लन्डन । मुटु सम्बन्धी रोगलाई दुनियाँकै सबैभन्दा ठूलो ‘किलर’ पनि भन्ने गरिन्छ । र विकसित मुलुकहरुमा पाँचमध्ये एकजनाले जीवनमा एकपटक मुटु फेल हुनेबाट गुज्रिने गरेको तथ्याङ्कले देखाउँछ । त्यसैले यो अधिक खराब स्थितिमा पुगे, एक मात्र उपचार भनेको प्रत्यारोपण गनुृ हुनेछ । तर मुटु दान गर्नेहरु भन्दा प्रत्यारोपण गराउनुपर्नेको सङ्ख्या धेरै हुँदा बिरामीहरुले वर्षौँ पर्खिनुपर्ने हुन सक्छ ।
तिनै बिरामीलाई मद्दत गर्न फ्रेन्च कम्पनी कर्मटले पूर्ण कृत्रिम मुटु निर्माण गरेको छ जसले ‘डोनर’ फेला नपारुन्जेल पूरै मुटुलाई प्रतिस्थापन गर्न सक्ने बताइएको छ । यसमा नयाँ के छ भने यो डिभाइसले अरुभन्दा फरक, बिरामीको शारीरिक अवस्थाअनुसार आफैँ प्रतिक्रिया दिन सक्ने बताइएको छ ।
मानव मुटुकै आकारमा रहेको यो कृत्रिम मुटुको तौल ४ किलो रहेको छ र यसलाई दुईवटा ब्याट्रीले पावर दिइरहेको हुन्छ ।
जसलाई चार घण्टासम्म चार्ज आवश्यक पर्छ । यसको सेन्सरले रक्तचापको डाटा लिन सक्छ र त्यसको प्रतिक्रियामा रगतको बहावलाई प्रत्यक्ष नियन्त्रण पनि गर्न सक्छ । कर्मटकी प्रमुख कार्यकारी स्टेफनी पियातले सिएनएनसँग बताइन्, “यसले मान्छेको मुटु जसरी नै काम गर्छ त्यसैले मान्छे हिँडिरहेको छ भने रगतको बहाव बढाउँछ र बिरामी आराम गरिरहेको छ भने बहाव स्थितर र कम बनाइदिन्छ ।”
बिरामीको रगतसँग सम्पर्कमा आउने यस क्रितृम मुटुका भागहरु हाम्रो शरीरसँग अनुकूल सामग्रीबाट बनेका छन् । त्यसैले पनि यसबाट मुटुमा आक्रामक प्रतिक्रियाको जोखिम कम हुन्छ । पिआतका अनुसार एकपटक शल्यक्रिया गरि प्रत्यारोपण गरिसकेपछि यसको कुनै मर्मत या व्यवस्थापन आवश्यक पर्नेछैन ।
डिसेम्बरको ट्रायलमा १९ बिरामीहरुले यो डिभाइस प्राप्त गरेका हुन् । कम्पनीले आधिकारिक निकायबाट ‘सीइ मार्किङ’ को स्वीकृति पनि प्राप्त गरेको हो जसपछि यसले युरोपेली युनिअन भर आफ्नो उत्पादन बिक्री गर्न पाउने भएको छ । गत महिना यसले अमेरिकी खाद्य तथा औषध विभागको स्वीकृति प्राप्त गर्नका लागि अतिरिक्त अध्ययन र परीक्षण सुरु गर्ने अनुमति पनि प्राप्त गरेको थियो ।
कर्मटले जुनको अन्त्य भित्रमै जर्मनीमा यसको विक्री सुरु गर्ने अपेक्षा गरेको छ । वर्षको अन्त्यसम्म कर्मटसँग २० वटा कृत्रिम मुटु हुने पिआतको लक्ष्य छ जसलाई अस्पतालहरुमा १ लाख ९० हजार डलरसम्ममा बिक्री गरिने उनले बताइन् । यसको अहिलेको डिजाइन प्रायः पुरुषहरुका लागि योग्य मानिएको छ र महिलाका लागि केही ठूलो हुन सक्ने बताइएको छ ।
कर्मटको स्थापना २००८ मा भएको थियो तर फ्रेन्च सर्जन एलेन कार्पेन्टियरले २५ वर्ष अगाडिदेखि कृत्रिम मुटु निर्माण गर्न सुरु गरेका हुन् । कम्पनीका अहिले झन्डै १९० कर्मचारीहरु छन् र यसले ३० करोड डलर बराबर आर्थिक सहयोग पनि प्राप्त गरिसकेको छ ।
इम्पेरियल कलेज लन्डनका प्रोफेसर मार्टिन कोवीका अनुसार वैज्ञानिकहरुले दशकौँदेखि पूर्ण रुपमा मुटुलाई प्रतिस्थापन गर्ने मेकानिकल पम्प निर्माण गर्ने प्रयास गर्दै आएका छन् ।
तर विगतका कोशिशहरुमा डिभाइसले बिरामीमा स्ट्रोक, रगत जम्ने, संक्रमण जस्ता समस्या बारम्बार गराउने गरेको पाइएको थियो । कर्मटले प्रयोग गरेका सामग्रीले यो विषयमा सहि दिशा दिलाउन सक्ने उनले बताए ।
मुटु सम्बन्धी रागको प्राविधिक बजार २०३० सम्म ४० अर्ब डलर पुग्ने मार्केट रिसर्च कम्पनी ‘आइडीटेकएक्स’ को प्रक्षेपण रहेको छ । यस किसिमका पूर्ण कृत्रिम मुटु अहिले निर्माणको प्रक्रियामै छन् र हाल बजारमा उपलब्ध एक मात्र डिभाइस भनेको एरिजोनामा आधारित सिकार्डिआ कम्पनीको क्रितृम मुटु हो । तर यसको धड्कन गति ‘फिक्स्ड’ या निश्चित हुन्छ अनि यो बिरामीको शारीरिक गतिविधिअनुसार समायोजन हुँदैन ।
अर्को फ्रेन्च कम्पनी, कोरवेभले पनि मुटु फेल हुनेहका लागि भनेर डिभाइस निर्माण गरेको छ । त्यसले मुटुका चार च्याम्बरमध्ये एउटाबाट रगत पम्प गर्न मद्दत गर्छ तर पूरै मुटुलाई चाहिँ प्रतिस्थापन गर्न सक्दैन ।
कम्पनीका प्रमुख लिअर्सका अनुसार कोरवेभले ९ करोड ६० लाख डलर बराबरको आर्थिक सहयोग सुनिश्चित गरिसकेको छ जसमा १ करोड ७९ लाख युरोपेली कमिसनबाट आएको हो । यसले अहिले युरोप र अमेरिकामा ट्रायल गर्ने तयारी पनि गरिरहेको छ । मुटुको एउटा च्याम्बरबाट रगत पप्म गर्ने डिभाइसहरु बजारमा प्रशस्तै छन् तर कोरवेभले यसमा नयाँ प्रविधिको प्रयोग गर्दै आएको लिअर्स बताउँछन् । यसले डिभाइसलाई बिरामीको शारीरिक गतिविधिसँग अनुकूल भएर काम गर्ने गरेको उनले बताए । लिअर्स भन्छन्, “यसबाट हामीले बिरामीको गतिविधिको ट्रयाक राख्न सक्छौँ र त्यसै अनुसार बिरामीको आवश्यकतालाई हेरेर रगतको बहाव नियन्त्रण गर्न सक्छौँ ।”
कर्मट र कोरवेभ दुवैले सुरुवातमा आफ्ना डिभाइसलाई प्रत्यारोपणको पर्खाइमा रहेका बिरामीको अस्थाइ मुटुको रुपमा प्रचार गर्ने भएपनि दुवैको दिर्गकालीन लक्ष्य भनेको डिभाइसलाई स्थाइ रुपमा प्रयोग गर्न मिल्ने बनाउनु हो । पिआत भन्छिन्, “हाम्रो दृष्टि भनेको डिभाइसलाई आजीवन प्रयोग गर्न सकिने बनाउनु हो । तर यसका लागि लामो समयको डाटा संकलन गर्नुपर्ने हुन्छ र धेरै समय लाग्न सक्छ ।”
यसले धेरै मानिसहरुलाई फाइदा पुग्ने कोवी बताउँछन् । उनी भन्छन्, “कुनै समय हामी, बिरामीलाई विश्वासका साथ उनीहरुले प्राप्त गर्ने मेकानिकल पम्प, प्रत्यारोपण जत्तिकै प्रभावकारी र राम्रो हुनेछ भन्न सकिने स्तरमा पुग्नेछौँ ।” सीएनएनबाट
प्रतिक्रिया