काठमाण्डौ – नेपालको नयाँ नक्साको अङ्ग्रेजी संस्करण स्वीकृत भएको छ । नापी विभागले तयार पारेको लिम्पियाधुरासहितको नक्साको अङ्ग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्वीकृत गर्नुभएको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए ।
सरकारले नेपालको राजनीतिक तथा प्रशासनिक संरचना समेटिएको नेपालको नयाँ नक्साको नेपाली संस्करण गएको जेठ ५ गतेको निर्णयअनुसार जेठ ८ गते मन्त्री अर्यालले सार्वजनिक गरेकी थिन । अङ्ग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र सङ्घ, कुटनीतिक नियोगलगायत अन्तर्राष्ट्रिय क्षेत्रमा पठाउनका निम्ति बाटो खुलेको सूचना अधिकारी ढकालले बताए।
अब परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय समुदायमा नक्सा पठाइने विभागले जनाएको छ ।लिम्पियाधुरा भन्दा झण्डै ५० कोश पूर्वमा रहेको कालापानी क्षेत्रमा समेत भारतले आफ्नो सुरक्षाकर्मी राखेको छ ।
त्यस क्षेत्रमा नेपालको ३९ हजार पाँच सय हेक्टर भूमि अतिक्रमणमा परेको सीमाविद्हरू बताउँछन् । नेपालले जारी गरेको नक्साको विरोध गरे पनि सीमा क्षेत्रको समस्या समाधान गर्न भारतले चासो देखाएको छैन ।
प्रतिक्रिया