मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दारी : पुरुषत्वको प्रतीक वा फेसन स्टेटमेन्ट ?

दारी : पुरुषत्वको प्रतीक वा फेसन स्टेटमेन्ट ?


पुरुषको शरीरमा टेस्टेस्टोरोन नामक हार्मोन हुन्छ। टेस्टेस्टोरोनले उत्पादन गर्ने डिहाइड्रोटेस्टोस्टेरोन (डीएचटी) गालाभित्रको हेयर फोलिकलमा रसाउन थालेपछि दारी टुसाउँछ। पुरुष जवानीमा प्रवेश गरेको संकेत पनि हो दारी।

अधिकांश पुरुष दारी फालेर गाला चिल्लो पार्न रुचाउँछन्। दारी खौरने चलन कहिलेदेखि सुरु भयो भन्ने स्पष्ट प्रमाण फेला परेको छैन। मध्ययुगदेखि नै दारी खौरने प्रचलन सुरु भएको अनुमान गरिन्छ। अचेलको जस्तो सेफ्टी रेजर वा छुरा नहुँदा त्यसबेला दारी खौरनु सहज थिएन।

यद्यपि अहिले पनि दारी पाल्ने फेसन चल्ने गर्छ– विशेषगरी युवामा। दारी काँटछाँट गर्नु, छेउछाउ खौरेर निश्चित डिजाइनमा ढाल्नु, चम्किलो र नरम बनाउन कन्डिसनिङ गर्नेदेखि तेल लगाउनेसम्मको काम भने कम झन्झटिलो हुँदैन। जीवविज्ञानीहरु दारीलाई यौन विशेषताका रुपमा चित्रित गर्छन् । किनभने यो पुरुषमा मात्र हुन्छ अपवादबाहेक। तर पनि प्रजनन दारीको प्रत्यक्ष भूमिका हुँदैन।

चार्ल्स डार्बिनले ‘डिसेन्ट अफ म्यान’ मा दारीको सम्भावित विकासवादी व्याख्या गरे। उनले दारीलाई यौन छनोटकै प्रक्रियामा विकसित भएको हुन सक्ने बताएका थिए। केही आधुनिक वैज्ञानिकहरुले पनि यौन छनोटमा दारीको भूमिका देख्छन्। उनीहरुका भनाइमा अधिकांंश महिला दारी नभएका पुरुषभन्दा दारी पालेका पुरुषप्रति आकर्षित हुन्छन्। तर, यो भनाइमा विमति राख्ने पनि प्रशस्तै छन्।

इभोल्युसन एन्ड ह्युमन बिहेवियर जर्नलमा प्रकाशित शोधका अनुसार दारी पालेका युवामा उनीहरुको पुरुषत्व झल्किन्छ, जसले विपरीत लिंगीलाई आकर्षित गर्छ। रुसका तानाशाह पिटर द ग्रेटले देशवासीलाई दारी पाल्न प्रतिबन्ध लगाएका थिए। त्यसअघि अलेक्जेन्डर द ग्रेटले पनि आफ्ना सैनिकलाई दारी खौरन अनिवार्य गरेका थिए। अचेल शिख समुदायका र केही मुस्लिम देशमा बाहेक दारी पालेका सैनिक र प्रहरी देखिँदैनन्।

व्यावसायिक विमान चालकलाई पनि दारी पाल्ने अनुमति हुँदैन। अक्सिजन मास्क अनुहारमा राम्रोसँग नटाँसिने हुँदा यस्तो रोक लगाइएको हो । तर आधुनिकतासँगै केही एयरलाइन्स कम्पनीले भने यस्तो प्रतिबन्ध हटाएका छन्। अन्तर्राष्ट्रिय बक्सिङ एसोसिएसनले पनि खेलाडीलाई दारी पाल्न रोक लगाएको छ।

प्राचीन दार्शनिकहरु आफ्नो पहिचानका लागि लामालामा दारी पाल्थे। हिन्दू धर्ममा पनि साधुसन्त र ऋषिहरुले दारी पाल्ने गरेको देखिन्छ भने शिख समुदायमा दारीकपाल काटिँदैन। कुनै सभ्यतामा दारीलाई शक्ति, यौन कौशल र उच्च सामाजिक स्थिति जस्ता गुणका रुपमा व्याख्या गरिएको छ भने कुनै संस्कृतिले दारीलाई स्वच्छतामा अवरोध, असभ्य र जंगली चित्रित गर्छन्।

दारी ग्याङ

कोरोना महामारीका बेला फुटबल खेलाडी लियोनेल मेस्सीले पालेको लामो दारीले निकै चर्चा पायो। त्यसघि उनी ट्रिम गरिएको दारीलाई रातो बनाउँथे। अचेल कलेज पढ्ने विद्यार्थीमा दारी पाल्ने फेसन चलेको छ। नेपालमा फेसबुक ग्रुप दारी ग्याङ पनि चर्चित छ। तीन वर्षअघि सुरु भएको यो फेसबुक समूहका केही सदस्यले दारीप्रति सकारात्मकता बढाउन गीत पनि बनाए।

‘यो मेरो दारी, दुनियाँलाई किन भारी ?’, ‘गालामा दारी, काँधमा जिम्मेवारी’ जस्ता नारा लेखिएको टि–सर्ट बजारमा पाइन्छन्। दारी ग्याङ फेसबुक समूहले पनि यस्ता टि–सर्ट बनाएर बिक्रीबाट आएको रकमले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोगसमेत गरेको छ।

सन् २००३ मा अस्ट्रेलियाबाट सुरु भएको ‘मुभेम्बर च्यारिटी’ अमेरिकाको ‘नो सेभ नोभेम्बर’ हुँदै सन् २०१५ मा नेपालमा भित्रिएको हो, दारी ग्याङको सामाजिक अभियान। अभियानअन्तर्गत नोभेम्बरभरि दारी नकाटी बचत भएको पैसाले क्यान्सरका पीडितलाई सहयोग गरिन्छ।

कोरोना महामारीका कारण घरमै बस्नुपर्ने भएपछि धेरै पुरुषहरु दारी नखौरिएको अवस्थामा देखिए। अल्छी लागेर होस् वा आफ्नो अनुहार खास बनाउन, दारीले कोरोना संक्रमणको चपेटामा पार्न सक्ने स्वास्थ्यविज्ञहरु बताउँछन्। यसो भन्नुको कारणचाहिँ लामो दारीले मास्कलाई राम्रोसँग अडिन दिँदैन भन्ने हो। भारतको रोग नियन्त्रण एवम् निवारण केन्द्रले कुनैकुनै दारीको स्टाइलले फेस मास्कको प्रभावलाई कम गर्न सक्ने जनाएको छ।

थरीथरी दारी

पहिले दारी पाल्ने प्रचलनलाई पुरुषत्व र प्रभुत्वको प्रतीक मानिन्थ्यो तर, डिजाइनमा महत्त्व दिइएको थिएन। अचेल कपालका विभिन्न डिजाइनजस्तै दारीका पनि विभिन्न डिजाइनको चर्चा हुन्छ। फुटबल फरवार्ड मेस्सी र भारतीय क्रिकेट कप्तान विराट कोहलीको दारीको स्टाइल पछ्याउने धेरै छन्।

सन् १८५३ देखि २० औं शताब्दीको मध्यसम्म ‘मटनचप वियर्ड’ प्रचलित थियो। त्यसपछि भने दारी राख्ने विभिन्न शैली प्रचलनमा आउन थाल्यो। मुठो जुँगासहित घाँटीसम्मै दारी राख्ने यस्तो डिजाइनको दारी पुराना अंग्रेजी/युरोपेली फिल्ममा देख्न सकिन्छ। काठमाडौंको चर्चित लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोका सञ्चालक लक्ष्मी ठाकुरका अनुसार लकडाउनका कारण दारी पाल्ने चलन बढेको छ।

‘मान्छेलाई दारी छोटो हुँदा काटिरहुँ जस्तो लाग्ने। अलिक लामो भएपछि चाहिँ मिलाउन मन लाग्ने हुँदो रहेछ,’ ठाकुर भन्छन्। उनका अनुसार धेरै जसो युवा अरुको देखासिकीमा, खेलाडी, अभिनेता इत्यादिलाई पछ्याउँदै दारी पालिरहेका हुन्छन्।

पेसाअनुसार पनि दारीको डिजाइनमा फरक पर्ने उनको अनुभव छ। भन्छन्, ‘कर्पोरेट क्षेत्रका मानिसले धेरैजसो फ्रेन्च कट दारी राख्छन्। कोहीचाहिँ जुँगा मात्र राख्ने हुन्छन् भने कोही दारी ट्रिम गराइराख्छन्।’ फिल्म, गीत संगीतजस्ता ग्ल्यामर क्षेत्रका व्यक्तिहरुले दारीमा पनि नयाँ नयाँ प्रयोग गरिरहेको उनी बताउँछन्।

विज्ञानसम्बन्धी डिजिटल पत्रिका लाइभसाइन्सले गरेको एक अध्ययनअनुसार महिलाहरु सफाचट गाला भएका पुरुषभन्दा चम्किलो र काँटछाँट गरी मिलाइएको दारी राखेका पुरुषलाई मन पराउँछन्। ‘दारीवाल अनुहारप्रतिको आकर्षण दारीको आवृत्तिले फरक पार्छ,’ अध्ययनको निष्कर्ष छ, ‘सांस्कृतिक विविधताले पनि दारी कति राख्ने भन्ने कुरा निर्धारण गर्छ।’

पुरुषहरु कहिले विभिन्न डिजाइनका दारी त कहिले क्लिन सेभले अनुहार सजाउँछन्। दारी पाल्ने कुरालाई पुरुषत्वसँग नजोडीकन हेर्न नसकिने नर्थुम्ब्रिया विश्वविद्यालयकी व्यावहारिक विज्ञानविद् तामसिन साक्स्टोन बताउँछिन्। बीबीसी फ्यूचरसँगको कुराकानीमा उनले भनेकी छन्, ‘दारीले लगातार पुरुषप्रतिको आकर्षणलाई प्रभावित पार्ने मात्र होइन, जो मानिस आफ्ना गालामा दारी बढाउँछन उनीहरुलाई बढी प्रभावी मान्ने परम्परा पनि कायमै छ।’

ब्युटी स्टुडियोका ठाकुर अरुको लहलहैमा लागेर दारी पाल्नु भन्दा पनि आफ्नो अनुहारलाई सुहाउँछ कि सुहाउँदैन भन्ने ख्याल राख्नुपर्ने सुझाव दिन्छन्। भन्छन्, ‘दारी पाल्न अनुहारको आकार, जिउडाल, पेसा सबैमा ध्यान दिनुपर्छ। अधिकांश मानिसको अनुहार वर्गाकार हुन्छ। त्यसैले धेरै लामो दारी पाल्दा विचार गर्नुपर्छ।’ दारी पालिसकेपछि त्यसको सरसफाइ, काँटछाँट र स्याहारमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ। – नेपाल समय