पाँचौँ विश्वकप (१४ जुनदेखि ४ जुलाई, सन् १९५४, स्वीट्जरल्यान्ड) चार महादेशका १६ टिमको सहभागिता विजेता :– पश्चिम जर्मनी
काठमाडौं । पाँचौँ संस्करणको विश्वकप आयोजना गर्ने जिम्मेवारी स्विट्जरल्यान्डले पाएको थियो । लक्जेम्बर्गमा २२ जुलाई १९४६ मा बसेको फिफा बैठकले स्विट्जरल्यान्डलाई आयोजनाको जिम्मेवारी दिएको थियो ।
त्यही बैठकले १९५० को विश्वकप ब्राजिलमा आयोजना गर्ने निर्णय गरेको थियो । आयोजक स्विट्जरल्यान्ड र साविक विजेता उरुग्वे स्वतः छनोट भएका थिए ।
बाँकी १४ स्थानमध्ये ११ युरोपका लागि छुट्याइएको थियो । दुई अमेरिका र एक एसियाका लागि स्थान छुट्याइएको थियो ।
दक्षिण कोरिया र टर्की, स्कटल्यान्ड, र जर्मनी टुक्रिएपछि बनेको पश्चिम जर्मनीको पहिलोपटक विश्वकपमा सहभागी भए ।
स्कटल्यान्ड सन् १९५० को विश्वकपमा पनि छनोट भएको थियो तर, अन्तिममा नाम फिर्ता लिएको थियो ।
दक्षिण कोरियाका लागि यो विश्वकप विर्सनलायक रह्यो । अघिल्लो संस्करणमा प्रतिबन्धित भएका जापान र जर्मनीलाई यस प्रतियोगितामा छनोट खेल्न दिइएको थियो ।
अघिल्लो संस्करणमा तेस्रो र चौथो स्थान हासिल गर्न सफल स्विडेन र स्पेन दुबै यस संस्करणमा छनोट हुन असफल भए । अर्जेन्टिनाले लगातार तेस्रो विश्वकपमा सहभागी हुन मानेन ।
यही विश्वकपबाट पहिलोपटक खेलहरू टेलिभिजनमा प्रशारण गरिएको थियो ।
युरोपमा हंगेरीको दबदबा थियो । हंगेरीसँगै साविक विजेता उरुग्वेलाई स्विट्जरल्यान्डमा उपाधि दाबेदार मानिएको थियो ।
हंगेरीका महान खेलाडी फ्रांक पुस्कास समूह चरणमा पश्चिम जर्मनीविरुद्धको खेलमा घाइते भएका थिए । तर, नकआउट चरणमा उनी फिट भएका थिए ।
युरोपले विश्वयुद्धपछि पहिलोपटक विश्वकप आयोजना गरेको थियो । त्यसकारण पनि युरोपको सानो मुलुक स्विट्जरल्यान्डमा अघिल्लो संस्करणको जस्तो माहोल थिएन ।
ब्राजिलमा सम्पन्न चौथो संस्करणको फाइनल खेल हेर्न एक लाख ७३ हजार ८५० समर्थक रंगशालामा उपस्थित थिए ।
तथापी रंगशालामा दुईलाख समर्थक उपस्थित भएको भनाई छ । यो संस्करण पनि लिगकम नकआउट प्रणालीमा खेलाइएको थियो ।
सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको थियो ।
तर, समूह चरणमा एक टिमले दुई खेलमात्र खेल्ने नियम बनाइएको थियो । र समूहको विजेता र उपविजेताले कुन टिमसँग खेल्ने भन्ने पनि निश्चित थिएन ।
र, एक समूहको विजेताले अर्को समूहको विजेताविरुद्ध खेल्यो । र, उपविजेता अर्को समूहको उपविजेतासँगै खेल्यो । जसको चर्को आलोचना भएको थियो ।
जसका कारण समूह ‘ए’को ब्राजिल र समूह ‘बी’ विजेता हंगेरीले क्वार्टरफाइनलमै प्रतिस्पर्धा गरेको थिए । हंगेरी र ब्राजिलबीचको खेललाई फाइनल सरहको खेल भनिएको थियो ।
तर, यी दुई देशबीचको खेल सहज भने रहेन । मैदानमा दुई टिमका खेलाडीबीच झडप भएको थियो । र, रेफ्रीले फाइनल सिटी बजाइसकेपछि पनि दुई टिमका खेलाडीबीच झडप भएको थियो ।
कुल २६ खेल भएको यस विश्वकपमा पश्चिम जर्मनीले हंगेरीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो ।
हंगेरीले दुई शून्यको अग्रता लिएको थियो । तर, पश्चिम जर्मनको उच्च मनोबल र हिलाम्मे मैदानमा हंगेरीको रणनीति सफल हुन सकेन ।
पश्चिम जर्मनीका हेलमट राहनले दुई गोल गरे भने म्याक्सिमिलियन मोरलकले एक गोल गरे हंगेरीका फेरेन्क पुस्कास, जोल्टन जिबोरले गोल गरेका थिए ।
पश्चिम जर्मनीको यो पहिलो उपाधि हो । अष्ट्रियाले उरुग्वेलाई ३–१ ले हराउँदै तेस्रो स्थान हासिल गर्यो ।
प्रतियोगिताभर १४० गोल भए । औसतमा सबैभन्दा धेरै गोल भएको विश्वकप यही हो । हंगेरीका सान्डोर कोक्सिस सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले ११ गोल गरेका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९ १७:२६
प्रतिक्रिया