मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितलाई बचाउने पहिलो औषधि भेटियो : बेलायती विज्ञ

कोरोना संक्रमितलाई बचाउने पहिलो औषधि भेटियो : बेलायती विज्ञ


लन्डन । नोभल कोरोनाभाइरस संक्रमितको जीवन जोगाउन सहयोग गर्ने पहिलो औषधि भेटिएको बेलायतका विज्ञहरुले बताएका छन् । एउटा सस्तो र आम रूपमा उपलब्ध हुने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन बचाउन सहयोग गर्ने बीबीसीले जनाएको छ । 

कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोना भाइरसविरुद्ध ठूलो सहयोग मिल्ने जनाइएको छ । यसले भेन्टीलेटरमा राखिएका बिरामीको मृत्यु हुने दर एक तिहाइले घटाउने र अक्सिजन दिइएका पाँचमध्ये एक बिरामीलाई जोगाउने विज्ञहरुले बताएका छन् ।

कोरोना भाइरसको जारी उपचार विधिबारे विश्वभरि गरिएका ठूला परीक्षणहरूको यो औषधि पनि एउटा हिस्सा रहेको थियो । अनुसन्धानकर्ताहरूले यदी उक्त औषधि सुरुदेखि बेलायतमा पाइएको भए ५ हजार जीवन जोगिने थियो भनी उल्लेख गरेका छन् । 

यो औषधिको मूल्य पनि सस्तो रहेको र यसले उच्च संख्यामा कोभिड-१९ का संक्रमित देखिएका गरिब देशहरूलाई ठूलो राहत दिनसक्ने अपेक्षा गरिएको छ । 

बीबीसीका स्वास्थ्य संवाददाता फर्गुस वाल्सले मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित औषधि नयाँ नभएको र यो खासै महँगो पनि नभएको बताएका छन् । उनले भने, “यो खुसी मनाउनुपर्ने विषय हो । किनभने संसारभरका मानिसहरूले तत्कालै लाभ पाउँछन् । त्यही भएर परीक्षणको परिणामलाई तत्कालै बाहिर ल्याइएको हो ।”

डेक्सामेथासोनलाई सन् १९६० देखि नै दमदेखि रूमटोइड आर्थ्राइटिसको उपचारका लागि प्रयोग गर्ने गरिएको छ । 

कोभिड-१९ को संक्रमण देखापरेपछि भेन्टिलेटरमा राख्नुपरेका आधा बिरामीहरूको ज्यान गइरहेको वर्तमान सन्दर्भमा उक्त जोखिमलाई एक तिहाइले घटाउनुलाई ठूलो उपलब्धि मानिएको छ । सघन कक्षमा राखिएका व्यक्तिहरूलाई नसामार्फत उक्त औषधि दिने गरिन्छ भने कम गम्भीर बिरामीहरूलाई चक्कीका रूपमा दिने गरिन्छ ।

कोरोनाविरुद्धको १३५ खोपहरु भने परीक्षणकै चरणमा छन् । यस वर्षको अन्तिमसम्म खोप विकास हुनसक्ने अपेक्षा गरिएको छ । – बिबिसी