जोकोही मानिस आफ्नो जीवनमा सुखी र खुशी हुन चाहन्छ । ऊ खुशीको खोजीमा भौतारिरहेको हुन्छ । तर वास्तवमा व्यक्तिको खुशी, त्यही व्यक्तिको सोंच, जीवनशैली र बानीमा निर्भर हुन्छ ।
तपाईं आफ्नै बानीका कारण दुखी बनिरहनुभएको त छैन ?
ग्याजेट, सामाजिक संजाल आधुनिक जीवनका अभिन्न अंग बनेका छन् । हामी यी कुरा बानीको जीवनको कल्पना समेत गर्न सक्दैनौं । तर यी ग्याजेट तथा सामाजिक संजालमा धेरै समय बिताउनाले तपाईंमा एकोहोरोपना बढ्छ, सोंच्ने तथा काम गर्ने कम हुने हुनाले तपाईंमा सिर्जनात्मक क्षमता कम हुन्छ । यसको साथै सामाजिक संजालमा हुने अप्रत्यक्ष प्रतिस्पर्धाले गर्दा मानिस आफ्नो जीवनसंग असन्तुष्ट हुनथाल्छ र दुखी बन्छ ।
घरमा मात्र बसिरहने नगर्नुहोस् । घरभित्र मात्र बसिरहँदा मानिस एकोहोरो र एक्लोपना मन पराउने हुन्छ । ऊ धेरै एकान्तमा बस्ने, मानिसहरुको समूहबाट टाढा हुने, आफ्ना कुरा अरुसंग बाँड्न नसक्ने हुन्छ । यसले गर्दा मानिस दुखी बन्छ र डिप्रेसनमा जाने सम्भावना समेत बढ्छ ।
धेरै भाग्यवादी हुने व्यक्ति खुशी रहन सक्दैन । उसले आफूले केही गरेर खुशी रहने भन्दा पनि भाग्यले आफूलाई खुशी दिनेछ भनेर पर्खेर बस्छ । नराम्रो परिस्थितिको सामना गरेर समस्याको समाधान खोज्नेभन्दा पनि ऊ नराम्रो परिस्थितिलाई आफ्नो भाग्य सम्झेर बस्छ ।
तपाईंले अघिल्लो वर्ष के गर्दै हुनुहुन्थ्यो? कहाँ हुनुहुन्थ्यो र अहिले कहाँ के गर्दै हुनुहुन्छ ? यदि तपाईं एकै ठाउँमा, उही काम, उस्तै तरिकाले नै गर्दै हुनुहुन्छ भने तपाईं दुखी हुने सम्भावना बढ्छ । त्यसैले आफ्नो काममा केही फरकपन ल्याउनुहोस् । आफ्नो काममा केही सिर्जनात्मकता ल्याउनुहोस् । त्यसले गर्दा तपाईंको मन रमाउँछ र खुशी बन्नुहुन्छ ।
धेरै परनिर्भर हुने बानीले व्यक्तिलाई दुखी बनाउँछ। जब तपाईंले आफ्नो कर्तव्य पूरा गर्नुहुन्छ, तपाईंले त्यही अनुसारको स्वतन्त्रता पनि पाउनुहुन्छ । परनिर्भर हुने व्यक्ति भने आफूले चाहे जति स्वतन्त्रता पनि पाएको हुँदैन भने अर्कोतिर आफ्नो जीवन नै अरुलाई अप्रत्यक्ष तरिकाले सुम्पिरहेको हुन्छ ।
प्रतिक्रिया