मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघको वडा सचिवदेखि कांग्रेस महामन्त्रीसम्म गगन-यात्रा

नेविसंघको वडा सचिवदेखि कांग्रेस महामन्त्रीसम्म गगन-यात्रा


जनआन्दोलन २०६२/०६३ का बेला घाइते भएका गगन। फाइल तस्बिर

विद्यार्थी राजनीतिमा लागेर शाही सत्ताका बेला चर्चाको शिखरमा पुगेका गगन थापा सक्रिय राजनीतिमा संलग्न भएको ३० वर्षपछि नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन्।

काठमाडौं- पचासको दशकको सुरुतिर राजधानीको त्रिचन्द्र क्याम्पसमा एउटा अनुहार धेरैको प्रिय थियो। यसकारण कि मिलनसार, हँसिलो मुहार र कालो वर्णका उनी प्रतिष्ठित मानिने सिद्धार्थ वनस्थलीबाट एसएलसी सकेर त्रिचन्द्र आएका थिए। त्यसमा पनि राजधानीका रैथाने ती किशोर साथी समूहमा सजिलै घुलमिल भइहाल्थे। सोही लोकप्रियताका कारण गगन थापाले स्ववियु सदस्यमा टिकट पाए।

५१ सालमा त्रिचन्द्रको स्ववियु सदस्य निर्वाचित भएर विद्यार्थी राजनीतिमा प्रवेश गरेका थापा ३० वर्षपछि मुलुकको पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका छन्। ४५ वर्षीय थापा महामन्त्रीमा निर्वाचित हुनुअघिको राजनीतिक यात्रा भने लामो र लोभलाग्दो छ।

२०४८ सालमा नेविसंघ काठमाडौं वडा नं. ३३ को सचिव चुनिएका गगनको लोभलाग्दो राजनीतिक यात्रा आरम्भचाहिँ एमालेको ९ महिने शासनकालबाट सुरु भएको थियो। ५१ सालमा एमालेको सरकार थियो। मूल्यवृद्धिको विरोधमा नेविसंघले नेपाल बन्द आह्वान गरेका बेला गगन पक्राउ परे। अनि उनको नाम त्यति बेलाका विपक्षी दल समर्थित मिडियामा आउन थाल्यो। धाराप्रवाह भाषण गर्ने गगनशैली त्रिचन्द्रमा मात्र सीमित भएन उपत्यकाका सबै कलेजमा गगनको चर्चा हुन थाल्यो। उनी भन्ने गर्थे- शिक्षा र स्वास्थ्यमा नागरिकको समान पहुँच नभएसम्म विद्यार्थी आन्दोलन जारी राख्नुपर्छ।

राजधानीका क्याम्पसमा मात्र होइन देशभरका युवापुस्तामा गगन चासोको पात्र बन्न पुगे। अहिलेको सामाजिक सञ्जालको भाषामा भन्ने हो भने गगन ‘भाइरल’ बने। जसै उनको राजनीतिक यात्रा पनि अघि बढिरह्यो। त्रिचन्द्रमै स्ववियु सचिव हुँदै सभापतिमा निर्वाचित भए। ५९ सालमा नेविसंघको महामन्त्री बनेपछि गगन आशालाग्दा युवाका रुपमा स्थापित भइसकेका थिए।

वामपन्थी दलले पनि खुलेर प्रश‌ंसा गर्न थाले गगनको। कारण थियो गगनले गणतन्त्रको नारा उराल्न थालिसकेका थिए।

गगनको राजनीतिलाई थप उचाइमा पुर्याउने अर्को कारक बन्यो शाही सत्ता। ६१ साल माघमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा गगन नेविसंघको महामन्त्री थिए। राजनीतिक दलका शीर्ष नेता कोही पक्राउ परे र कोही नजरबन्दमा अनि कोही भूमिगत भए। तर गगनले प्रजातन्त्र र नागरिक अधिकारप्रति वकालत गरिरहे। वामपन्थी दलले पनि खुलेर प्रश‌ंसा गर्न थाले गगनको। कारण थियो गगनले गणतन्त्रको नारा उराल्न थालिसकेका थिए।

शाही सत्ताको विरोधमा लागेका महामन्त्री गगन र अध्यक्ष गुरुराज घिमिरेलाई धेरैतिरबाट साथ मिल्न थाल्यो। पार्टीले गणतन्त्रका पक्षमा औपचारिक निर्णय नगर्दै गगनले गणतन्त्रका पक्षमा खुलेर लबिङ गरिरहे। पटकपटक हिरासतमा परे। सडकमा लाठी खाए। आन्दोलनको अग्रपंक्तिमा रहेर राजतन्त्रको विरोध, नमुना जनमतसंग्रह लगायतको देशव्यापी अभियान सञ्चालन गर्दा उनी प्रक्राउ परेका थिए। नागरिक अगुवा कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेको नेतृत्वमा रत्नपार्कमा भएको कार्यक्रममा राजतन्त्रविरुद्ध बोलेको आरोपमा उनलाई पक्राउ गरी राजद्रोहको मुद्दा लगाइएको थियो।

नेपाल समय

प्रहरी हिरासतमा परेका बेला कान्तिपुरमा प्रकाशित ‘लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो भने त्यस्तो राजद्रोह मबाट जीवन पर्यन्त भइरहनेछ’भन्ने शीर्षकको  लेख त्यतिबेला निकै चर्चित भएको थियो।

लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्वको जताततै प्रशंसा हुन थाल्यो। उनको भाषणको सार हुन्थ्यो- ‘अब आउने पुस्ताले लोकतन्त्रका लागि आन्दोलन गर्न नपर्ने गरी देशमा नागरिक अधिकार स्थापित नभएसम्म  पछि हट्दैनौं।’ त्यति बेलाका अखबारमा गगन र गुरुराजका समर्थनमा धेरै समाचार लेखिए। धेरै विचार प्रस्तुत भए। ६२/६३ को आन्दोलनमा गगनको भूमिका ‘हिरो’ को जस्तै बन्न पुग्यो। राजाको सक्रिय शासनका बेला गणतन्त्रको आवाज प्रखर रूपमा उठाएर गगनले देशभरका लाखौं युवाको मन जिते। जनआन्दोलन अवधिमा गगन एउटा मुख्य वक्ताको रुपमा हुन्थे।

अबको १५ वर्षभित्र उन्नतिपथमा तीव्र फड्को मारिरहेको देश आउँदो पुस्तालाई सुम्पने दायित्व छ भनेर सार्वजनिक भाषण गर्दै आएका गगनले भन्ने गरेका छन्-  मेरो सक्रिय राजनीतिक जीवन अबको १५ वर्षसम्म मात्र रहनेछ।’

राजाले २०६३ वैशाख ११ मा संसद् पुनर्स्थापना घोषणा गरेपछि गगन पार्टी राजनीतिमा सक्रिय भएका हुन्। त्यसपछि  गगनले आफ्नो भूमिकालाई कहिल्यै ओझेलमा पार्न चाहेनन्। सक्रिय राजनीतिमा लागिरहेका छन्।

सांसद र मन्त्री भएका बेला उनले गरेका कामको धेरैले प्रश‌ंसा गरेका छन्। २०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट सभासद निर्वाचित गगनले  मौलिक अधिकार समितिमा रहेर काम गरे। गैरआवसीय नेपालीले नागरिकता पाउने विषय, आमाको नामबाट नागरिकता, १८ वर्षसम्म बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउने लगायत दलित अधिकार, महिला अधिकार, युवा अधिकार, आदिवासी जनजाति मधेसी समुदायको अधिकार, शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षालगायतका विषयमा उनले अग्रसरता लिएका थिए।

सांसद हुँदा डा. गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा क्षेत्रको सुधारका पक्षमा र मेडिकल माफियाको प्रतिवाद गरेका गगनले २०७३ मा स्वास्थ्यमन्त्री हुँदा केही आशलाग्दा काम गरेका छन्। उनले संसदको कृषि तथा जलस्रोत समितिको सभापति भएर पनि काम गरेका छन्। नौ महिना स्वास्थ्यमन्त्री हुँदा दीर्घकालीन नीतिगत, कानुनी र संस्थागत संरचनाका सुधारात्मक कार्यको थालनी गरेका थिए।

गगन २०६७ सालमा सम्पन्न १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। १३औं महाधिवेशनमा युवा पुस्ता पार्टीको नेतृत्वमा आउने हिम्मत गर्नुपर्छ भन्ने मान्यताका साथ पार्टी महामन्त्रीमा प्रतिस्पर्धा गरे पनि सफल हुन सकेनन्। अबको १५ वर्षभित्र उन्नतिपथमा तीव्र फड्को मारिरहेको देश आउँदो पुस्तालाई सुम्पने दायित्व छ भनेर सार्वजनिक भाषण गर्दै आएका गगनले भन्ने गरेका छन्-  मेरो सक्रिय राजनीतिक जीवन अबको १५ वर्षसम्म मात्र रहनेछ।’

आफ्नो कुरा स्पष्ट राख्‍ने, नागरिकलाई हरेक मुद्दा बुझाउनसक्ने र नागरिकका मुद्दालाई बुझ्‍नसक्ने प्रतिनिधि कांग्रेसका युवाले पाएका छन्। ‘समुन्‍नत नेपाल र सम्मानित नेपाली’का लागि ‘कांग्रेसलाई बुझिने, सुनिने र देखिने बनाउने’ अभिभारा अब गगनको काँधमा आएको छ। हिजो बोल्‍न ठाउँमा रहेका गगन अब काम गर्ने ठाउँमा पुगेका छन्। 

महाधिवेशन प्रतिनिधिले गगनलाई जुन विश्वासका साथ मत दिएका छन्, त्यो उनको विगतका राजनीतिक इमान, निष्ठा र प्रतिबद्धताका कारण हो। महामन्त्रीमा निर्वाचित भएसँग अब उनीमाथि ठूलो परीक्षा सुरु भएको छ। परीक्षामा कसरी प्रस्तुत हुनेछन्, आगामी राजनीतिक भविष्य त्यसमै भर पर्नेछ।