अछाम : जलवायु परिवर्तनका कारण पछिल्लो समय वातावरण प्रतिकूल हुँदै गएको छ । हिजो आज पानी पर्ने समय र तरिका फेरिएको छ । हालका दिनमा विश्व जलवायु परिवर्तनले मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ ।
फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिम पहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ ।
वर्षाको प्रकार र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू–क्षय र खडेरीजस्ता प्रकोपका घटना बढ्दै जानुका साथै ठुलो धनजनको क्षति बढ्दै गएको पाइन्छ ।
पहाडी भागमा व्यापक बाढी पहिरो जानका साथै स–साना खोल्सा, मूल कुवा आदि पानीका स्रोत सुक्दै जान थालेका छन् भने तराई भागमा भूमिगत पानीको सतह घट्न गएको छ। यसै गरी तापक्रमको वृद्धिसँगै झिँगा तथा लामखुट्टेको पनि वृद्धि भई मलेरिया, पहेँलो ज्वरो, डेङ्गु, इन्सेफलाईटिसजस्ता सरुवा रोगको प्रकोप बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ–नयाँ झार तथा रोग कीराको आगमनले नकारात्मक असर पारेको छ
नेपालको कृर्षि क्षेत्रमा पारेको प्रभाव
-समयमै पानी नपर्दा खेती लगाउन समस्या ।
-भूक्षय र बाढी पहिरोका घटनाले माटोको उर्वरा शक्ति घटेर उत्पादनमा ह्रास ।
-विभिन्न कीटाणु तथा रोगव्याधी निस्किएर बालीनालीमा क्षति ।
वातावरणीय प्रभाव
-प्रदूषित सहरको सूचिमा विश्वकै एक नम्बरमा काठमाडौँ ।
-पहाडमा भेल पहिरो,नदी तटीय क्षेत्रमा बाढी आउने, भूक्षय र खडेरी जस्ता प्रकोपहरूमा वृद्धि ।
-तराईमा खेतवस्ती डुबान,नदीको धार बदलिएर हुने बाढी,नदी तटीय क्षेत्रमा कटान र खडेरी जस्ता प्रकोपमा वृद्धि ।
-हिमालमा हिम पहिरो हिमताल विस्फोट हुने र तल्लो भेगमा ठुलो जनधनको क्षति हुने खतरा ।
जलस्रोतमा प्रभाव
हिमाली भेगमा तीव्र गतिमा हिउँ पग्लिदा हिमालबाट सुरु हुने नदीहरू पनि अन्य नदी जस्तै वर्षे नदी बन्ने सम्भावना छ ।
खानेपानीको आपूर्ति तथा सिँचाइका लागि पानीको अभाव ।
जलविद्युत उत्पादनमा कमीले देशको ऊर्जामा सङ्कट अझ बढाउने छ ।
जैविक विविधतामा प्रभाव
– परिवर्तित जलवायु अनुसार आफूलाई ढाल्न नसक्दा रुख बिरुवा तथा जीवजन्तु लोप हुने सम्भावना ।
– वनको विनाश बढ्दा वन्यजन्तु तथा वनस्पतिको प्राकृतिक वासस्थानमा असर ।
जनस्वास्थ्यमा जलवायु परिवर्तनको प्रतिकूल असर
– वायु प्रदूषणले बालबालिका,ज्येष्ठ नागरिकमा श्वासप्रश्वासको समस्यामा वृद्धि ।
– बढ्दो तातोपनाको कारण झाडापखाला, लामखुट्टेबाट सर्ने रोग लगायत अन्य रोगहरूमा वृद्धि ।
– बाढी पहिरोका घटनाहरूको बेला शुद्ध पिउने पानीको अभावले पानी–जन्य रोगको प्रकोप ।
नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ। यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो। त्यसमा पनि उच्च पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझ बढिरहेको छ ।जलवायु परिवर्तनले गरिबीलाई अझ जोखिममा पार्दछ र सीमान्तकृत एवं जोखिममा परेका समूहलाई अझ कठिनाइ बेहोर्न सक्दछ ।
साँफेबगरको बाब्लामा रिचार्ज पोखरी
साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा इबीएको सहयोगमा रिचार्ज पोखरी निर्माण गरिएको छ । आर्थिक वर्ष २०७८,७९ मा ५५ लाख आयोजनाकाबाट विनियोजित बजेट र १९ लाख ६४ हजार २३ रुपैयाँ जनश्रमदान गरी जम्मा ७४ लाख ६४ हजार २३ रुपैयाँको लागतबाट निर्माण भएको रिचार्ज पोखरीबाट १०३ घर धुरी लाभान्वित भएका छन् ।
जलवायु परिवर्तनले पानीका मुहान सुक्दै जानु,खडेरी पर्नु लगायतका वातावरणीय समस्या निम्तिँदै गएका छन् । पानीलाई केही समय रोकेर राख्दा जमिन मुनी पानीको भण्डार बढ्ने,पानीको स्रोत संरक्षण हुने,तल्लो तटीय क्षेत्रका पानीका मुहान बढ्ने,वनजंगल सँगै वन्यजन्तु र जङ्गली जनावरको समेत संरक्षण हुने भएकाले पहाडी भेगका लागी जलवायु परिवर्तनको प्रभाव कम गर्ने उत्तम विधि रिचार्ज पोखरी हो ।
घाँस खेती
गाई भैँसी पालनदेखि भूक्षय रोक्नका उपयोगी नेपियर घाँसको बिउ किसानहरूलाई उपलब्ध गराइएको छ । इबिए द्वारा प्राप्त नेपियर घाँसको बिउ पाएपछि साँफेबगर नगरपालिका बाब्लाका केही किसानहरूले बाँझो जमिनलाई सदुपयोग गर्दै घाँस खेती गरेका छन् । घाँस खेतीले गाई वस्तु पाल्न सहज मात्रै भएको छैन,भिर पाखा तिर जोखिममा घाँस काट्ने समस्या पनि टरेको छ ।
आलु उत्पादन
आलु समथर मैदानी भूभागदेखि चिसो पहाडसम्म एकछत्र उत्पादन हुन्छ । आलु बहूउपयोगि कन्दमूल मानिन्छ । तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपयोग गरिन्छ । मेल्लेख गाउँपालिका वडा नम्बर १ र २ मा केही किसानहरूलाई आलु उत्पादनका लागी बिउ तिरण सँगै प्राविधिक सहयोग समेत गरिएको छ । आलु उत्पादन हुनै लाग्दा आकाशबाट परेको असिना पानीले सबै बोट सखाप हुने गरेको किसानको दुखेसो छ । अन्नबाली भित्र्याउनै लाग्दा असिना पानीले सबै सखाप हुँदा बजारबाट सबै थोक किनेर खानुपर्ने बाध्यता गाउँका किसान दाजुभाइ लाई छ ।
रामारोशन ताल संरक्षणमा इबिएको प्रयास
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको रामारोशन ताल संरक्षणका लागी तालको क्षेत्रमा इबिएले केही ठाउँमा तटबन्ध बनाएको छ । हावापानीका दृष्टिले लेकाली भेकमा रहेको रामारोशन ताल संरक्षणका लागी आगामी दिनमा बृहत्तर कार्य योजना लागु गर्ने इबिएको तयारी रहेको छ ।
जलवायु परिवर्तन कसरी कम गर्ने ?
हाल विश्वमा हुने हरित गृह ग्यासको कुल उत्सर्जनमा नेपालको हिस्सेदारी ०.०२५ प्रतिशत रहेको छ। कार्बन डाइअक्साइडको अत्यधिक उत्पादनका कारण नै जलवायु परिवर्तनको समस्या देखा परेको हो । यदि अहिलेकै गतिमा जलवायुमा परिवर्तन भइरहने हो भने प्रकृतिबाट अपूर्व वरदानका रूपमा पाएका सुन्दर हिमताल र नदीनाला यिनीहरू कालान्तरमा सङ्कटमा पर्ने निश्चित छ। त्यसो भयो भने हामीले निकै ठुलो ऊर्जा सङ्कटको सामना गर्नुपर्ने छ ।
प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने पनि हामीले निकै धेरै लाभ हासिल गर्न सक्छौँ। त्यसै गरी, सडकको दायाँ–बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ। त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन्छ ।
चुरे पहाडको संरक्षणका लागि पनि हामीले त्यत्तिकै ध्यान दिनु परेको छ। लगातार रूपमा चुरे पर्वत शृङ्खलामा भइरहेको क्षयीकरणले हाम्रो भू–सन्तुलनमा नै समस्या खडा गर्ने देखिएको छ। देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको विकास गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ।
यसै गरी विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरुरी छ। हरित गृह ग्यास उत्पादनमा कमी ल्याउन वैकल्पिक ऊर्जाको प्रयोग एक प्रमुख उपाय हो। त्यसैले आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्य शक्ति, बायोग्यासको उपयोगमा वृद्धि गर्न आवश्यक छ ।
पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण र तिव्र औद्योगिकरणले अनेक समस्या निम्ताएको छ । यिनै समस्याहरूको न्यूनिकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन जरुरी छ ।
प्रतिक्रिया