मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म किन कांग्रेस भएँ?

म किन कांग्रेस भएँ?


२००७ सालदेखि २०४६ हुँदै २०६२/०६३ आन्दोलनमा इतिहास बोकेको नेपाली कांग्रेसको अग्रणी भूमिका छ। जनयुद्धको अन्त्य, हतियार व्यवस्थापन, संविधानसभाको निर्वाचन तथा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणामा नेपाली कांग्रेसको भूमिका नेतृत्वदायी रहेको थियो। कांग्रेसकै कारण शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको हो। 

मुलुक र जनताको विश्वासप्राप्त दल कांग्रेस लोकतन्त्र र समृद्धिप्रति प्रतिबद्ध भएकाले देशका लागि अपरिहार्य हो। संविधान निर्माणदेखि राजनीतिक स्थिरता, आम निर्वाचन र गणतन्त्र संस्थागत गर्न कांग्रेसको नेतृत्वदायी भूमिकाले संभव हो। कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सहासिक र दुरगामी निर्णयका कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। यो यथार्थलाई नेकपालगायत कुनै पनि राजनीतिक शक्तिले नजरअन्दाज गर्न मिल्दैन। 

गत निर्वाचनमा कांग्रेसलाई घेराबन्दीमा पार्न छापामार शैलीमा रातारात पार्टी एकताको घोषणा गरेका थिए। कम्युनिस्टहरु कांग्रेसकै नेतृत्व र अगुवाइमा अगाडि बढ्दै र बामे सर्दै आएको इतिहास हो। आन्दोलन र परिवर्तनका तथ्यहरुले यही भनिरहेको छ।

१४औँ केन्द्रीय महाधिवेशनको तयारीमा लाग्दै गर्दा कांग्रेसले वर्तमान नेपाली राजनीतिलाई सुक्ष्म रूपमा अध्ययन एवं विश्लेषण गर्नु र भावी रणनीति बनाउनु जरुरी छ। जसरी नेपालको सबैखाले आन्दोलन र परिवर्तनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो। त्यसरी नै मुलुकको समृद्धि र विकासमा नेपाली कांग्रेसले अभिभावकीय भूमिका र जिम्मेवारी निभाउनु आवश्यक देखिन्छ।

राष्टिय र अन्तर्राष्ट्रिय रुपमै विश्वास र भरोसायुक्त कांग्रेस अब नेपालको लोकतान्त्रिक अभिभावक बनेर अगाडि बढ्नु पर्दछ। कांग्रेसमा आबद्ध भएर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र मुलुकको समृद्धिमा योगदान पुर्‍याउन राप्रपालगायत दलका स्वाभिमान कार्यकर्ताले अब नेपाली कांग्रेसमा प्रवेश गरेर आफ्नो र सन्ततिको बाँकी राजनीतिक भविष्य बचाउनु आवश्यक छ। 

नेपालमा स्थायी राजनीतिक शक्ति कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी देखिएका छन्। गत निर्वाचनले स्थायी शक्तिको प्रमाणित गरेको छ। मधेसवादी राजनीतिक दलहरुको भूमिका पनि परिपक्व र रचनात्मक हुनु जरुरी छ। अबका केही वर्ष यी शक्तिको वरिपरि नेपाली राजनीति घुमिरहने देखिन्छ। अन्य प्रतिगामी स्वभाव र चरित्र भएका राजनीतिक झुन्डहरु धमिलो पानीमा माछा मार्न दाउमा रहेता पनि अब उनीहरु राजनीतिक दलको रुपमा विकसित हुन अझै थुप्रै समय लाग्ने देखिएको छ। यस्ता दलबारे चर्चा गरेर समय, श्रम, शक्ति खेर फाल्नु उचित ठान्दिनँ। 

अन्योल र अस्थिरता अन्त्य गर्दै नेपालको राजनीतिलाई सहज र संस्थागत रुपमा सुचारु गर्ने दायित्व संविधान निर्माताकै जिम्मेवारी हुन्छ। मुलुककै पुरानो र लोकतान्त्रिक पार्टी कांग्रेसले आफ्नो भूमिका र प्रभावकारिता थप सशक्त बनाउनु जरुरी छ। राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श अनि मान्यताको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र ,समावेशिता, मिश्रित निर्वाचन प्रणाली,शान्ति र अहिंसाको सैद्धान्तिक धरातलमा आधुनिक र समुन्नत नेपालको निर्माण अभियानमा जुट्नु अहिलेको दायित्व हो।

राप्रपाको विकृत रुप
‘कहीँ नभएको जात्रा हाडीगाँउमा’ भनेजस्तै एउटा पार्टीमा तीन/तीन जना अध्यक्ष राप्रपामा छन्। यी तीनै अध्यक्ष विगत २० वर्षयता भएका निर्वाचनमा जनताबाट प्रत्यक्ष निर्वाचित भएका छैनन्। उनीहरु आ–आफ्नै स्वार्थ, सत्ता, पदलोलुपताबाट ग्रसित भएको तथ्य इतिहासले पुष्टि गरिसकेको छ।

पार्टीमा बबन्डर मच्चाएर संविधानसभामा जानु, पदलोलुप भएर बारम्बार एउटै व्यक्ति निरन्तर उपप्रधानमन्त्रीमा पदासीन हुनु, जनताले हराइसकेपछि २६ जना मनोनित हुन पार्टी नै तहसनहस बनाउनु राष्ट्रिय प्रजातन्त्र पार्टीका विकृत कार्य थिए।

विसंगतिका जड यस्तै पात्र र प्रवृत्तिहरुले नेतृत्व गरेको राप्रपामा अब पनि युवा, विद्यार्थी र जुझारु युवा कार्यकर्ताहरुको भविष्य रहेको कल्पना गर्न सकिँदैन। यथार्थतालाई स्मरण गर्दै देशभरका राप्रपा कार्यकर्ता अब पनि त्यही पार्टीमा रहनुको औचित्य देखिँदैन। नेपाली राजनीतिक इतिहासलाई सम्मान गर्दै समुन्नत लोकतन्त्रसहितको नेपालको भविष्य कोर्ने मूल्य, मान्यता र क्षमता भएको राजनीतक शक्तिका कारण म अग्रजहरुसहित कांग्रेस प्रवेश गरेका हौं। अस्ताउँदो दलबाट बिदा भई उचित निर्णय लिन राप्रपामा आबद्ध कार्यकर्ताले अब ढिला नगरौँ।

(सुनीलबहादुर थापासँगै राप्रपा परित्याग गरेका गिरी हालै कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन्।)