्वरोजगार सिर्जना तथा समुन्नत अछाम निर्माण आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ थियो।

कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार टेक बहादुर विकले पछाडि पारिएका क्षेत्र, वर्ग र समुदायको अधिकार संरक्षण तथा देशमा सुशासन कायम गर्न नेपाली कांग्रेसको सरकार आवश्यक रहेको बताए। उनले आफू ढकारी क्षेत्रको उम्मेदवार भएकाले ढकारीबासी तथा सम्पूर्ण अछामवासीलाई रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउन आग्रह गरे।

कार्यक्रमकै अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी १९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्षेत्रीय कार्यसमिति, नगर कार्यसमिति, वडा कार्यसमिति, जनप्रतिनिधि तथा पार्टीका विभिन्न भ्रातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।