मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ पुस्ता उदाउने डरले दबाबमा कांग्रेस शीर्ष नेता

नयाँ पुस्ता उदाउने डरले दबाबमा कांग्रेस शीर्ष नेता


काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेता उमेर पुस्ताको दोहोरो चापमा पर्दा सभापति पदका आकांक्षीको भीड लागेको छ। एकातर्फ बढ्दो उमेर र अर्कोतर्फ नयाँ पुस्ता १४ औं महाधिवेशनबाट उदाउने डरले शीर्ष नेता दबाबमा देखिएका हुन्। जसका कारण सभापति पदमा ७० वर्षमाथिको उमेर समूह र ७० वर्ष नजिकको उमेर समूहका नेताहरुले आकांक्षा देखाइरहेका छन्।

सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकाल पार्टी नेतृत्व लिन तयारी स्वरुप नेता कार्यकर्तासँग सुझाव लिइरहेका छन्। उनी मात्रै होइन उपसभापति विमलेन्द्र निधिले पनि सभापति लड्ने गृहकार्य थालेका छन्। महाधिवेशन भदौमा हुँदै छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, सुजता कोइराला, गोपालमान श्रेष्ठ, शेखर कोइराला लगायतले पनि सभापति पदमा लड्ने  तयारी गरिरहेका छन्।  

कांग्रेसको संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठले सभापति दाबी गरिरहँदा इतर समूहका १० भन्दा बढीले आकांक्षा देखाएका छन्। लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा हुनु र त्यसमा भाग लिनु सामान्य हो। तर पनि सभापति पदमा यति धेरै आकांक्षी देखिनुको अर्थ के? राजनीतिक विश्लेषक डा. विष्णु दाहाल भन्छन्– ‘रिङआउटको डर।’  

उनी प्रस्ट्याउँछन्, ‘अहिले ज–जसले आफूलाई सभापतिको उम्मेदवारका लागि प्रस्तुत गर्नुभएको छ। उहाँहरुलाई उमेरको डर छ। अबको पाँच वर्षपछि उहाँहरु उमेरका कारणले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आउन सक्छ। त्यसैले अन्तिम पटक जोड गरौं न त भने जस्तो देखिन्छ।’ 

सभापति देउवासहित वरिष्ठ नेता पौडेल, रामशरण महत, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी गरी पाँचजना सभापतिका आकांक्षी ७० वर्ष कटिसकेका नेता हुन्। उपसभापति विमलेन्द्र निधि, महामन्त्री  डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला र सुजाता कोइराला ७० आसपासमा छन्। युवा नेतृत्वको बहस, युवाको तयारी र उमेरका कारण उनीहरुले १४ औं महाधिवेशनबाटै नेतृत्वमा पुग्ने प्रयासमा छन्। यद्यपि सबै आकांक्षी चुनावी मैदानमा उत्रने सम्भावना कमै छ। 

कांग्रेसको संस्थापकहरुको पुस्ता जीवित छैन। अहिले कांग्रेसको नेतृत्व गरिरहेका सभापति देउवा, वरिष्ठ नेता पौडेल नेविसंघको संस्थापक पुस्ता हुन्। निधि र सिंहको पुस्ता ०३६ सालको हो भने बालकृष्ण खाँडहरु ०४६ सालका हुन्। गगन थापाहरु  ६२÷०६२ सालका हुन्।  यसरी अहिले कांग्रेसमा चार पुस्ता सक्रिय छ। तर नेतृत्वका लागि पहिलो र दोस्रो पुस्ता नै अग्रसर देखिन्छ।

यहाँ पुस्ताको जाम लागेको छ। पार्टीमा नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्न हाम्रो पुस्ताले सोच्नुपर्छ। त्यसकारण मैले  सभापति लड्छु भनेको हुँ। १५ औं महाधिवेशन मभन्दा पछिको पुस्ताका लागि हो। – उपसभापति विमलेन्द्र निधि

कांग्रेसको नेतृत्व नेविसंघको संस्थापक पुस्ताले गरिरहेको छ। त्यसपछिको तीन पुस्ता पुस्ता जाम भएर बसेको छ। त्यस कारण पनि यसपटक धेरै नेताहरुले पार्टी नेतृत्व दाबी गरिरहेका छन्। ६२/६३ को पुस्ताले नेतृत्वको दाबी गर्न थालिसकेको अवस्थामा त्यो भन्दा अघिल्ला दुई पुस्ताका नेताहरुले १४ औं महाधिवेशनमा नेतृत्वमा पुग्नैपर्ने दबाब छ। १५ औं महाधिवेशनमा ६३ सालको पुस्ताले नेतृत्वका लागि जबरजस्त दाबी प्रस्तुत गर्ने आँकलन उनीहरुको छ।  

सभापतिका आकांक्षी निधि कांग्रेसमा पुस्ताको जाम लागेकाले आफू सभापतिको आकांक्षी भएको बताउँछन्। ‘म अहिले ६६ वर्षको भएँ। १५ औं महाधिवेशन हुँदा ७० वर्ष कटिसकेको हुन्छु। कांग्रेसमा हजुरबुबा मात्र होइन, हजुरबुबादेखि नाति पुस्तासम्म सँगसँगै छ,’ उनी भन्छन्, ‘यहाँ पुस्ताको जाम लागेको छ। पार्टीमा नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्न हाम्रो पुस्ताले सोच्नुपर्छ। त्यसकारण मैले यो महाधिवेशनमा सभापति लड्छु भनेको हुँ। १५ औं महाधिवेशन मभन्दा पछिको पुस्ताका लागि हो।’

विश्लेषक दाहाल उमेरभन्दा पनि विचारको पुस्तान्तरण हुनुपर्ने बताउँछन्। ‘६० छेउछाउका नेताहरुले यस पटक आए आँप गए झटारोको नीति लिएका छन्।  कांग्रेसमा उमेरको भन्दा विचारको पुस्तान्तरण आवश्यक छ,’ उनी भन्छन्, ‘युवा भनिएका नेताहरु गुटको सेल्टरमा छन्। उनीहरुले नवीन विचार लिएर नेतृत्वमा पुग्ने प्रयास गर्नुपर्छ। यसो भन्दै गर्दा नयाँ र समसापेक्ष विचार लिएर कोही आउँछ भने ७५ वर्षकै भए पनि केही फरक पर्दैन।’ 
 

विधान पनि रिङआउटको खड्को

संशोधित विधानअनुसार पनि १४ औं महाधिवेशनमा धेरै नेता रिङआउट हुने खतरा छ। ८५ सदस्यीय केन्द्रीय समितिमा यसअघि ६४ सदस्यको निर्वाचन हुन्थ्यो। तर, संशोधित विधानअनुसार केन्द्रीय समिति १६९ सदस्यीय हुनेछ। त्यसमध्ये समावेशी प्रतिनिधित्वका आधारमा ३३ जना मनोनीत हुनेछन्। एक सय ३६ सदस्य निर्वाचित हुनुपर्नेछ। 

‘यसअघि जस्तो हारे पनि मनोनीत हुने सम्भावना छैन। युवाले हारे पाँच वर्ष पर्खिएलान्, तर पाका नेता सधैंका लागि रिङआउट हुने सम्भावना छ। उमेर र स्वास्थ्य उनीहरुका लागि अर्को महाधिवेशनमा प्रतिस्पर्धा गर्न बाधक हुन सक्छ।’

कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारी निर्वाचित हुने व्यवस्था छ। पदाधिकारीमा वरिष्ठ नेताहरु प्रतिस्पर्धामा उत्रन्छन्। जसका कारण पदाधिकारीमा पराजित हुनेहरु ५ वर्षका लागि रिङआउट हुनुपर्नेछ। ३३ जना मनोनीत गर्ने व्यवस्था छ। तर, त्यो प्रतिनिधित्वका आधारमा मनोनीत हुनेछन्। यसअघि जस्तो पराजित हुँदा मनोनीत हुने सम्भावना नरहेकाले धेरै नेता रिङआउट हुने खतरा छ। 

‘यसअघि जस्तो हारे पनि मनोनीत हुने सम्भावना छैन। युवाले हारे पाँच वर्ष पर्खिएलान्, तर पाका नेताहरु सधैंका लागि रिङआउट हुने सम्भावना छ,’ दाहाल भन्छन्, ‘उमेर र स्वास्थ्य उनीहरुका लागि अर्को महाधिवेशनमा प्रतिस्पर्धा गर्न बाधक हुन सक्छ। विधानको यो व्यवस्थाले पार्टीमा नयाँ पुस्ताले ठाँउ पाउनेछन्।’

नेताहरु भन्छन्– नयाँ पुस्ता भनेर गलत प्रचार गरियो 

पुस्तान्तरण र नेतृत्वको हस्तान्तरणको बहसलाई सभापतिका आकांक्षीहरू भने ठाडै अस्वीकार गर्छन्। पार्टीको नेतृत्व गर्न उमेर प्राथमिक विषय नभएको उनीहरुको जिकिर छ। विचार र नीतिले पार्टी सञ्चालन हुने भएकाले उमेरले खासै अर्थ नराख्ने दाबी उनीहरुको छ।  

‘म शेरबहादुरसँग सती जानुपर्ने, उहाँ हट्दा म पनि बडारिनुपर्ने कुनै कारण छ? कार्यकर्ताले मूल्यांकन गर्ने अवसर पाउनुपर्छ नि। मिडियाले नयाँ पुस्ता भन्ने फोबिया चलाइदिएको छ। त्यो सबै झुठ कुरा हो,’ वरिष्ठ नेता पौडेल भन्छन्, ‘हाम्रो पार्टीमा पुरानो पुस्ता पनि सत्य हो र नयाँ पुस्ता पनि। दुवै पुस्ताको फ्युजन आजको आवश्यकता हो।’

म शेरबहादुरसँग सती जानुपर्ने, उहाँ हट्दा म पनि बडारिनुपर्ने कुनै कारण छ? कार्यकर्ताले मूल्यांकन गर्ने अवसर पाउनुपर्छ नि। मिडियाले नयाँ पुस्ता भन्ने फोबिया चलाइदिएको छ। त्यो सबै झुठ हो। -वरिष्ठ नेता रामचन्द्र पौडेल

नेता सिंह उमेरको प्रेसरका कारण सभापतिका आकांक्षी नबनेको बताउँछन्। अन्य नेताहरु पनि त्यो प्रेसरमा नभएको उनको भनाइ छ। ‘राजनीतिमा उमेरले केही गर्दैन। उमेर ९० वर्ष भएकाहरुले नेतृत्व गरेको पनि देखेकै छौं। सबै कुरा स्वास्थ्यमा निर्भर हुन्छ। युवा छ, तर रोगी भयो भने त्यसले पनि त काम गर्न सक्दैन नि,’ उनी भन्छन्, ‘उमेरले होइन, विचार र पार्टी सञ्चालन गर्ने तरिका, समयको मागअनुसार आफूलाई परिवर्तन गर्ने नेतृत्व जीवन्त रहन्छ।’ 

सभापति पदका सबै आकांक्षीमा आफू नेतृत्व गर्न सक्षम भइसकेको लागेकाले दाबी गरेको हुन सक्ने उनको भनाइ छ। ‘उमेरको प्रेसरले होइन आफू सक्षम भइसकें भन्ने सबैले आकांक्षा देखाउनुभएको हुन सक्छ,’ नेता सिंह भन्छन्, ‘म ग्रासरुटदेखि आएको व्यक्ति हुँ। पार्टीको महामन्त्री, उपसपभाति बनेर काम गरिसकें। त्यसैले म सभापतिको नेचुरल क्यान्डिडेट हो।’

सभापतिका आकांक्षी अर्जुननरसिंह केसी विचार र सिद्धान्तका अघि उमेर एक अंक मात्रै भएको टिप्पणी गर्छन्। ‘अमेरिकामा ७८ वर्षीय जो बाइडनले नेतृत्व गरेका छन्, हामीले देखेका छौं,’ उनी भन्छन्, ‘उमेर र पुस्ताको कुरा होइन विचारको कुरा हो। समयसापेक्ष र सही विचार भएको नेतृत्व पार्टीका लागि आवश्यक छ। – नेपालसमय