जीवन सधै सहज तरिकाले अगाडी बढे हुन्थ्यो भन्ने हामीलाई लाग्छ । हामी काम गर्नलाई सधै चिल्लो र सिधा बाटो होस्, अनि सफलतामा पुग्न सक्छौं भन्ने सोंच्छौँ । त्यसैले कठीन परिस्थितिलाई हामीले सफलताको लागि अवरोध मान्छौं । तर कठीन परिस्थितिहरु नै हुन्, जसले हामीलाई सफलता दिलाउँछन् ।
कठीन परिस्थितिलाई सफलतामा कसरी परिणत गर्न सकिन्छ ?
कठीन परिस्थिति साहस जन्माउने सबैभन्दा ठूलो कारक तत्व हो । कठीन परिस्थिति भोगेको व्यक्तिमा सहनशक्ति र धैर्यता हुन्छ । उसमा कठिनाइको सामना गरेको अनुभव हुन्छ । त्यसैले उसलाई अगाडी आउने चुनौती तथा जोखिमहरु केही पनि नभोगेको व्यक्तिको तुलनामा सामान्य लाग्छन् । सबैभन्दा ठूलो कुरा, उसलाई दु:ख आउंदैमा जीवन सकिदैन भन्ने कुराको ज्ञान भइसकेको हुन्छ । यसले गर्दा ऊ साहसी बन्छ र जीवनमा अगाडी बढ्छ ।
कठीन परिस्थिति सबैभन्दा ठूलो प्रेरणा दिने तत्व हो । यदि तपाईंलाई कसैले नकारात्मक आलोचना गरेर या अपहेलना गरेकोले दु:खी हुनुहुन्छ या त कसैले तपाईंलाई उसको जीवनबाट निकालिदिएकोले दुखी हुनुहुन्छ भने अबको समय भनेको तपाईंलाई आफूलाई प्रमाणित गर्ने समय हो । तपाईं अब यसरि अगाडी बढ्नुछ कि, भोली उनीहरु तपाईंको लागि ताली पिट्दै हुनेछन् । प्रसिद्ध कलाकार फ़्राङ्क सिनात्राले भनेका छन्, ” सबैभन्दा ठूलो बदला भनेको ठूलो सफलता हो ” ।
कठीन परिस्थिति आफूले गरेको कुनै गल्तीका कारण आयो कि, गलत निर्णयका कारण आएको हो कि ? यदि त्यसो हो भने त्यो कठीन परिस्थिति तपाईंको लागि सबैभन्दा ठूलो पाठ हो । भनिन्छ नि, स्कुलले होइन, जीवनका अनुभवहरुले हामीलाई सिकाउँछन्, परिपक्क बनाउँछन् । यदि त्यो परिस्थतिले सिकाएको पाठलाई तपाईंले मनन गर्नुभयो भने तपाईं परिपक्क बन्नुहुनेछ । तपाईंले अब लिने निर्णयहरु पहिलेको तुलनामा व्यवहारिक र सही हुनेछन् । जसले गर्दा तपाईं सहज तरिकाले जीवनमा अगाडी बढ्न सक्नुहुनेछ ।
कठीन परिस्थिति तपाईंको पारिवारिक, आर्थिक पृष्ठभूमीले आएको हो, तपाईं हुर्किएको वातावरणमा भएको सिमितताले गर्दा आएको हो भने त्यो परिस्थिति तपाईंको लागि अवसर, महत्वाकांक्षा र इच्छाशक्ति बन्न सक्छ । तपाईं त्यो परिस्थितिलाई जितेर अगाडी बढ्न चाहनुहुन्छ । गरिबीमा हुर्किनुभएको हो भने, त्यो गरिबीलाई जित्न चाहनुहुन्छ, कुनै अभावमा जन्मिनुभएको हो भने त्यो अभावलाई परिपूर्ती गर्न चाहनुहुन्छ । यसले तपाईंमा महत्वाकांक्षा ल्याइदिञ्छ । उक्त महत्वाकांक्षालाई सकारात्मक तरिकाले कडा मिहिनेतका साथ पूरा गर्न लाग्नुभयो भने, तपाईं सफल व्यक्ति बन्नुहुन्छ र सफल भएका व्यक्तिहरु मध्ये धेरैजसोको मूख्य कारण यही हो ।
प्रतिक्रिया