मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसवर्षको अमेरिकी चुनाव खर्च ऐतिहासिक ! ट्रम्पको ‘रातो–क्याप’मा मात्र ८० लाख डलर लगानी

यसवर्षको अमेरिकी चुनाव खर्च ऐतिहासिक ! ट्रम्पको ‘रातो–क्याप’मा मात्र ८० लाख डलर लगानी

सुदूर आज

अमेरिकाको सन् २०२० निर्वाचनमा प्रचारकै लागि मात्र झन्डै १४ अर्ब डलर खर्च भएको रिपोर्ट गरिएको छ ।  राष्ट्रपति एवम् अमेरिकी कंग्रेसका सयौँ सदस्य छनोट गर्न यसपटक मतदान गर्ने नागरिकहरुको सङ्ख्या पनि उत्तिकै धेरै थियो ।  तर कोरोना महामारीका कारण यसवर्षको चुनाव अभियान अरुबेलाको भन्दा धेरै फरक देखिए पनि राजनीतिक सक्रियतामा भने कुनै कमी आएन । जसकारण यसवर्षको चुनाव प्रचार अभियानमा प्राप्त ‘डोनेसन रकम’ ले सबै रेकर्ड तोडेको छ । 

यसमा ट्रम्प र बाइडेनबाहेक अन्य राष्ट्रपति उमेदवारहरुले मात्र प्रचार अभियानमा यो वर्ष ६.६ अर्ब डलर खर्च गरेका छन् ।  यो भनेको पछिल्ला दुई निर्वाचनमा भएको खर्चलाई मिलाउँदा पनि धेरै हुन्छ । 

महामारीका कारण परम्परागत रुपमा सञ्चालन गरिँदै आएको चुनाव अभियानका कार्यक्रम केही सीमित हुन पुग्दा योपटक विशेषगरी मिडियामा बढी खर्च गर्नुपरेको हो । यसमा टेलिभिजनको विज्ञापन उमेदवारका लागि अत्यन्तै लाभदायक माध्यम हुने गर्दछ । जस्तै गत फेब्रुअरीमा भएको ‘सुपरबल’ खेलका बीचमा ट्रम्पले ३० सेकेन्डको विज्ञापनकै लागि लाखौँ डलर खर्च गरेका थिए । 

यता डिजिटल विज्ञापनले पनि उमेदवारहरुबाट बढ्दो प्राथमिकता पाइरहेको छ ।  यसमा दुवै पक्षले सामाजिक सञ्जालका मतदाताहरुलाई लक्षित गर्दै २० करोड डलर खर्च गरेका हुन् । त्यसैगरी चुनाव अभियानमा खटाइएका स्टाफहरुको पारिश्रमिकमा पनि अधिक लागत गरिएको छ ।  जस्तै बाइडेनले, आफ्नो चुनाव अभियानमा नियुक्त सयौँ कर्मचारीहरुमा ५ करोड डलर भन्दा धेरै खर्च गरेका हुन् । 

यसमा ट्रम्पले चाहिँ उनी्भन्दा थोरै २ करोड डलर लगानी गरेका छन् ।  त्यस्तै ट्रम्पको चुनाव प्रचार अभियानमा प्रयोग भएको चर्चित ‘रातो–क्याप’ लगायत सबै चुनावी सरसामानहरुमा २०२० को फाइलिङ अनुसार ८० लाख डलरभन्दा बढी खर्च भएको छ ।  अमेरिकी कंग्रेसमा पद ग्रहण गर्ने सम्बन्धी पनि योपटक धेरै चर्को प्रतिस्पर्धा थियो जसमा देशभर सयौँ आशावादी उमेदवारहरु उठेका हुन् । २०२० मा यसको कूल खर्च ७ अर्ब डलर बराबर रहेको बताइएको छ ।  

कहाँबाट आयो त यति धेरै पैसा ?

यो सबै पैसा अभियानका क्रममा नागरिकहरुले दैनिक दिने गरेको २०० डलर वा सो भन्दा कम ‘डोनेसन’ बाट आएको हो ।  २०२० को चुनावमा साधारण नागरिकहरुले दैनिक डोनेसनबाटै २० प्रतिशत आर्थिक योगदान पुर्याएका छन् । तर धेरै प्रतिशत रकम, धनाढ्य वर्गबाट आएको छ ।  यसमा पनि चुनाव अभियानलाई सीधै दान गर्नुपर्दा व्यक्तिगत रुपमा २८०० डलरसम्म मात्र दिन पाइन्छ । 

तर चुनावका लागि अन्य तरिकाबाट पनि आर्थिक सहयोग गर्न मिल्छ ।  उमेदवार र तिनका पार्टीहरुले प्रायः एक संयुक्त कोष संकलन समिति निर्माण गर्ने गर्दछन् जसमा चुनावका लागि कति दान गर्न पाउने भनेर सीमित रकम तोकिएको हुँदैन ।  सो समितिले धनाढ्य दानकर्ताहरुका लागि आलीसान भोजभतेरलगायतका लक्जरी कार्यक्रम आयोजना गर्ने गरेको रिपोर्ट गरिएको छ । 

यसमार्फत एकैरातमा १ करोड डलरसम्म पनि उठाउन सकिन्छ ।  यति मात्र नभएर २०१० देखि स्वतन्त्र समुहहरुले पनि असिमित रकम संकलन गर्न पाउने भएका हुन् ।  यसमा विभिन्न कम्पनी, कोर्पोरेट, संघहरु लगायत व्यक्तिगत रुपमा राजनीतिक गतिविधिहरुलाई आर्थिक सहयोगका गर्न सकिन्छ ।  सो समूहलाई ‘सुपर प्याक’ भनिन्छ जसलाई उमेदवारसँग सीधै सहकार्य गर्न चाहिँ अनुमति हुँदैन र केबल तिनको पक्ष या विपक्षमा अधिवक्ताको काम गर्न सक्नेछन् ।  

बाहिरी समूहबाट योगदान आउने क्रम पनि बढिरहेको छ । जुन २०१६ को तुलनामा योवर्ष दुई गुणाले बढेको छ ।  यसले नै बाइडेनलाई ट्रम्प भन्दा बढी सहायता दिलाएको बताइएको छ । चुनाव अभियानलाई डोनेसन दिने सम्बन्धी अरु पनि विभिन्न नियमहरु छन् ।  जस्तै केबल अमेरिकी नागरिक र स्थायी वासिन्दाले मात्र आर्थिक सहयोग गर्न पाउँछन् । तर अन्य देशहरुमा जस्तो अमेरिकामा राजनीतिक अभियानका लागि कूल कतिसम्म खर्च गर्न पाउने भन्ने सीमित रकम तोकिएको छैन । 

यसरी प्रत्येक वर्ष अमेरिकी निर्वाचन झन झन महङ्गो बन्दै गएको छ ।  यसमा पनि २०२० को समस्त लागत् सन् २००० को भन्दा चार गुणा बढी छ ।  यसको अर्थ विश्वको सबैभन्दा शक्तिशाली पद ग्रहण गर्न सहज र सस्तो छैन ।  जुन कुरा यो वर्ष पनि अपवाद साबित भएन । दुवै प्रमुख उमेदवारले ह्वाइटहाउसमा स्थान हासिल गर्न आफूले सकेजतिको अधिक लगानी गरेका हुन् । बीबीसी