मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग

समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग


चितवन- सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन्। सुरूआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरूको भनाइ छ। 

भरतपुर अस्पतालका  हेपाटोलोजिष्ट डा रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रोक्न सकिने बताउँछन्। ठूलो समस्या आइसकेपछि मात्रै उपचार गर्न आउँने हुँदा समय, खर्च र दुःख बढी हुने गरेको उनको भनाइ छ। 

नेपालमा कलेजो रोगको विषयको ज्ञान भएका कमै चिकित्सक रहेका छन्। यसै विषयमा डिएम गरेका श्रेष्ठले नेपालमा नौ जनाले मात्रै हेपाटोलोजिमा डिएम गरेका चिकित्सक रहेको जानकारी दिए। वीर अस्पतालबाट डिएम सकेपछि छात्रावृत्ति करारमा यहाँ आएका श्रेष्ठले आम नागरिकलाई रोगका लक्षण देखिएमा समयमै उपचार गर्न सुझाव दिए।

बिहान बेलुकाको समयमा मौलाकालिका अस्पतालमा सेवा दिँदै आउनु भएका श्रेष्ठले भने, ‘सामान्य लक्षणलाई बेवास्ता गर्दा कलेजोको दीर्घरोग झेल्नुपर्ने अवस्था आउने गरेको छ।’ उनले अगाडि थने, ‘कलेजो रोग लागेपछि लक्षण देखिएकै हुन्छन्। तर हल्का रुपमा लिँदा पछि गम्भीर बन्न सक्छ।’ उनले अगाडि भने, ‘बिरामीले सुरुकै अवस्थामा गम्भीर रुपमा नलिँदाको परिणाम कलेजोको दीर्घरोग हुन्छ।’

सामान्य भाषामा भन्नु पर्दा जण्डिस् (पहेँलो रोग) लागेर आँखा, शरीर पहेँलो हुने, खान मन नलाग्ने, थकाई लाग्ने, आलस्यता हुने कलेजो रोगका मुख्य लक्षण भएको उनको भनाइ छ। कलेजो रोग दीर्घरोगमा परिणत भइसकेको छ भने पेटमा पानी जम्ने, पेट फुल्ने, खुट्टा सुन्निने, रगत छाद्ने, बेहोस् हुने, अनुहारको रंग कालो हुँदै जाने, खान मन नलाग्ने जस्ता लक्षण देखिने गरेको श्रेष्ठले बताए। 

कलेजो रोगबाट बच्नका लागि खानपिनमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउँदै उनले भने, ‘पोषिलो खानेकुरा खानुपर्छ। सामान्यतया हाम्रो भान्सामा पाक्ने माछा, मासु, अण्डा, गेडागुडी, सागसब्जी, फलफूल, दाल भात तरकारी सबै खान सकिन्छ। यस्ता खानेकुराले नै कलेजोलाई बलियो बनाउँछ।’ धूमपान, मद्यपान, लागुपदार्थ जस्ता वस्तुले कलेजोलाई हानी गर्ने भन्दै उनले भने, ‘कलेजो रोगका बिरामीले यस्ता वस्तु बार्नैपर्छ, अर्थात् खानै हुँदैन । यी वस्तुको सेवनले कलेजोको दीर्घरोग बनाउँछ।’

मादक पदार्थको सेवनले ‘अल्कोहलिक लिवर डिजिज’ बनाउने र पछि गएर सिरोसिस ९कलेजोले कामै नगर्ने अवस्था० बन्ने श्रेष्ठको भनाइ छ। यस्तो अवस्थामा कलेजो प्रत्यारोपणको विकल्प नहुने श्रेष्ठको भनाइ छ। बालबालिकामा पनि कलेजो रोग हुने भन्दै उनले अगाडि भने, ‘जण्डिसका कारणले, जन्मजात पनि बालबालिकामा कलेजो रोग हुनसक्छ।’ बुढ्यौली उमेरमा धेरैजसो मादक पदार्थले गर्दा नै कलेजो बिग्रिने चिकित्सकको भनाइ छ। 

कतिपयमा कलेजोको क्यान्सरसमेत हुन्छ। मादक पदार्थ सेवा नगर्नेमा पनि कलेजोको सिरोसिस हुनसक्नेतर्फ उनले सचेत गराए। उनले भने, ‘त्यसलाई हामी नन अल्कोहलिक फ्याटीलिवर डिजिज भन्दछौं। जाड, रक्सी नखाने मानिस तर कलेजोमा बोसो जमेर सिरोसिस हुनसक्छ।’ मोटोपन, मधुमेह, उच्च रक्तचाप भएका, कोलेस्ट्रोलको मात्रा बढी भएकोमा पनि कलेजोको रोग देखिन सक्ने उनको भनाइ छ। समय समयमा कलेजो विशेषज्ञलाई परीक्षण गराएर आफ्नो कलेजोको अवस्थाबारे जानकारी लिइरहनु राम्रो हुने चिकित्सकको सुझाव छ। रासस