काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले ‘चिसो मान्छे’ निर्माणमा निर्देशक र निर्माताले ठूलो रिस्क लिएको बताएकी छन् ।
‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्रस्तुतिले सवल चलचित्र बनेको उनले बताएकी छन् । ‘चिसो मान्छे’ नेपाली चलचित्र उद्योगकै विशेष सिनेमा रहेको सुरक्षाको भनाइ छ ।
“यस्तो कथा बुनेर आफूलाई जुन दर्जाको निर्देशक भनेर प्रष्ट पार्नुभएको छ दीपेन्द्र के खानलले त्यो कसैले टिकाटिप्पणी गर्दैमा हराउनेवाला छैन,” सुरक्षा पन्तले फेसबुकमा लेखेकी छन्, “अर्पण थापा र स्वस्तिमा खड्कालाई छड्के सलाम दिन चाहन्छु, यो सुनसान कला यात्रामा यति धेरै मिठास भर्नु भएकोमा ।”
उनी अगाडि लेख्छिन्, “महामारीमा हामीले चिसो मान्छेलाई नजिक राख्न सकेनौं । मैले पनि सिनेमा हेरुन्जेल चिसो मान्छेलाई बेवास्ता नै गरेँ । कथा त्यही बेवास्ताको हो ।”
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल मुख्य भूमिकामा छन् । गत शुक्रबारबाट ‘चिसो मान्छे’ प्रदर्शनरत छ ।
प्रतिक्रिया