मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम आक्रमणका २२ बर्ष, मंगलसैन दरवार अधुरै

अछाम आक्रमणका २२ बर्ष, मंगलसैन दरवार अधुरै


१४९ जनाले ज्यान गुमाए, अछामले के पायो ?

अछाम – अछाम जिल्ला आक्रमण भएको फागुन ४ गते २२ बर्ष पुरा भएको छ । तत्कालिन नेकपा माओवादीले २०५८ साल फागुन ४ गते राती अछाम सदरमुकाम मंगलसैन र मुख्य ब्यापारिक केन्द्र साँफेबगर एकसाथ आक्रमण गरेको थियो ।
सश्स्त्र माओवादी द्वन्द्वका बेला अछाममा भएको त्यो सबैभन्दा ठूलो आक्रमण थियो ।

२२ वर्षअघि आजकै दिन तत्कालीन विद्रोही नेकपा माओवादीले अछामको मंगलसेनमा ठूलो आक्रमण गरी ऐेतिहासिक दरबारलगायत सदरमुकामका सबै सरकारी संरचना ध्वस्त बनाएको फागुन ४ लाई अछामीहरु कहालीलाग्दो दिनका रुपमा सम्झिन्छन् ।

४ फागुन २०५८ राती जिल्ला सदरमुकाम मंगलसेन र मुख्य ब्यापारिक केन्द्र साँफेबगरमा आक्रमण एकैपटक भएको थियो । आक्रमणबाट अछामको ऐतिहासिक मंगलसैन दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए ।

अछाम जिल्लाको पहिचान बोकेको कला र संस्कृतीको प्रतिक अछामी राजाको चिनोका रुपमा रहेको मंगलसैन दरबार ध्वस्त भएको पनि २२ बर्ष पुग्दा पनि अझै निर्माण पुरा हुन सकेको छैन् । दरबार पुनर्निर्माण सुरु भएको १७ वर्ष भईसक्दा पनि निर्माण कार्य अधुरै छ । १२ वर्षमा त खोलो पनि फर्किन्छ भन्थे तर मंगलसेन दरबार निर्माण सुरु गरिएको १७ वर्ष भइसक्दा पनि पुनर्निर्माणले पूर्णता पाउन सकेन् ।

तत्ककालिन मंगलसैन दरबारलाई पुरानै स्वरूप दिने उद्देश्यले पुनर्निर्माण सुरु भए पनि काम गर्ने जिम्मा पाएको निर्माण व्यवसायीको लापरबाहीले दरबार १७ बर्ष सम्म पनि अधुरै छ । ध्वस्त अछाम दरबारमा जिल्ला प्रशासन, मालपोत, जिल्ला अदालत लगायत कार्यालय सञ्चालनमा थिए । तर, सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासनमा मात्र सञ्चालनमा थियो ।
अछाम आक्रमणमा तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीको पनि ज्यान गएको थियो । आक्रमणमा उनकी धर्मपत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षकको पनि ज्यान गएको थियो । तत्कालीन शाही नेपाली सेनाका क्याप्टेनसहित मंगलसेन गुल्म ध्वस्त हुनुका साथै ५३ जनाले ज्यान गुमाएका थिए ।

मंगलसेनमा भएको घटनामा ५९ प्रहरी, २ जना निजामती कर्मचारी र ८ जना सर्वसाधारण गरी १ सय २२ को ज्यान गएको थियो । त्यसै राती साँफेबगरमा पनि आक्रमण भएको थियो । साँफेबगरमा भएको घटनामा विमानस्थलमा सुरक्षा गार्डका रूपमा कार्यरत २७ जना प्रहरीको ज्यान गएको थियो । अछाम आक्रमणसँगै ध्वस्त भएको साँफेबगर विमानस्थल भने हाल सञ्चालनमा आएको छ । बिमानस्थलमा हाल नयाँ टर्मिनल भवन समेत निर्माण भईसकेको छ ।

वरिपरि धेरै सरकारी कार्यालय र बीचमा ऐतिहासिक मंगलसैन दरबारले अछाम सदरमुकामको सुन्दरता झल्किन्थ्यो तर ससश्त्र माओबादीको आक्रमणका बेला अछामका सबै सरकारी संरचना नष्ट र ध्वस्त बनाइयो । ५८ को आक्रमणमा अछामीहरुले बैंकमा राखेका नगद र गरगहना सबै लुटिएका थिए । नागरिकसँग जग्गा भए पनि प्रमाण रहेन भने अछाम पूरै तहस–नहस भएको थियो ।

पहुँच पुर्‍याउन सक्ने केहीले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले अझै फिर्ता पाउन सकेका छैनन् । २० वर्षअघिको त्यस रातलाई सम्झँदै मंगलसेनबासी अहिले पनि भक्कानिन्छन् ।

कुनै बेला संस्कृति र सम्पत्तिको बेग्लै पहिचान बनाएका अछामीका काला दिन त्यही घटनाबाट सुरु भए । अछाम आक्रमण नै अछाम र अछामीको प्रगतिका लागि प्रमुख बाधक बनेको समाजसेवी एवंम कांग्रेस युवा नेता वेदप्रकाश तिमिल्सैना सुनाउँछन् ।
घटनापछि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा महत्त्व राख्ने अधिकांश मानिस विस्थापित भएर जिल्लाबाहिर गएकाले अछामकोे समृद्धि पछाडि धकेलिएको उनको बुझाइ छ ।

४ फागुन २०५८ राती सबै सुतेका बेला करिब ११ बजेतिर अछाम दरबार, सदरमुकाम मंगलसेन र प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा माओवादीले आक्रमण गर्दा बम र बारुदका आवाजले रातभर नसुतेरै बिताएको स्थानीयहरु स्मरण गर्छन् ।
माओवादी आक्रमणले बाँचिदैन जस्तो लागेको थियो । आक्रमणपछिको बिहान हेर्दा बजारलगायत अन्य ठाउँमा शवहरू यत्रतत्र थिए । सरकारी संरचना नष्ट, ध्वस्त भए । त्यो घटना अछामीका लागि कालो दिन सावित भयो,’ मंगलसैन ६ ठुलासैन निवासी हरिकला भण्डारी भन्छन् ।

२०६३ मा ३ वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको दरबारको १७ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नहुनु लाजमर्दो भएको मंगलसेन नगरप्रमुख पदमबहादुर बोहराले बताए । उनका अनुसार निर्माण कम्पनीले काठ नपाएको बहानामा काममा ढिलाइ गरेका छन् । ‘काम गर्ने निर्माण कम्पनीलाई मसँग कारबाही गर्ने अधिकार छैन । सम्बन्धित निकायले भौतिक निर्माणमा ढिलाइ गर्ने कम्पनीलाई कारबाही गर्नुपर्छ,’ बोहराले भने ।

दरवार निर्माणका लागि पटक पटक केन्द्र, प्रदेश सरकार र प्रशासनसंग समन्वय गरेपनि काम हुन नसकेको मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बोहरा बताउछन् । म प्रयास गर्दा गर्दा थाकिसके नगर प्रमुख बोहरा भन्छन् बिभिन्न बहाना बनाएर ठेकेदार समस्या देखाउछन् काम गर्दैनन् । आफुले चुनावका बेला दरबार निर्माण गराएरै छाड्ने बाचा गरेपनि ठेकेदारबाट काम हुदैन उनले भने । स्थानिय स्तरबाट दरवारको काम सम्भव नभएको भन्दै नगर प्रमुख बोहराले भने प्रदेश र केन्द्र सरकारले पहल कदमी लिनुपर्छ ।

सरकारले द्वन्द्व कालमा ध्वस्त भएका विभिन्न संरचना निर्माण गर्ने नीति बनाएको छ । सोही अनुरूप मंगलसैन दरबारलाई माओवादी आक्रमण अघिको स्वरूपको झल्को दिने गरी ठेक्का भएको हो । निर्माण कम्पनी, स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय अछामको रोहबरमा विभिन्न पटक कामलाई निरन्तरता दिन पहल पनि भए तर, दरबार निर्माण अझै पुरा हुन सकेन् ।

अछाम आक्रमणमा ध्वस्त दरबार राजेन्द्र साउद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी ५ वटा निर्माण कम्पनीले २ करोड २५ लाख रुपैयाँमा निर्माणको ठेक्का लिएका थिए । पुरानै संरचना अनुसार दरबार निर्माण गर्नुपर्ने हुँदा आवश्यक सालको काठ सजिलै उपलब्ध नभएकाले दरबार बनाउन ढिलो भएको निर्माण जिम्मा लिएका कम्पनिहरुको दाबी गर्ने गरेका भएपनि हाल काम ठप्प छ ।

अछामबाट ठूलो परिमाणमा बर्सेनि सालको काठ जिल्लाबाहिर निकासी भइरहे पनि दरबारका लागि काठ उपलब्ध हुन नसकेको निर्माण व्यवसायीको भनाइप्रति सर्वसाधारण भने शंका व्यक्त गर्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६९ मा निर्माणसम्बन्धी सम्पूर्ण फाइल लिएर अनुसन्धान गरेको पनि थियो । अछाम सदरमुकाम ध्वस्त भएपछि जिल्ला वर्षौं पछाडि धकेलिएको सर्वसाधारण बताउँछन् ।

यस्तो छ मंगलसैन दरवारको ईतिहास

मंगलसेन दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहको पालामा १९३५ मा सम्पन्न भएको इतिहास छ ।

सरकारले २०२९ मा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा उक्त दरबार किनेको बताइन्छ । योगेन्द्रबहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । ३ तले दरबारमा ३० कोठा थिए भने माँसको गारोबाट दरवार निर्माण भएको स्थानिय सर्बसाधारण बताउछन् ।

२०१४ सालअघि पूर्वी अछामले दैलेख र पश्चिमी अछामले डोटीमा मालपोत बुझाउनुपर्ने व्यवस्था रहेको इतिहास छ । तात्कालीन राजा महेन्द्र डोटी आउँदा अछामीले अछाममै मालपोत बुझाउन पाउनुपर्ने व्यवस्था गर्न माग गर्दै दिलबहादुर बुढ्थापाको नेतृत्वमा गएकाहरूले राजाको घोडा रोकेपछि राजाले मालपोत बुझाउने व्यवस्था अछाममै गरेको पूर्वसांसद गोविन्दबहादुर शाह बताउँछन् ।

त्यो बेला तत्काल अछामको रिडिकोट बयलपाटामा जिल्ला सदरमुकाम कायम गरिए पनि पछि त्यहाँ भौतिक संरचना नहुँदा सदरमुकाम दरबार भएकै कारणले मंगलसेनमा सरेको शाह बताउँछन् । २०१८ सालमा मा ३३ बाट ७५ जिल्ला हुँदा अछाम छुट्टै जिल्ला भएको हो ।