मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“जिन्दगी” – डा. अमित बिष्ट

“जिन्दगी” – डा. अमित बिष्ट


जिन्दगीले जिन्दगीलाई डोर्‍याउदै यहाँसम्म लेरायो
लक्ष्यले जिन्दगीलाई कहिल्यै पनि डोर्‍याउन सकेन
न सपनाहरू उचो राखे हिमालभन्दा अग्ला अग्ला
न तुच्छ भावनामा झुके समुन्द्रको सतह भन्दा मुनि
केवल म मात्रै होइन सँगसँगै मेरो जिन्दगी चलिरह्यो
हावाको भरमा खुला आकाशमा उडेको चंगाजस्तै।।

जमिन र जराको सम्बन्ध स्वत: बृक्षसँग जोडिन्छ
हुने बिरुवाको चिल्ला पातहरु भन्ने उखानजस्तै
मलजलको भरमा ह्वात्तै बढेको बृक्ष दरो हुँदैन
मेरो औकात औंल्याएर ठाडो प्रश्न गर्छु भन्नेहरु
माटो र मेरो जिन्दगीको औकात एउटै एउटै हो
तेसैले म माटोसँग कहिल्यै अलग हुन सक्दिन।।

मेहनतलाई पैसामा तौलन खोज्नु मुर्खता ठान्द्छु
मान्छेमा जिन्दगीको अस्तित्व समय रहन्जेल हो
हरियो पात र फक्रेको फुल एउटा ऋतु भरलाई हो
मानौँ दाँतहरु झरेपछि मुस्कान अधुरो भएजस्तो,
सिजनमा फलेको फलको स्वाद नचाख्नु भनेको
मौकामा चौका नहानेर अवसर गुमाए बराबर हो।।

बर्षौ लगाएर जोडेको सम्बन्ध त टुट्छ एकाएक
मायालाई बन्द गर्ने मुटुका भित्ताहरु दरिला नभए,
त्यान्द्रो त्यान्द्रो बुनेर बनाएको भरोसाको डोरीले
मनभित्र साहसले जोडेको मजबुत बाध बाध्न सके
अथाह आरोपप्रत्यारोपहरु थेग्ने हिम्मत राख्दछ।।

जिन्दगीलाई जिर्ण मनोबलमा आस्रित राख्नु भन्दा
स्वसम्मानले जिन्दगी जिउनुको आनन्दनै बेग्लै छ,
संघर्षरत भएर जिन्दगीलाई झेल्दै अघि बढाउनु पर्ने
करकापले बाच्नु भनेको मुटुमा बोझ लिइ बाच्नु हो,
सत्यलाई आत्मसात गर्नु भनेकै सफल जिन्दगी हो ।।

कुमालेको काँचो भाडाजस्तो जिन्दगीको के अर्थ
अरुको इच्छा बिपरित आकारको स्वरुप लिनुपर्ने,
किताब रटेर ज्ञान हासिल गर्नेहरु हजारौं भेटिन्छन्
जिन्दगीलाई रटेर अनुभव बटुल्नेगरु थोरै भेटिन्छन्
तेसैले त भोगाइ भन्दा ठूलो सिपको अहोदा हुन्न।।