सफलता भनेको हाम्रा दैनिक बानीहरुको परिणाम हो । आज तपाईंले आफ्नो बानीमा, सोंचमा जुन कुरा विकास गरिरहनुभएको छ, भविष्य भनेको त्यसकै नतिजा हो ।
खुशी र सफल भविष्य चाहनुहुन्छ भने ख्याल राख्नुहोस् यी ५ कुरा
आफ्नो रुचिको कामलाई करियरको रुपमा कसरि अगाडी बढाउन सकिन्छ भन्ने अध्ययन गर्नुहोस् र सोही अनुरुप प्रयास गर्नुहोस् । त्यसको लागि चुनौतीको सामना गर्न पछि नहट्नुहोस् । धेरै मानिसहरु युवावस्थामा आफ्नो रुचीको काम गर्न, आफ्नो रोजाई अनुसारको करियर बनाउन डर मानेका कारण भविष्यमा पश्चाताप गरिरहेका हुन्छन्, दुखी भएका हुन्छन् ।
हिजो तपाईं जुन कुरामा सफल हुनुभयो, आज त्यही कुरा सम्झेर नबस्नुहोस् । त्यसरी तपाईं भर्याङ्गको बीचमै रहनुहुनेछ । आज अर्को सिंढी चढ्ने प्रयास गर्नुभयो भने, तपाईं सबैभन्दा माथी पुग्न सक्नुहुनेछ । हरेक दिन एक पाइला अगाडी बढाउनुहोस् । तपाईं हिजो भन्दा आज राम्रो हुनुपर्छ, पोहोरको वर्ष भन्दा अहिलेको वर्ष राम्रो हुनुपर्छ ।
अरुका कारण आफूलाई नगुमाउनुहोस् । आलोचना गर्नेहरु र आफूलाई छोडेर जानेहरुको पछि नलाग्नुहोस् । आफूलाई माया र सम्मान गर्नुहोस्, आफूलाई बुझ्नुहोस् । त्यसपछि मात्र अरुको बारेमा सोंच्नुहोस् । तपाईं जोसुकै हुनुहुन्छ, सक्षम हुनुहुन्छ, राम्रो हुनुहुन्छ र महत्वपूर्ण हुनुहुन्छ । केहीले भावनामा बगेर, केहीले अरु व्यक्तिको तर्कमा लागेर आजलाई बिगारिरहेका हुन्छन् र भविष्यमा पछुताउँछन् । तपाईं ती व्यक्तिहरुको खेमामा नपर्नको लागि सजग रहनुहोस् ।
आफ्नो मानसिक र शारीरिक स्वास्थ्यमा ध्यान दिनुहोस् । स्वस्थ जीवनशैली अपनाउने कोसिस गर्नुहोस् । सफलता भनेको पैसा मात्र होइन । सबैभन्दा ठूलो सम्पत्ति स्वास्थ्य हो । कडा मिहिनेत गर्नुहोस् र आफ्नो मानसिक तनावलाई व्यवस्थापन गर्न सिक्नुहोस् । जसरि शारीरिक रुपमा अस्वस्थ भइन्छ, त्यसरी नै कहिलेकाहीं मानसिक रुपमा अस्वस्थ भइन्छ । यदि लगातारको तनावमा हुनुहुन्छ भने मनोवैज्ञानिक परामर्शदाताहरुसंगबाट परामर्श लिनुहोस् । जब तपाईं शारीरिक तथा मानसिक रुपमा स्वस्थ बन्नुहुन्छ, तब कामको शारीरिक तथा मानसिक भार सजिलोसंग उठाउन सक्नुहुन्छ ।
आफूलाई अपडेट राख्नुहोस् । पत्रिका पढ्ने तथा पुस्तक पढ्ने बानी बसाल्नुहोस् । स्पष्ट लक्ष्य राख्नुहोस् र कामलाई सम्मान गर्नुहोस्। आत्मनिर्भर बन्नुहोस् । आत्मनिर्भरताले नै स्वतन्त्रता दिन्छ र स्वतन्त्रताले नै खुशी र सफलता दिन्छ ।
प्रतिक्रिया