शाहरुख, सलमान र आमिर– बलिउडका यी तीन सुपरस्टारबीच के–के समानता छ?
तीन खान त हुन्, साथै यी तीनैजनाको जन्म पनि एकै साल भएको हो अर्थात् सन् १९६५मा। यसको अलावा के पनि सत्य हो भने यी तीनको दबदबा तीन दशकदेखि कायम नै छ।
यी तीनैजनाले जब इन्डस्ट्रीमा आफ्नो कदम जमाउन सुरुवात गरेका थिए, तब आधुनिकीकरण, राम मन्दिर र आर्थिक संकट तीनै जनाको वरिपरि गुज्रिरहेको थियो।
यस्तो समय बलिउडमा संघर्षका बीच तीन खानले कसरी आफ्नो स्थान बनाउन सफल भए, यसको चर्चा वरिष्ठ पत्रकार कावेरी बमजईले आफ्नो नयाँ किताब ‘द थ्री खान्सः एन्ड द इमर्जेन्स अफ न्यू इन्डिया’मा गरेकी छन्।
जो आधुनिकता, संस्कार र अर्थव्यवस्थासँगै अघि बढे
वरिष्ठ पत्रकार कावेरी बमजईले बीबीसी हिन्दीसँगको खास कुराकानीमा भनेकी छन्, ‘मलाई यो कुरा रोचक लाग्यो कि सन् १९८८ मा तीनैजना आफ्नो करिअरको सुरुवात गरिरहेका थिए। यस्तो समय जतिबेला हामीसँग सबै कुरा एउटै हुने गर्थ्यो– एउटा च्यानल, एउटा टेलिभिजन, एउटा टेलिफोन, सिंगल थिएटर। यस्तो बेला यिनीहरुको करिअरको बदलावसँगै भारत पनि बदलियो।’
‘दिलवाले दुल्हनिया ले जाएँगे’, ‘मैंने प्यार किया’ र ‘कयामत से कयामत तक’। यी फिल्महरुलाई गहिरोसँग हेर्ने हो भने सबैमा यी कलाकारहरु असल प्रेमी, पति या छोराका रुपमा देखा परे र पर्दामा मध्यम वर्गिय ‘भ्यालुज’हरु देखाए।’
विजयको स्थानमा राज र प्रेम
पहिले फिल्ममा गाउँका समस्या, समाजमा भइरहेका अन्याय, बदला र गरिबीका कथा देखाइन्थ्यो। तर, बदलिदो समयसँगै ‘साथी हात बढाना’ले ‘दिल मांगे मोर’तिर जोड दिन सुरु गर्यो। अब सबै कुरा पहिले जस्तो रहेन, सबै बदलिरहेको थियो।
कावेरी बमजई भन्छिन्, ‘९० को दशकमा मान्छेहरु राम्रो खान, राम्रो लाउन र दुनियाँ घुम्न चाहन्थे। पहिले मान्छेहरु स्विट्जरल्यान्ड जाने सपनामात्रै देख्ने गर्थे तर फिल्मको माध्यमबाट त्यो सम्भव नै भयो।’
‘पूरा दुनियाँ खुल्यो, भारतको आईटी इन्डस्ट्री फल्यो–फुल्यो र त्यही समय कल सेन्टर आइरहेको थियो। फिल्ममा विजयको क्यारेक्टर प्रेम र राजमा बदलिरहेको थियो। म खुशी थिएँ, शहरीकरण भइरहेको थियो, मान्छेहरु एउटा ठाउँबाट अर्को ठाउँ गइरहेका थिए।’
‘विस्तारै–विस्तारै गाउँ र गरिबी ठूलो पर्दाबाट गायब हुँदै गइरहेको थियो। फिल्ममा ८० को दशकमा जुन क्रोध देखिन्थ्यो, त्यो पनि कम हुँदै गइरहेको थियो। यदि पर्दामा क्रोध देखिन्थ्यो भने पनि त्यो ‘बाजीगर’, ‘अंजाम’ या ‘डर’को जस्तो निजी थियो, न कि सामाजिक या राजनीतिक मुद्दामा थियो।
नायक गितार समाउँथे, नायिका घोडामा
८० को दशकको उत्तरार्धमा जब लोकप्रिय हिन्दी सिनेमा भिसिआर लहरको मुनि डुबिरहेको थियो, खानहरुले पारिवारिक दर्शकलाई पुनः सिनेमा घरमा फिर्ता ल्याए।
कावेरी बमजई भन्छिन्, ‘कयामत से कयामत तक’, ‘मैने प्यार किया’ र ‘दीवाना’को जमानामा आएको ‘हुकुमत’ र ‘तेजाब’जस्ता फिल्मका बाबजुद पनि आमिर खानलाई दर्शकले ‘क्युट हिरो’वाला इमेजमा स्वीकार गरे।
‘जब आमिर खानले गाए, ‘पापा कहते हैँ, बडा नाम करेगा’, त्यो उनले एक नयाँ पिँढीका लागि गाएका थिए, जुन पुरानो पुस्ताका धमेन्द्र या पर्दामा चिच्याउने अनिल कपुरसँग जोडिन सकेको थिएन।’’
एक बदलावका लागि, जस्तो कि कावेरी बमजई भन्छिन्, ‘नायक गितार पकडिरहेका हुन्थे, नायिका घोडामा चढेर पर्दामा देखा पर्थिन्। ती जुही चावला थिइन्, जो आमिर खानलाई अर्को तरिकाबाट परख्छिन्।’
शाहरुख खानले रिस्क लिए, र बने ‘पोस्टर ब्वाय’
काबेरी बमजईलाई आफ्नो तीस वर्षको पत्रकारिता करिअरमा तीन खानलाई नै नजिकबाट चिन्ने मौका मिल्यो। तर, कुन खानको सफरबाट उनी बढी प्रभावित भइन्? यो जिज्ञासाको जवाफमा उनी भन्छिन्, ‘सबैभन्दा बढी चुनौती शाहरुख खानको सामु थियो। धेरै मान्छेहरु आए इन्डस्ट्रीमा। तर, शाहरुख खान एक थिए, जो बाहिरबाट आएका थिए।’
‘अमिताभ बच्चन पनि कोलकाताबाट आएका थिए, तर उनको आफ्नै एउटा स्तर थियो। त्यो के भने उनी इन्दिरा गान्धीको साथीको छोरा थिए। सबै उनलाई त्यसैगरी चिन्थे। तर शाहरुख खानको इन्डस्ट्रीमा कोही थिएन। उ सिर्फ आफ्नो ट्यालेन्टका साथ आएको थियो।’
‘टेलिभिजनमा राम्रो काम गरे र त्यहाँ आफैलाई निकालेर ठूलो पर्दामा आए। ती फिल्महरुमा काम गरे जसलाई सलमान र आमिरले रिजेक्ट गरेका थिए। ‘बाजीगर’ सलमानलाई मिलेको थियो, तर उनलाई प्रस्तावलाई ‘नाई’ भनेका थिए।’
‘दोश्रो ‘डर’ जो पहिले आमिर खानलाई दिइएको थियो, तर उनले अस्वीकार गरेपछि पछि शाहरुख खानको झोलीमा गिरेको थियो। शाहरुख खानले आफ्नो जिन्दगीमा रिस्क लिए।’’
‘शाहरुख खानलाई बलिउडको पंजाबी हिन्दु क्लबको साथ मिल्यो। यश चोपडा, यश जौहर, आदित्य चोपडा र फेरि करण जौहरका कारण उनी पोस्टर ब्वाय बने।’
धेरै गल्तीहरु र फ्लप फिल्म
‘आमिर र सलमान दुवै फिल्मी परिवारबाट आएका थिए, तर उनीहरुका लागि फिल्मको यात्रा सहज थिएन, ‘सलमान र आमिरको लामो यात्रालाई देखेकी कावेरी भन्छिन्, ‘आमिरका पिता हिन्दी फिल्म इन्डष्ट्रीमा कहिल्यै सफल भएनन् तर सलीम साहबले लेखकका हिसाबमा खुब नाम कमाए। तर, यहाँ लेखकलाई त्यो ठाउँ कहीँ मिलेन जसको उनी हकदार रहे।’
‘त्यसैले पहिलो फिल्म पाउनका लागि उनले खुब हात–खुट्टा जोड्नुपर्यो। तीनजनै खानले पहिलो सफल फिल्म दिएपछि धेरै गल्तीहरु गरे र उनीहरुको फिल्म लगातार फ्लप पनि भए।’
मिडियाबाट मिलेको आक्रोश र आलोचनाले असन्तुष्ट
सोसल मिडियामा आफ्नो किताब ‘द थ्री खान्सः एन्ड द इमर्जेन्स अफ न्यू इन्डिया’को कभरपेजलाई लिएर भइरहेको चर्चामाथि कावेरी भन्छिन्, ‘हर कोही मसँग सोधिरहेको छ कि आमिरको ‘लगान’वाला तस्बिर, सलमानको ‘दबंग’ र शाहरुखको ‘दिलवाले दुल्हनिया ले जाएंगे’ तस्बिर नै किन चुनेको?’
जवाफमा उनी भन्छिन्, ‘यो फिल्म यिनीहरुको करिअरमा एउटा ठूलो मोड साबित भएको थियो। यी फिल्मभन्दा अगाडि कैयौँ गल्तीहरु भएका थिए तर ती सबै गल्तीहरुबाट सिकेर उनीहरु अगाडि बढे। सलमानको मिडियाप्रतिको आक्रोशबारे पनि मेरो किताबमा चर्चा गरेको छु।’
कावेरी भन्छिन्, ‘सलमानलाई सधँै यस्तो लाग्यो कि मिडिया उनलाई रुचाउँदैन, त्यसैले सधैँ आलोचना गरिरहन्छ। तर, सलमानले आफ्नो निजी जिन्दगी एकदमै धेरै गलत गरेका छन्। चाहे त्यो सडकमा सुतिरहेका मान्छेमाथि गाडी चलाएको केस होस् या हरिणलाई मारेको। तर, यी सबै आरोपका बाबजुद पनि उनलाई उनका प्रशंसकहरुले सधैँ प्रेम गरिरहे।’
जसलाई थर बदल्नुपरेन
समाज र उसको सोच बदलिरहेको थियो। त्यसैले यी खानहरुलाई आफ्नो नाम बदल्न कुनै आवश्यकता महसुस भएन। कावेरी भन्छिन्, ‘अब त्यो समय थिएन, जहाँ नाम बदल्न आवश्यक होस्। तर हो, यदि तपाई खान हो भने तपाईको पहिचानमा धर्म सबैभन्दा ठूलो फ्याक्टर बन्छ।’
आजको समयमा जसरी पहिचानको राजनीति चलिरहेको छ, त्यहाँ धर्म, जाति र लंैगिकता सबै आवश्यक भइसकेको छ। तर, यी तीन खान नै सधैँ यसबाट टाढा रहे। आमिरकी पत्नी हिन्दू थिइन्, शाहरुखकी पत्नी पनि हिन्दू। दुवैले धर्मलाई राम्रोसँग निभाए।
शाहरुख र आमिरजस्तै सलमान खानका फ्यान पनि हिन्दू–मुसलमान दुवै थिए, पढे–लेखेका सफल व्यक्ति वा मजदुरी गर्ने श्रमिक वर्ग जो होस्, सबैले यिनीहरुको तारिफ गरे।
कावेरी यो पनि मान्छिन्, ‘यी खान आम मान्छेलाई सिंगल स्क्रिनबाट निकालेर मल्टिप्लेक्स थिएटरसम्म लान पनि सफल भए। खानहरुको समयमा सिल्भर जुब्ली र गोल्डेन जुब्लीको कन्सेप्ट पनि विस्तारै गायब हुँदै गयो।’
‘शोले’पछि संगीत
चर्चित टे«ेड एक्सपर्ट आमोद मेहराको विचारमा, ‘यी तीनै खानको सफलताको श्रेय उनीहरुको फिल्म संगीतको चयनलाई पनि जान्छ। जहाँ सबै कलाकार एक्सन हिरो बनिरहेका थिए, यस्तोमा यी तिनैजना रोमान्टिक हिरोको छवि लिएर पर्दामा आइरहेका थिए र उनीहरुलाई साथ दिइरहेको थियो फिल्मको संगीतले। यिनीहरुको फिल्ममा संगीत यति दमदार थियो कि म्यूजिकले दर्शकहरुलाई थिएटरसम्म खिचेर ल्याउँथ्यो। युवाहरुलाई रोमान्टिक फिल्म मन पर्न थाल्यो र यिनीहरुले त्यही युवा पिढीलाई टार्गेट गरे।’
अबको चुनौती?
ओटीटी प्लेटफार्मको यो समयमा यी तीन खानलाई आगामी दिनहरु कति चुनौतीपूर्ण हुन्छ, यसबारे फिल्म पत्रकार आमोद मेहरा भन्छन्, ‘आमिरले आफूलाई क्यारेक्टर रोलमा ढालिसक्यो। जसरी हामीले ‘दंगल’मा देख्यौ, उ त्यसैगरी कथासँगै आइरहेको छ। अब सलमान र शाहरुखलाई आफ्नो एक्सन र रोमान्टिक छविबाट निक्लिएर केही नयाँ गर्न जरुरी छ नत्र उनीहरुलाई साह्रै गाह्रो हुन सक्छ।’
तर, पत्रकार कावेरीको भनाइमा त, ‘यी कलाकारको सफल समय पछि पनि रहन्छ। चाहे ओटीटी आओस् या अरु प्लेटफार्म, जब एक पटक फेरि थिएटर खुल्छ, यिनीहरुको दबदबा यथावत् रहन्छ, तर पहिलेभन्दा केही नयाँचाहिँ पक्कै गर्नैपर्छ। दर्शकलाई यिनीहरुको ३० वर्षदेखिको साथ छ, यति चाँडै त्यो टुट्नेवाला छैन। बस्, नयाँपन ल्याउनचाहिँ जरुरी छ।’ – नेपालसमय
प्रतिक्रिया