मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी भएको थियो यी १० वटा जुनोटिक रोगको प्राथमिकीकरण (कुन रोग कस्तो ?)

यसरी भएको थियो यी १० वटा जुनोटिक रोगको प्राथमिकीकरण (कुन रोग कस्तो ?)

सुदूर आज

काठमाडौं – पशुपंक्षीबाट मानिसमा सर्ने सरुवा रोगलाई जुनोटिक रोग भनिन्छ। यो रोग पशुपंक्षीबाट मानिसमा र मानिसबाट पशुमा सजिलैसँग सर्छ। पशुपंक्षीसँगको लसपस, काँचो दूध, दही, मासु, काँचो तरकारी र हावाको माध्यमबाट जुनोटिक रोग सर्दछ।

समुदायमा संक्रमण फैलाउन सक्ने जोखिमका आधारमा प्राथमिकीकरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा जुनोटिक रोग सार्वजनिक गर्‍यो। जसमध्ये ईन्फ्लुएन्जालाई सरकारले पहिलो नम्बरमा राखेको छ। प्राथमिकीकरणको सूचीमा रेबिज दोस्रो र कोरोना भाइरसलाई तेस्रो नम्बरमा राखिएको छ। 

यी १० वटा रोगलाई प्राथमिकीकरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई करिब दुई वर्ष लाग्यो। प्राथमिकीकरण गरिएका यी रोगहरुको जनचेतना समुदायमा अत्यन्तै न्यून छ। यतिसम्म की अस्पतालमै पनि यी सबै रोगहरुको सहज तरिकाले पहिचान गर्न सकिदैन। कतिपय रोगको निदानका लागि आवश्यक पर्ने डाइग्नोस्टिक किट पनि उपलब्ध छैन। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेल प्राथमिकीकरण गरिएका यी कतिपय रोगको निदान नै चुनौतीपूर्ण रहेको बताउँछन्। 

‘धेरै ठाउँमा यी रोगहरुको निदानको सुविधा छैन। स्वास्थ्यकर्मीहरुलाई पनि यो रोग बारे थाहा हुनुपर्‍यो। मुख्य–मुख्य ठाउँमा यसको निदान हुनुपर्छ। कतिपय रोगको पहिचान गर्न अहिले पनि चुनौतीपूर्ण छ,’ निर्देशक पौडेलले भने।

अझै पनि लेप्टोस्पाइरोसिस, बुस्रेलोसिस जस्ता कतिपय रोगको निदानका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै आउनुपर्ने बाध्यता छ। कतिपय रोगको निदानका लागि भारत लगायत बाहिरी देशमा पठाउने गरिएको उनले बताए। 

‘अहिले पनि ज्वरो आउने बित्तिकै टाइफाइड नै भन्ने गरिएको छ। लेप्टोस्पाइरोसिस, बुस्रेलोसिस हो की भन्ने कसैले सोचेको छैन। जसले गर्दा बिरामीले दुख पाइरहेका छन्’ उनले भने। 

निर्देशक पौडेलका अनुसार जुनोटिक रोगको प्राथमिकीकरण गर्नुको केही मुख्य कारणहरु छन्। 

पहिलो, ‘पशुपंक्षीबाट मानिसमा सर्ने रोगहरुको पहिचान।’

दोस्रो, ‘जोखिमका आधारमा रोगको प्राथमिकीकरण।’

तेस्रो, ‘सहज निदान तथा रोग अनुसार उपचारको व्यवस्था।’

चौथो, ‘समुदायस्तरमा यी रोगहरुको जनचेतनामा वृद्धि।’

निर्देशक पौडेलले भने, ‘पशुपंक्षीबाट सर्ने रोगहरु के के हुन्? कुनलाई बढी प्राथमिकता दिने? कुन रोगको लागि कस्तो उपचारको व्यवस्था गर्ने भन्ने उद्देश्यका साथ जुनोटिक रोगको प्राथमिकीकरण गरिएको हो।’

पशु स्वास्थ्यको क्षेत्रमा र मानवीय स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका विशेषज्ञहरु गरिएको भोटिङको आधारमा यी रोगहरुको प्राथमिकीकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका सिनियर मेडिकल सुपरिटेण्डेन्ट डा हेमन्त ओझाले बताए। उनका अनुसार जुनोटिक रोगलाई जोखिमका आधारमा राष्ट्रिय स्तरबाट प्राथमिकीकरण गरिएको यो नै पहिलो पटक हो।

उनले भने, ‘भुटान, बंगलादेश, पाकिस्तानले पनि रोगको प्राथमिकीकरण गरेको रहेछ। नेपालको परिवेश अनुसार कुन रोग हाम्रो लागि महत्वपूर्ण छ, जोखिम बढी छ भनेर हामीले रोगको प्राथमिकीकरण गरेका हौँ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखा पनि छ। 

जुनोटिक रोगको प्राथमिकीकरणका लागि नेसनल जुनोटिक टेक्निकल वर्किङ ग्रुप बनाइएको थियो। जसमा स्वास्थ्य, पशु, वातावरण तथा खाद्य क्षेत्र, विश्व स्वास्थ्य संगठनका प्रतिनिधित्व थिए। यो ग्रुपले रोगहरुको सूचीकरण गर्न थाल्यो। त्यो क्रममा नेपालमा ९० वटा जुनोटिक रोगहरु फेला पारेको डा ओझा बताउँछन्। ती ९० वटा रोगहरुमध्ये पनि नेपालको परिवेशमा कुन रोगको व्यवस्थापन गर्नु आवश्यक छ भनेर मोडालिटी बनाउन सुरु भयो। 

रोगको बोझ, महामारीको रुप लिन सक्ने क्षमता, यसले मानिस र पशुमा निम्त्याउन सक्ने जटिलता, वातावरण र आर्थिक क्षेत्रमा पार्ने प्रभाव, रोगलाई नियन्त्रण गर्न सकिने क्षमता लगायतलाई यसको प्रमुख आधार बनाइयो। विशेषज्ञहरुले यिनै आधारमा ९० बाट ४२ वटा जुनोटिक रोगको छनोट गरे। तर सीमित स्रोत साधन र जनशक्तिका कारण ४२ वटा रोगमध्ये पनि १० वटा रोगलाई प्राथमिकीकरण गर्नु परेको डा ओझाले बताए। 

‘नेपालमा ९० वटा जुनोटिक रोग फेला पर्‍यो। त्यसमध्ये विभिन्न आधारमा हामीले ४२ वटा रोगहरु छनोट गर्‍यौं,’ उनले भने, ‘यदी हामीसँग पर्याप्त मात्रामा स्रोत साधन भएको भए हामीले ४२ वटै रोगलाई प्राथमिकीकरण गर्थ्यौं। तर अहिलेको स्थितिमा ४२ वटै रोगको व्यवस्थापनका लागि हामी तयार भइसकेको छैनौं। त्यसैले हामीले १० वटा रोगको प्राथमिकीकरण गर्‍यौं।’

प्राथमिकीकरण गरेपछि यी रोगहरुको न्यूनीकरण तथा रोकथामका लागि योजनाहरु बनाइने, रोग निदानका लागि प्रयोगशालाको क्षमता वृद्धि गरिने र जनचेतनाको वृद्धि गरिने उनले बताए। रेबिज, कोरोना, इन्फ्लुएन्जाको क्षेत्रमा सरकारले कामहरु समेत गरिरहेका छन्। तर प्राथमिकीकरणले नियन्त्रणका लागि गर्दै आएका कार्यक्रमहरु पनि अझ व्यवस्थित हुने सरकारको अपेक्षा छ। 

यी रोगहरु नियन्त्रणका लागि स्वास्थ्य क्षेत्र मात्र नभई, पशु स्वास्थ्य, खाद्य, कृषि क्षेत्रका निकायहरुको समन्वय आवश्यक रहेको उनले बताए। 

उनले भने, ‘यी रोगहरु मानिसमा मात्र नभई पशुमा पनि लाग्छ। त्यसैले स्वास्थ्य क्षेत्र मात्र नभई पशु, खाद्य तथा कृषि क्षेत्रको भूमिका पनि उत्तिकै हुन्छ। उहाँहरुसँगको समन्वयमा मात्र हामीले न्यूनीकरण गर्न सक्छौ।’ 

नेपालमा भेटिएका ९० वटामध्ये सुरुमा छनोटमा परेका ४२ रोगहरु
एन्थ्रेक्स, ब्रुसेलोसिस, क्राइमियन कंगो हेमोरेजिक फिभर (सीसीएचएफ), इबोला भाइरस, फासियोलियासिस, लेप्टोस्पाइरोसिस, निपा भाइरस, रेबिज, रिफ्ट भ्याली फिभर, वेष्ट नील फिभर, चिकनगुनीया, डेंगु, हन्टा भाइस, हेपाटाइटिस ई, जापानिज इन्सेफ्लाइटिस, कायासुनार फरेस्ट डिजिज, लस्सा फिभर, लेस्मिनियासिस, स्क्रबटाइफस, सर्पदंश, जिका भाइरस, एभियन इन्फ्लुएन्जा, कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २), इचिनोकोकोसिस/हाईडाटिडोसिस, हेन्ड्रा भाइरस, लाइम डिजिज, मारबर्ग भाइरस डिजिज, टेन्टिसिस/सिस्टिसर्कोसिस, टोक्जोप्लास्मोसिस, जुनोटिक क्षयरोग, बोटुलिज्म, क्याम्पोलोब्याक्टर, क्रिप्टोस्पोरिडिओसिस, ई कोली, हुकवार्म, रिंगवर्म, सालमोनेलोसिस, सिजनल इन्फ्लुएन्जा, शिगेला, टिटानस, प्लेग, जुनोटिक फाइलेरियासिस। 

यी ४२ वटा रोगहरुमध्ये सरकारले १० वटा जुनोटिक रोगलाई मात्र प्राथमिकीकरण गरेको हो। 

सरकारले प्राथमिकीकरण गरेका दश वटा जुनोटिक रोगहरु
१. ईन्फ्लुएन्जा (जुनोटिक ईन्फ्लुएन्जा, सिजनल ईन्फ्लुएन्जा)
२. रेबिज
३. कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २)
४. लेप्टोस्पाइरोसिस
५. ब्रुसेलोसिसस
६. सालमोनेलोसिस
७. लेस्मिनियासिस
८. जुनोटिक क्षयरोग
९. सिस्टिसर्कोसिस/हाईडाटिडोसिस
१०. टोक्जोप्लास्मोसिस

१. ईन्फ्लुएन्जा (जुनोटिक ईन्फ्लुएन्जा, सिजनल ईन्फ्लुएन्जा)
सरकारले प्राथमिकीकरण गरेका १० वटा जुनोटिक रोगहमध्ये ईन्फ्लुएन्जा पहिलो नम्बरमा छ। यो श्वास प्रणालीको संक्रामक रोग हो। यसले रुघाखोकीको भाइरस जस्तै फोक्सो, घाँटी तथा नाकको कोषिकालाई प्रभावित गर्छ। इन्फ्लुएन्जा चार किसिमका हुन्छन्। ए, बी, सी र डी। जसमध्ये इन्फ्लुएन्जा ए र बी भाइरस मौसमी महामारीको कारण बन्दछ। 

यो रोग यो एक व्यक्तिबाट अर्कोमा छिटो र सजिलैसँग सर्ने भएकाले जोखिम हुन्छ। ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नु, मासंपेशी तथा जोर्नी दुख्नु यसका लक्षण हुन्। खोकी दुई साता वा सोभन्दा बढीसम्म हुन रहन सक्छ। वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी र पाँच वर्ष मुनिका बालबालिका यसको जोखिममा पर्छन्। समयमै उपचार गरिए साताभित्रै निको हुन सक्छ। तर यसले गम्भीर रुप लिए मानिसको ज्यानै समेत जान सक्छ। 

यो रोगका कारण विश्वमा वर्षेनी ३० देखि ५० लाख मानिसहरु गम्भीर रुपमा बिरामी पर्छन्। जसमध्ये सिजनल इन्फ्लुएन्जाका कारण वर्षेनी २ लाख ५० हजारदेखि ५ लाख मानिसहरुको मृत्यु हुन्छ। 

२. रेबिज
रेबिज रोग सरकारले प्राथमिकीकरण गरेको सूचीको दोस्रो नम्बरमा छ। रेबिज रोग शतप्रतिशत रोकथाम गर्न सकिने रोग हो। 

यो रोग रेबिज रोग लागेको संक्रमित जनावरले टोक्दा या उनीहरुको र्‍याल चोटपटक वा घाउँमा पर्दा सर्छ। स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा रेबिज रोग हुन्छ। तर ९९ प्रतिशत रेबिज कुकुरको टोकाइका कारण हुन्छ। 

रोग रोग भाइरस ह्र्याब्दो परिवारको लिसा भाइरसबाट हुन्छ। सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ। सामान्यतया भाइरस सरेपछि सक्रिय हुने समय २ देखि ३ महिनासम्म हो। तर यो केही दिनदेखि वर्षौसम्म पनि रहन सक्छ। टाउको दुख्नु, ज्वरो, असहजता, व्यवहारमा परिवर्तन, आक्रमक गर्ने खालको हुने लक्षण देखिन्छ। रोगले जटिल अवस्था लिएपछि बिरामीको मृत्यु समेत हुन्छ। 

विश्वभर १ सय ५० राष्ट्रमा रेबिज रोगका कारण वर्षेनी ५९ हजार मानिसको मृत्यु हुन्छ। नेपालमा वर्षेनी १० देखि १ सय मानिसको मृत्यु रेबिज रोगका कारण हुने गर्छ। रेबिज रोग लागिसकेपछि कुनै उपचार छैन। तर समयमै रेबिज विरुद्धको खोप लगाए यसबाट बच्न सकिन्छ। 

३. कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २)
विश्वलाई त्रसित बनाएको कोरोना भाइरसको जोखिम अझै पनि कम भइसकेको छैन। संक्रमण दर घटेपनि जोखिम उस्तै छ। कोरोना भाइरस सरकारले प्राथमिकीकरण गरेको रोगको सूचीमा तेस्रो नम्बरमा परेको छ। 

कोरोना भाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यु गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटा मार्फत भाइरस सर्छ। भाइरसले घाँटी, श्वासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। विस्तारै अन्य अंगहरुलाई संक्रमण गरी बिरामीलाई जटिल अवस्थामा पुर्‍याउँछ। 

श्वासप्रश्वासमा समस्या, खोकी लाग्नु, ज्वरो आउनु यसका लक्षणहरु हुन्। मास्कको अनिवार्य प्रयोग, बेला बेलामा साबुन पानीले हात हुने, सामाजिक दूरी कायम गर्ने यसबाट बच्ने प्रभावकारी उपाय हुन्। कोरोना भाइरसको जोखिम कम गर्न सरकारले खोप अभियान समेत सञ्चालन गरेको छ। 

४. लेप्टोस्पाइरोसिस
जनावरबाट मानिसमा सर्ने रोगमध्ये एक हो, लेप्टोस्पाइरोसिस। यो लिप्टोस्पाइरा नामक जीवाणुसँग सम्बन्धित छ। यसले मानिस र पशु दुवैलाई प्रभावित गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यसको उपस्थिति विश्वभर छ। संक्रमित पशुको पिसाबबाट सर्ने यो रोगका बिरामी वर्षेनी बढ्दैछ। तर रोगको बारेमा बहस तथा छलफल कमै मात्रामा हुने गर्छ। 

ज्वरो आउने बित्तिकै अधिकांश चिकित्सकले लेप्टो स्पाइरोसिसका बिरामीलाई टाइफाइड, स्क्रब टाइफसको औषधि चलाउने भएकाले यो रोग त्यति चर्चामा आउँदैन। यो रोग डेंगु, टाइफाइड र भाइरल हेपाटाइटिसको जस्तै समान लक्षण हुने भएकाले यसलाई पहिचान गर्न गाह्रो हुन्छ।    

उष्ण हावापानी भएको क्षेत्रमा यो रोगले दुख दिने गर्छ। अत्याअधिक वर्षा र बाढी हुने क्षेत्रमा यसले प्रकोपको रुप लिन सक्छ। त्यसैले विशेषगरी बाढी प्रभावित क्षेत्रका मानिस यसको जोखिममा हुन्छ। 

केही मानिसहरु आफ्नो पेशागत तथा उनीहरुले अपनाउने जीवनशैली र वातावरणले उनीहरु यस रोगको जोखिममा पर्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार कृषक, पशुपालक, पशु चिकित्सक, मासु पसलमा काम गर्ने व्यक्ति यसको जोखिममा छन्। यो रोग प्राय ग्रामीण क्षेत्रमा देखिने गरेपनि संक्रमित मुसाका कारण यो रोग हाल शहरी क्षेत्रमा समेत देखा पर्न थालेको छ। 

समयमा उपचार नपाए यो रोगले घातक रुप लिने सम्भावना पनि छ । यो जटिलता उन्मुख भए यसले मिर्गौला, कलेजो, स्नायुप्रणालीमा असर गर्छ। साथै मृत्यु हुन सक्छ। सामान्यता यसको लक्षण ५ देखि १४ दिनको बीचमा देखापर्छ तर कहिले २ देखि ३० दिनको बीचमा पनि यसको लक्षण देखा पर्नसक्छ। यो एक सामान्य फ्लु भएपनि यसले कहिलेकाँही घातक रुप लिन सक्छ। ज्वरो आउनु, आँखा रातो हुनु, शरीर दुख्नु, शरीर चिलाउने (बिबिरा पनि आउन सक्छ), लिन्फ ग्रन्थी सुन्निने यसका लक्षणहरु हुन्। 

विशेष गरी बाढी प्रभावित क्षेत्रका मानिसहरु अलि चनाखो भएर रहनुपर्छ। घरबाहिर नाङ्गो खुट्टाले नहिंड्ने, फोहोर पानीको प्रयोग नगर्ने, पानी उमालेर पिउने, दुषित पानी, माटो तथा खेतीको काम गरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुनु पर्छ। 

५. ब्रुसेलोसिसस
यो रोग ब्रुसेल्ला जिवाणुबाट सर्छ। ब्रुसेलोसिसस रोगको जिवाणु जंगली तथा घरपालुवा दुवै प्रकारका पशुमा प्राकृतिक रुपले रहेको हुन सक्छ। यो जिवाणु संक्रमित जनावरका दूध, पाठेघरबाट निस्कने श्राव, वीर्य तथा तुहिएको बच्चामा रहेको हुन्छ। यसको संक्रमणले पशुहरुमा गर्भ तुहाउने र बाझोपन गराउन सक्छ। जसले गर्दा संक्रमित जनावरको दूध, वीर्य, पाठेघरबाट निस्कने श्राव वा तुहिएको बच्चा आदिको संसर्गमा आउने मानिसमा यो रोग सजिलै सर्न सक्छ। 

काँचो दूध पिउनेहरुलाई यो रोग सर्ने सबैभन्दा बढी जोखिम हुन्छ। भेडी गोठमा बस्ने, गाई भैसी, संगुर तथा बंगुरको स्याहार सुसार गर्ने मानिसहरुमा यो रोग छिटो सर्न सक्छ। यो रोग म्युकस झिल्ली वा छालामा भएको घाउ चोटमा पाठेघरबाट निस्कने श्राव वा वीर्यको सिधा सम्पर्क हुँदा सर्ने गरेको पाइएको छ। 

ज्वरो आउने, पसिना आउने, टाउको दुख्ने, ढाड दुख्ने, रिंगटा लाग्ने, ज्वरो आउने र छोड्ने, घुडा तथा जोर्नी सुन्निने यसका लक्षणहरु हुन्। जनावरमा बुस्रेलोसिस रोग नियन्त्रण गर्न निरोगी पशुलाई खोप लगाउने, रोगी जनावरलाई अलग राख्ने वा हटाउने, गोठको सरसफाई राम्ररी गर्ने, उमालेको वा प्रशोधित दूध मात्र सवेन गर्ने, व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिने यसबाट बच्ने उपायहरु हुन्। विश्वभर वर्षेनी ५ लाख मानिस यो रोगबाट संक्रमित हुने गरेका छन्। 

६. सालमोनेलोसिस
पशुबाट सर्ने रोगहरुमध्ये सालमोनेलोसिस पनि एक हो। यो सालमोनेला प्रजातिको जिवाणुबाट सर्छ। यो घरेलु तथा जंगली पशुहरुमा पाइने गर्छ। विशेषगरी मानिसले खाने अण्डा, मासु, दूध र पोल्ट्रीबाट यो रोग सर्दछ। राम्रोसँग सफा नगरी काचो तरकारी खाँदा पनि यो रोग सर्छ। 

टाउको दुख्नु, पेटको दुखाई, झाडापखाला, वाकवाकी लाग्नु र कहिले काँही बान्ता हुनु यसका लक्षणहरु हुन्। यो रोगबाट बच्न पशुहरुको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। पशुहरुलाई दुषित आहार र पानी खान दिनु हुँदैन। रोगी पशुको तत्काल उपचार गर्नुपर्छ। 

झाडापखाला भएका चार जनामध्ये एक जनामा सालमोनेला जिवाणुका कारण हुने गरेको छ। यो रोगका कारण विश्वमा वर्षेनी ५५ करोड मानिस बिरामी पर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

७. लेस्मानियासिस
यो रोगलाई बेवास्ता गरिएको ट्रपिकल रोग (एनटीडी) भनिन्छ। लेस्मानियासिस एक परजीवि रोग हो, जुन लेसमानिया परजीविको कारणले हुन्छ। यो परजीवि संक्रमित झिंगामा हुन्छ। संक्रमित पशुहरुबाट पनि यो रोग सर्छ। विशेषगरी कुकुर, खरायो, बाख्रा, लोखर्के, मुसा र चराहरुबाट यो रोग सर्न सक्छ। यो रोग उपचार गरे निको हुन्छ। 

एचआइभी संक्रमित र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु यो रोगको जोखिममा पर्छन्। विश्वमा वर्षेनी ७ लाखदेखि १० लाख मानिस यो रोगका कारण बिरामी पर्छन्। नेपालममा मात्र सन् २०१७ मा यो रोगबाट २७१ जना संक्रमित भएका थिए भने १० जनाको मृत्यु भएको थियो। 

८. जुनोटिक क्षयरोग
जुनोटिक क्षयरोग, क्षयरोगको एक रुप हो। यो माइकोब्याक्टेरियम बोविसका कारण हुन्छ। यसले विशेषगरी फोक्सामा असर गर्छ। यो एम बोविसले जंगली जनावरलाई पनि प्रभाव पार्छ। यो रोग धेरैजसो अफ्रिका, एसियाको विभिन्न क्षेत्र, अमेरिका, अष्ट्रेलिया र युरोपियन नेशनको विभिन्न क्षेत्रमा समेत यो रोग भेटिएको छ।

कम भोक लाग्नु, झाडापखाला, तौल घट्नु, ज्वरो, खोकी, कमजोरी लगायत यसका लक्षणहरु हुन्। यो रोग हावाको माध्यमबाट पनि सर्छ। यो रोग पशुको प्रत्यक्ष सम्पर्क वा उपचार नगरिएको संक्रमित जनावरको मासु र दूधको माध्यमबाट पनि सर्न सक्छ। 
एम बोविसका कारण विश्वमा जुनोटिक क्षयरोगका वर्षेनी १ लाख ४३ हजार नयाँ संक्रमित भेटिने गरेका छन्। 

९. सिस्टिसर्कोसिस/हाईडाटिडोसिस
यो एक परजीविबाट हुने रोग हो। जुन जीनस इचिनोकोकसको ट्यापवर्मका कारण हुने गर्छ। प्रदुषित खाना, पानी, माटो वा संक्रमित जनावरको सिधा सम्पर्कबाट यो रोग सर्दछ। यो रोगको उपचार निकै महंगो र जटिल हुन्छ। साथै लामो समयको थेरापीको समेत आवश्यक पर्छ। 
कुकुर, स्यालबाट यो रोग सर्छ। यो रोगको नियन्त्रण गर्न कुकुरको व्यवस्थापन, बधशालाको सफाई र सार्वजनिक शिक्षाको आवश्यक छ। यो रोगले कलेज, फोक्सो, हड्डी, मिर्गौला, आँखा लगायत अंगलाई असर गर्छ। पेटको दुखाई, वान्ता हुनु, खोकी लाग्नु, छाती दुख्नु, श्वासप्रश्वासमा समस्या लगायत यसका लक्षणहरु हुन्। 

१०. टोक्जोप्लास्मोसिस
यो पनि एक जुनोटिक रोग हो। यो रोग सिंगल सेल्ड परजीविका कारण हुने गर्दछ। यो परजीवि विश्वभर पाइने सेन्ट्रल कन्ट्रोल डिजिज (सीडीसी) ले उल्लेख गरेको छ। टोक्जोप्लास्मोसिसको परजीवि मानिसमा लामो समयसम्म पनि रहन सक्छ। संक्रमित व्यक्तिमा यसको लक्षण निकै कम मात्र देखापर्दछ। गर्भवती महिला, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति यसको उच्च जोखिममा पर्छन्। यसले स्वास्थ्यमा गम्भीर समस्या पनि उत्पन्न गराउन सक्छ। 

राम्रोसँग नपकाएको मासु, प्रदुषित मासु (विशेषगरी सुंगुर, भेडा र हरिणको मासु) को सेवनबाट यो रोग सर्दछ। सरसफाईमा कमी, प्रदुषित पानीको सेवनबाट पनि यो रोग सर्न सक्छ। बिरालाको मलमूत्रबाट पनि यो सर्न सक्छ। 

यो रोगको संक्रमण भएका व्यक्तिमा प्रायजसो कुनै लक्षण देखापदैन। तर यो रोग लागेका व्यक्तिमा लिम्फ ग्रन्थी या मासंपेशीको दुखाईसँगै एक महिना या सोभन्दा बढी फ्लू जस्तो लक्षण पनि देखिन सक्छ। 

गम्भीर टोक्जोप्लास्मोसिसले मस्तिष्क, आँखा र अन्य अंगहरुलाई समेत असर गर्ने सीडीसीले जनाएको छ। कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा यो रोगले जटिलता निम्त्याउन सक्ने संभावना धेरै हुन्छ। – स्वास्थ्यखबर