मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाइडनको शपथग्रहण समारोहमा ट्रम्प नजाने, ११५ वर्ष पुरानो परम्परा तोडिँदै

बाइडनको शपथग्रहण समारोहमा ट्रम्प नजाने, ११५ वर्ष पुरानो परम्परा तोडिँदै


काठमाडौं- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प २० जनवरीमा हुने जो बाइडनको शपथग्रहण समारोहमा सहभागी नहुने भएका छन्। ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘जसले सोधिरहेका छन् उनीहरुलाई म भन्न चाहन्छु, म २० जनवरीको उद्घाटनमा जाने छैन।’

सन् १८६९ मा अमेरिकाका १७ औं राष्ट्रपति एन्ड्रयू जोनसनपछि ट्रम्प नै आफ्ना उत्तराधिकारीको शपथग्रहण समारोहमा सहभागी नहुने पहिलो राष्ट्रपति हुनेछन्। यसअघि अमेरिकाका प्रत्येक राष्ट्रपति आफ्नो कार्यकाल सकिएपछि नयाँ राष्ट्रपतिको शपथग्रहणमा सहभागी हुँदै आएका थिए।

२०१६ मा डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा तत्कालीन राष्ट्रपति बाराक ओबामा सहभागी भएका थिए भने २००९ मा ओबामाको शपथग्रहणमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति जर्ज डब्ल्यू बुस सरिक भएका थिए। 

बुधबार ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा उपद्रो मच्चाएपछि ट्विटर, फेसबुक, स्न्यापच्याट र इन्स्टाग्रामले उनलाई प्रतिबन्ध लगाएका थिए। करिब १२ घण्टा बन्द गरेपछि ट्विटरले भने प्रतिबन्ध हटाएको छ। ट्विटर अकाउन्ट खुलेलगत्तै ट्रम्पले एउटा भिडियो पोष्ट गर्दै शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका थिए।

तर त्यसपछि फेरि अर्को ट्विट गरेर उनले आफ्ना समर्थकको बचाउ गर्दै उनीहरुको अपमान नगरिने र गलत व्यवहार पनि हुने उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘सात करोड ५० लाख अमेरिकी देशभक्त जसले मलाई मत दिए, अमेरिका फस्र्ट र अमेरिकालाई फेरि महान बनाउनका लागि मत दिए, भाविष्यमा उनीहरुको आवाज सुनिने छ। उनीहरुको अपमान हुने छैन र कुनै भेदभाव गरिने छैन।’

यसैबीच ट्रम्पलाई चाँडै राजीनामा गर्न दबाब बढदै गएको छ। डेमोक्रेट सांसद कलाइनबर्नले यदि उपराष्ट्रपति माइक पेन्स र क्याबिनेट सदस्यले संविधानको २५ औं संशोधनलाई उपयोग गर्दै ट्रम्पलाई उनको पदबाट नहटाउने हो भने उनीमाथि महाभियोगको प्रक्रिया सुरु गर्न सकिने बताएका छन्। 

सीएनएनसँग कुरा गर्दै उनले भनेका छन्, ‘हामीले आगामी सात दिनभित्र राष्ट्रपतिमाथि महाभियोगको प्रस्ताव लगाउन सक्छौं तर, उनलाई हटाउन सक्दैनौं।’ उनका अनुसार संसदको तल्लो सदनमा ट्रम्पविरुद्धको प्रस्ताव पारित हुनसक्ने भए पनि माथिल्लो सदनमा चाँडै सबै प्रक्रिया सकेर उनलाई पदबाट हटाउन आवश्यक दुईतिहाई बहुमत जुटाउन सजिलो छैन।

ट्रम्पकै दलका करिब एक सय सांसदले स्पष्ट रुपमा बुधबारको घटनाका लागि ट्रम्पलाई जिम्मेवार ठहर गरेका छन्। उक्त घटनापछि ह्वाइटका राष्ट्रिय सुरक्षा अधिकृत, शिक्षा मन्त्री र अन्य सदस्यहरुले राजीनामा गरेका छन्।

यसैबीच अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले आफ्नो सम्पादकीय पेजमा ट्रम्पलाई अर्को महाभियोग प्रस्तावबाट बच्नका लागि आफैंं राजीनामा गर्नु उपयुक्त हुने सुझाव दिएको छ।

अखबारका अनुसार बुधबारको घटना सत्ता हस्तान्तरणको संवैधानिक प्रक्रियामाथि आक्रमण थियो। यो कार्यपालिकाबाट विधायिकामाथि भएको हमला पनि थियो जुन कार्यपालिकाले अमेरिकी संविधान रक्षाको शपथ लिएको थियो।