मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजभोलि तिमी एक्लै छौ ! न्यास्रो लाग्दैन ?

आजभोलि तिमी एक्लै छौ ! न्यास्रो लाग्दैन ?


– वेदप्रकाश तिमील्सैना

आजभोलि मेरो मन उदास छ । अनुहारमा हाँसो छैन । मनमा प्रसन्नता रत्तिभर छैन । जोस जागरका साथ मन चंगा भयो भने मात्रै खिन्नता हुन्न।  यतिबेला म उदास – निराश छु । त्यसैले उदासीमा केही राम्रो लाग्दैन । मनमा प्रसन्नता भएन भने कुनै कुरा रुचिकर हुँदैन । दुई महिना अघि सम्म म आफू लाई सकभर खुसी देखाउने ध्याउन्नमा हुन्थे ।

अरूलाई असर नगरेर बिन्दास जीवन जिउनु पर्छ भन्ने सोच मात्रै होइन मान्यता पनि भएको मध्यको म पनि हुँ । तर मेरो बिन्दास जीवन शैली हटेको दुई वर्ष भन्दा बढी भयो । आजभोलि साँच्चै भन्ने हो भने केही पनि राम्रो लाग्दैन । पहिले म माथि सुरुवातमा  उल्लेख गरेजस्तो बिन्दास नै थिए । मलाई घुम्नमा धेरै रुचि । गाडी र मोटरसाइकलमा धेरै घुमे ।

खासगरी वसन्त र शरद ऋतुमा घुमघामका लागि लागि मलाई खुब राम्रा लाग्ने । यी दुई ऋतुमा कामका लागि कतै गयोकी घुम्नको लागि पनि प्राय अनिवार्य समय निकाल्ने । मलाई चाहिँ ऋतुमा वसन्त र शरद राजा नै लाग्ने भनौ ।  त्यसैले होला चैत्र बैशाख र असोज कार्तिकको महिनामा मेरो घुमघामको दर बढी हुने गर्थ्यो । यो वर्ष चैत्र / बैशाखमा पनि खासमा मेरो पैदल घुम्ने योजना थियो । मोटरसाइकल र जिपमा होइन लामो पैदल यात्रा गर्ने सोचमा थिए ।

केही महिना अघि मन चंगा हुँदा ट्रेकिङ गर्ने योजना बुनेको थिए । त्यो पनि उहिलेको हटेरु, देसेरु, गमारेर र बम्मैवाला हिड्ने मुलबाटोमा । पैदलमार्ग पर्ने धार्मिक स्थलको दर्शन गर्दै अछाम देखि चिसापानी पुग्ने अनि कुइने देखि बिजौरा हुँदै ढकारी कमलबजार सम्म ट्रेकिङ गर्ने आकाङ्क्षा नभएको होइन ।

अछाम  देखि जङ्गलघाट सुर्खेत – चिसापानी कैलाली सम्म पुरानो हटेरु बाटो भएर जाने र कुईने, सोल्टा, बिजौरा पुचमा लेख सुर्खेत हुँदै ढकारी भएर कमलबजार फर्किने गरि पुराना हटेरु हिँड्ने बाटामा मन मिल्ने साथीहरु संग अलि लामो पदयात्रा गर्ने योजना थियो । चिउरारुख , गडिखोला, स्यालेकरा  दाडे, असाराका हटेरु र पैदल यात्रुका लागि बनाइएका दोकानका भग्नावशेषमा पुगेर पुराना दिन सम्झिने मन थियो । उहिले हिडेका विकट र डरलाग्दा लाग्ने उकाला ओराला हरूको आजभोलि माया लागेर आउँछ ।

ती उकाला ओराला र भन्ज्याङ चौतारी लाई ताजा र न्यानो अनुभूति हुनेगरी फेरि एक पटक स्पर्श गर्ने मन नभएको होइन । मलवार ( तराई ) आउदा छिचोलेका ती नागबेली बाटा हरू सँग साक्षात्कार गर्न इच्छुक थिए  । अनि चिच्याएर सोध्ने मन थियो आजभोलि तिमी एक्लै छौ न्यास्रो लाग्दैन ! उहिले चहारेका उकालो ओरालोमा  गाउँ बस्तिका आमा बुवा दाजुभाइ दिदीबहिनी सँग फोटो खिच्ने रहर पालेको थिए । अद्वितीय र अनुपम अनुभूति हुने गरि पदमार्गमा पर्ने तुल्ता , गुटु , असुणेनी , अरिमलेगडा ,  साल्म , बसुन्तीकुन्टा पुगेर मनको कुनामा लुकेर बसेका पुराना याद हरु लाई ताजा गर्ने अभिलाषा पनि उत्तिकै थियो ।

प्रकृतिको नयाँ श्रृंगार हेर्दै कोइलीको कुहु-कुहु आवाजका साथमा मौरीहरूको भुनभुन आवाज सुन्दै चैमालीको ओरालो भित्र बनको बाटो,  बासपानीको उकालो चढ्ने रहर मनमा कति थियो कति । अनि साल्ममा टक्क रोकिएर मैले छब्बीस बर्ष अघि देखेका बिध्यापुरका ती सुकिला घर हेर्ने उच्च अभिलाषा मनमा पालेको थिए । बसुन्तिकुन्टाको मगर होटलमा ती साहुजी दाजुले पकाएको खाना खाने उत्कट इच्छा सहित नयाँ खुलेको रागको होमस्टेमा हाम्रो क्षेत्रका पर्यटन क्षेत्रका हस्ती देवराज जोशी जि को होमस्टेमा बसेर बात मार्ने योजना पनि बुनेको थिए ।

सफा आकाशमा हरियाली हेर्दै जामु देखि कुईने सम्म र्‍याफि्टङ गर्ने उस्तै रहर पनि साचेको मैले । मेरो गाउँ  सहित अछाम बाट बसाइँसराइ गरेर जामु, कुईने पुगेका आफन्त लाई भेट्ने सोच सहित पदयात्राको परिकल्पना बनाइएको । पदयात्रामा बाटोमा खुब बात मार्दै हिड्ने अभिलाषा राखेको थिए । पहिले विकट तर अहिले विकास  खासगरी सडक र पुलले सुगम बनेका साविकको तातोपानी, घाटगाउ ( सुर्खेत ) र सुगरखाल ( कैलाली ) का आमा बुवा दाजुभाइ दिदीबहिनीका अनुभव सुन्ने गरि पदमार्ग हिड्ने सोचाइ आएको । कचाली, बाँका खोला, पितमारी र चिसापानीमा फोटो खिच्ने रहर पनि नभएको होइन ।

सम्झना बनेर मन भित्र बारम्बार आइरहने पितमारीको त्यो साइकल, सात बैसेरी, कुईने, बाँका कचाली लगायतका बाटोमा परम्परागत शैलीमा भान्सा लगाएर खाना खाने अपरिचित महिला पुरुषका समुहलाई लाई सम्झिदै त्यही पुगेर ‘यो सम्झिने मन छ, म बिर्सु कसोरि भन्ने’ स्वर सम्राट नारायण गोपालको गित गुनगुनाउने मन नभएको होइन ।

साथै अछाम भित्र पनि विभिन्न ठाउँ पुगेर “दर्नाली कोटको राजा लुगा लाउनो झुलाई, आइजाय बसेका ठौर सम्झी जाय मलाई” भनेर ठाणी भाका गउने इच्छा पनि मनमा थियो । खेतगैरा र खोकलेगौरा पुग्ने, प्रिय चाइरा घुम्ने अनि मेरो मावलीको थलो सोता पुग्ने, तान्ती र जातासैन पुग्नुपर्छ भन्ने मनमा थियो । अछामका लेख औल पुगेर  पुराना दिन सम्झिन खोजेको थिए ।

तर परिस्थिति अनुकूल नभएको यतिबेला नियमित काम र कार्यक्रम अनि गतिविधि बाट टाढा छु । यतिबेला घुमघाम बारे सोच्न पनि गाह्रो छ । पैदल घुम्ने कार्यक्रम यतिबेला मनमा मात्र सीमित भएको छ । त्यसैले समयले साथ दिए कुनै दिन हटेरु, देसेरु, गमारेर र बम्मैवाला हिँड्ने बाटामा ट्रेकिङ गरौंला । अछामका लेख औल पुगौला ।

आजभोलि भग्नावशेषमा परिणत भएका उहिलेका आत्मनिर्भर किसानका गोठ छाना हेरेर तिम्रो नितिले आज ग्रामिण नेपाल कसरी बर्बाद भैरहेको छ भनेर राज्यका नीतिनिर्माता लाई प्रश्न गरौला ।