मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम कारागारका कैदीबन्दीलाई २०० थान पुस्तक उपहार: समाजसेवी मदनबहादुर बुढाको सराहनीय कार्य

अछाम कारागारका कैदीबन्दीलाई २०० थान पुस्तक उपहार: समाजसेवी मदनबहादुर बुढाको सराहनीय कार्य


अछाम, बैशाख १९ । समाजसेवी युवा मदन बहादुर बुढाले जिल्ला कारागार अछाममा रहेका कैदीबन्दीहरूका लागि २०० थान विभिन्न विधाका पुस्तकहरू हस्तान्तरण गर्नुभएको छ। शुक्रबार कारागारमा आयोजित एक विशेष कार्यक्रमका बीच बुढाले ती पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो।

कारागारभित्र रहेका कैदीबन्दीहरूलाई अध्ययनशील बनाउन, उनीहरूको समयको सदुपयोग गर्न र ज्ञान आर्जनमा टेवा पुऱ्याउने उद्देश्यले आफूले पुस्तक सहयोग गरेको बुढाले बताउनुभयो। हाल अध्ययन र व्यवसायको सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आउनुभएका बुढाले भन्नुभयो, “कारागारलाई सुधार गृहका रूपमा विकास गर्न पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्छ। म सामाजिक कार्यमा रुचि राख्ने व्यक्ति भएकाले आगामी दिनमा कैदीबन्दीहरूले भोगिरहेका अन्य समस्या समाधानका लागि पनि पहल गर्नेछु।”

सो अवसरमा उहाँले निकै मिहिनेतका साथ संकलन गरिएका यी पुस्तकहरू पढेर आफ्नो बौद्धिक विकास गर्न कैदीबन्दीहरूलाई आग्रह समेत गर्नुभयो। बुढाले आगामी दिनमा अछामकै बयालपाटा अस्पतालमा पनि एक बृहत् पुस्तकालय स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिर्जनशील कार्यका लागि समाजसेवी बुढालाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश दिने बताउँदै भन्नुभयो, “कारागार केवल दण्ड भोग्ने ठाउँ मात्र नभई सुधार गृह पनि हो। फुर्सदको समयमा ज्ञानवर्धक पुस्तक पढ्दा कैदीबन्दीको सोच र व्यवहारमा परिवर्तन आउँछ।”

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले पुस्तक पढ्ने बानी हराउँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी बुढाले पुस्तकबाट प्राप्त हुने गहिरो ज्ञान अन्य माध्यमबाट सम्भव नहुने हुँदा अध्ययन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

सहभागी कैदीबन्दीहरूले पुस्तक उपहार पाएकोमा खुसी व्यक्त गर्दै समाजसेवी बुढालाई धन्यवाद दिएका थिए। उनीहरूले कारागारभित्र खानेपानी, स्वास्थ्य र भौतिक पूर्वाधारका थुप्रै समस्याहरू रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि सम्बन्धित निकायसँग पहल गरिदिन आग्रह गरे।

जिल्ला कारागार अछामका चौकीदार देवेन्द्र बहादुर कुवँरले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कारागार प्रशासनका कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीहरूको उपस्थिति रहेको थियो।