मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणमा जुट्यो मंगलसेन नगरपालिका

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणमा जुट्यो मंगलसेन नगरपालिका

योजना तर्जुमा र बजेटका सात चरणबारे जनप्रतिनिधि तथा कर्मचारीलाई अभिमुखीकरण


मंगलसेन, अछाम

अछामको मंगलसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट तथा कार्यक्रम निर्माणको प्रारम्भिक तयारी सुरु गरेको छ। पालिकाले बजेट निर्माण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न चरणमा छलफल तथा अन्तरक्रिया कार्यक्रमहरूलाई तीव्रता दिएको हो।

यसै सिलसिलामा नगरपालिकाले शुक्रबार ‘आगामी आर्थिक वर्ष २०८३/०८४ को योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको व्यापक सहभागिता रहेको थियो। पालिका तथा वडा तहमा योजना छनौट गर्दा पालना गर्नुपर्ने कानुनी प्रक्रिया र चरणहरूबारे स्पष्ट जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिनुभयो।

कानुनी व्यवस्था र प्रक्रियामा जोड

नगरपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा स्थानीय तहको एकल तथा साझा अधिकार, नेपालको संविधानको अनुसूची ८ र ९ मा व्यवस्था गरिएका प्रावधानहरू, र स्थानीय सरकार सञ्चालन ऐन २०७४ का विषयमा गहन छलफल गरिएको थियो।

विशेष गरी बजेट तथा कार्यक्रम तर्जुमाका अनिवार्य सातवटा चरणहरू, योजना बैंकको अवधारणा, र प्रथम नगर विकास योजनाका लक्ष्यहरूका बारेमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो। साथै, आगामी बजेटमा निम्न विषयहरूलाई प्राथमिकता दिने बारे जानकारी गराइयो:

  • दिगो विकास लक्ष्य (SDGs): अन्तर्राष्ट्रिय लक्ष्यहरूको स्थानीयकरण।
  • लैंगिक उत्तरदायी बजेट: महिला तथा समावेशी क्षेत्रलाई समेट्ने गरी बजेट संकेतको प्रयोग।
  • जलवायु परिवर्तन संकेतीकरण: वातावरणमैत्री र जलवायु अनुकूलनका योजनाहरू।
  • योजना प्राथमिकीकरण: सीमित स्रोत र साधनका बिच आवश्यकताका आधारमा योजना छनौट।

नेतृत्वको सहभागिता

अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ढुंगाना, प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, र सूचना अधिकारी विष्णु प्रसाद जैशीको उपस्थिति रहेको थियो। त्यसैगरी, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा नगरपालिकाका विषयगत शाखाका प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।

नगरपालिकाले समयमै योजना तर्जुमा गरी जनमुखी र पारदर्शी बजेट ल्याउने प्रतिबद्धता समेत जनाएको छ।