- प्रज्वल अधिकारी
मैले उसलाई
कहिल्लै हेपेर काम लगाएकै छैन हजुर !
बरु
उसले मागेको जति
पारिश्रमिक दिएपछि पनि
अब अलिकती थपिदिनु न!
भन्छ उ
तर मैले-
यो एक बोरा आलु माथी लगिदेउन भन्दा
मेरो समय सकिसक्यो भनेर
मलाई थर्काउने पनि उ नै हो हजुर!
म आज जे छु
मसँग जे छ
त्यसमा
उसको कत्तीपनि हात छैन
यो म भन्नै सक्दिन ।
मेरा हरेक सफलतामा
उसको योगदान अमुल्य छ।
नबोकिदिएको भए उसले भारि
नसघाएको भए मेरा हरेक काम
नधानिदिएको भए मेरो ब्यबसाय
आज म यत्तिको हुने थिईन।
हजुर
मैले उसलाइ कहिल्लै लगाएको छैन-
नि:शुल्क काम
कहिल्लै लगाएको छैन-
भोकभोकै काम
बरु,
उसैले भने बमोजिम
र उ आउँछु भनेको दिन
मैले मेरो कामका योजना बनाएको छु।
उ आएपछि
बिहान- चिया, नास्ता र चुरोट
दिउँसो – उ सहित उसका परिवारलाई खाजा
साँझ- सुरपान र खाना खुवाएर पठाएको छु।
हरेक चाडबाड होस या पर्व
उ सहित उसका सबै परिवारलाई
सकेको सहयोग गरेको छु।
उसैले भनेको हो –
अहिले अलिकती पैसा दिनु
पछि काम गरेर तिरौला
तर आज उसले-
यो मुद्दा दर्ता गरेर
मैले दिएको पैसा चपाउन खोज्दैछ!
सित्तैमा त उसले
मेरो खेतको-
एक चपरी माटो पनि उक्काएको छैन
मेरो घरमा-
एक मुठो खर सम्म हालेको छैन
मेरो गोठमा-
एक छपनी ढुङ्गा पनि लगाएको छैन।
सित्तैमा त
हजुरले पनि न्याय सुनाईबक्सन्न नि
कि कसो हजुर ?
लमजुङ
प्रतिक्रिया