काठमाडौं । मानवमा कोरोना (कोभिड-१९) संक्रमण फैलिरहँदा गाईवस्तुलाई अनौठो किसिमको रोग देखिएको छ । नेपालमै पहिलोपल्ट गाईवस्तुमा लम्पी स्किन भन्ने रोग देखिएको हो । गत असारमा मोरङका केही गाईमा लम्पी स्किन देखिएको थियो ।
जसको ल्याब परीक्षण गर्दा रोग प्रमाणित भएको हो । असारको अन्तिम सातातिर मोरङमा केही गाईमा लम्पी स्किन रोगसँग मिल्दो लक्षणहरू देखा परेको पशु सेवा विभागले जनाएको छ । सूचना प्राप्त भएलगत्तै विभागबाट आवश्यक नमुना संकलन तथा रोग अन्वेषणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, विराटनगरलाई निर्देशन गरिएको थियो ।
प्रयोगशालाबाट खटिएको प्राविधिक टोलीले रोगको प्रकोपको अन्वेषण गर्नुका साथै नमुना संकलन गरेको थियो । जसको परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा ल्याइएको थियो । ल्याबमा साउन ११ गरेको रियल टाइम पीसीआरबाट परीक्षण गर्दा लम्पी स्किन रोग नेपालमा पहिलोपटक पुष्टि भएको हो ।
यो रोग मोरङ, रौतहट, चितवन र मकवानपुर देखिएको छ । ३४ वटा नमुना परीक्षण गर्दा सबै नमुनामा लम्पी स्किन रोग पोजिटिभ देखिएको थियो । ती जिल्लामा १५ सयभन्दा गाईमा यो रोगको संक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
लम्पी स्किनबाट हालसम्म १२ वटा गाई मरेका छन् । देशका अन्य स्थानमा समेत गाईहरूमा यो रोगसँग मिल्दो लक्षणहरू देखापरेको विभागको दाबी छ । यो विशेषगरी गाईमा र कहिलेकाहीं भैंसीमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो ।
लम्पी स्किन रोग देखिएका गाईमा घाँटी, पुच्छर वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना-ठूला गिर्खा देखिने गरेका ती गाईमा १०५ डिग्रिभन्दा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने, बाँझोपन हुने, ४५ प्रतिशत गाईभैंसी बिरामी पर्ने र १० प्रतिशतसम्म मृत्युदर हुने हुन्छ ।
यो रोग मुख्यत: लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाइबाट सर्ने गर्छ। यसबाहेक संक्रमित गाईभैंसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुइको प्रयोग र प्राकृतिक तथा कृत्रिम गर्भाधानमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि सर्ने गर्छ । यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी/पाडापाडीमा समेत सर्ने गर्दछ । लम्पी स्किनको खोप हालसम्म नेपालमा उपलब्ध छैन ।
यो रोग विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित थियो । सन् २०१२ पछि यो रोग पूर्व, दक्षिण पूर्वी युरोप, रुस, काजकिस्तानलगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो । – बारह्खरी
प्रतिक्रिया