मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको विश्वकप छनोट यात्रा र तितामिठा कुरा

नेपालको विश्वकप छनोट यात्रा र तितामिठा कुरा


काठमाडौं- फिफा विश्वकप २०२२ को छनोट सुरु भएयता फरकफरक तीन प्रशिक्षकले नेपालको राष्ट्रिय फुटबल टिम सम्हालेका छन्।

सन् २०१९ को सेप्टेम्बर ९ तारिखमा नेपालले कुवेतसँग छनोट (दोस्रो चरणको) पहिलो खेल खेल्दा नेपाली टिमका प्रशिक्षक थिए, स्विडेनका योहान कालीन। उनको योजनामा नेपालले कुवेतको जबेर अल–अहमद रंगशालामा छनोट सुरु गरेको थियो।

कुवेत सिटीबाट सुरु भएको यात्रा गएको शुक्रबार राति कुवेतसिटीमै सकिएको छ। यसबीच नेपाली फुटबलमा धेरै परिवर्तन देखिए। फरक प्रशिक्षकको फरक रणनीतिमा नेपाली फुटबल चल्यो। धेरै युवा खेलाडीले अवसर पाए भने समग्रमा खेल सुधारिँदै गएको विश्लेषण गरिएको छ।

विश्वकप २०२२ छनोटमा नेपाली टिमको यात्रा

कुवेत–नेपाल पहिलो लेग : ७-० गोलको हार

छनोटको पहिलो खेलमा नेपालले ठूलो हार व्यहोरेको थियो। त्यसले नेपाली टिमको आगमी यात्रा निकै कठिन भएको देखाउँथ्यो। कुवेतको गर्मीमा नेपाली खेलाडीले त्यहाँको घरेलु टिमविरुद्ध पहिलो हाफमा त सम्मानजनक प्रदर्शन गरेका थिए। तर दोस्रो हाफमा पनि लय पक्रनै सकेनन्। पहिलो हाफमा दुई गोल सामना गरेको नेपालले दोस्रो हाफमा ५ गोल खायो। 

कुवेतसँग खेलेको ५ दिनपछि नेपाली टिम छनोटको अर्को खेल खेल्न चाइनिज ताईपेई पुगेको थियो। २०१९ को सेम्टेम्बर १० तारिखमा। त्यहाँ भने नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो।

कुवेतका लागि युसुफ नासरले छैटौं र ५०औं मिनेटमा गोल गरेका थिए। त्यस्तै फहद अल हजारी, अब्दुल्लाह मावी, बदर अल–मुतवा, रेधा अबुजाबरह र हुसैन अल–मुसावीले नेपाली टिमलाई थप पछि पार्न एकएक गोलको योगदान गरेका थिए।

चाइनिज ताइपेइ–नेपाल : ०-२ गोलको जित

कुवेतसँग खेलेको ५ दिनपछि नेपाली टिम छनोटका अर्को खेल खेल्न चाइनिज ताईपेई पुगेको थियो। २०१९ को सेम्टेम्बर १० तारिखमा। त्यहाँ भने नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो। ताइपेई रंगशालामा सम्पन्न पहिलो लेगको तेस्रो मिनेटमै अन्जन विष्टले हेडमार्फत् गोल गरेका थिए। अतः छनोटमा नेपालले पहिलो गोल गर्‍यो। ताइपेईको घरेलु समर्थकमाझ नेपालले अग्रता बनाएको थियो।

पहिलो हाफमा एक गोलले अघि रहेको नेपालले दोस्रो हाफमा अर्को गोल थप्यो। खेलको ६३औं मिनेटमा विष्टले नै गोल गर्दै अग्रतालाई दोब्बर बनाए। ठूलो टिमसँग रक्षात्मक खेल्न बानी परेको नेपालले ताइपेईविरुद्ध क्लिन सिट राख्यो। छनोटमा नेपालले पहिलो जित निकाल्यो।

अष्ट्रेलिया–नेपाल पहिलो लेग : ५-० गोलले पराजित

१७०औं फिफा वरीयतामा रहेको नेपाललाई हराउन ४१औं वरीयतामा भएको टिमलाई उति साह्रो परेन। अष्ट्रेलियाको घरेलु मैदानमा उसका ज्यामी म्याकलरेनले छैटौं, १९औं र अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक नै गरेका थिए। त्यस्तै, ह्यारी सुट्टरले २३औं मिनेटमा गोल गरेको खेलमा नेपालका दिनेश राजवंशीले ५९औं मिनेटमा आत्मघाती गोल गर्न पुगे।
२०१९ अक्टोबर १० तारिखको त्यो खेलले नेपाललाई कमजोर सावित गरिदियो।

जोर्डन-नेपाल पहिलो लेग : ३-० गोलले पराजित

जोर्डनविरुद्धको खेलमा उत्कृष्ट डिफेन्स गर्दै पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सके पनि दोस्रो हाफमा त्यो दोहोरिएन। जोर्डनको अम्मनमा सम्पन्न खेलको ५६औं मिनेटमा पेनाल्टीमा गोल गर्दै जोर्डनका फिरास शिल्बयले सुरुआती अग्रता बनाएका थिए। ७८ मिनेटमा मोहम्मद अल डिमइराईको पासमा अहमद एर्सिनले दोस्रो गोल गरे।

अन्तिम मिनेटमा डिमराईकै पासमा बाह फैजलले अन्तिम गोल गरे। नेपालको तर्फबाट कुनै प्रहार पोस्ट भित्र छिर्न सकेन। अष्ट्रेलियासँग हार बेहोरेको पाँच दिनपछि नेपाली टिमले अर्को हार व्यहोरेको थियो।

नेपालले एक मात्र जित निकालेर पहिलो लेगको सबै खेल सकिए। नेपालले १५ गोलको सामना गरेको थियो भने र दुई गोल गर्न सफल भएको थियो। 

दोस्रो लेग

नेपाल–कुवेत : ०-१ गोलको हार

नेपालमा दशरथ रंगशाला तयार भइसकेको थिएन। सागको लागि तयार हुँदै थियो। त्यो रंगशालामा खेल्न एएफसीले दिएन। होम गेम खेल्न अन्य रंगशाला पनि उपयुक्त थिएन।

कुवेतले नेपाललाई अर्को खेलमा पनि आफ्नै देशमा खेल्न प्रस्तव गर्‍यो, नेपालले मानेन। खेल भुटानमा आयोजना गरियो। र, नेपालले ०–१ गोलअन्तरको हार व्यहोरेको थियो। २०१९ नोभेम्बरको त्यो खेलमा कुवेतका बडर अल मुतवाले २८औं मिनेटमा गोल गरेका थिए।

खेलमा सुधारिएको प्रदर्शन गरेको प्रशिक्षक योहान कालिनले बताएका थिए। त्यो नै प्रशिक्षक कालिनले खेलाएको अन्तिम खेल हुन पुग्यो।

नेपाल–चाइनिज ताइपेई : २-० गोलको जित

कुवेतविरुद्धको खेलेको १९ महिनापछि नेपालले छनोटको अर्को खेल खेल्यो। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा। महामारीले प्रतियोगिता तीन पटक स्थगित भएर अन्तिममा कुवेत नै पुगेको थियो। पहिलो खेलमा नेपालले ताइपेईलाई फेरि हरायो। पहिलो हाफमै पेनाल्टीको अवसर पाएको नेपालले तेस्रो मिनेटमा अग्रता बनायो।

अल्मुताइरीको प्रशिक्षणमा नेपालले सुधारिएको प्रदर्शन गरेको छ। केही अनुभवी खेलाडीबाहेक युवा खेलाडी लिएर गएको जेठ ११ गते खाडी देश इराक पुगेका प्रशिक्षकले चार खेलमा नेपालको प्रदर्शनलाई सुधारोन्मुख बनाएका छन्।

अग्रताका लागि अन्जन विष्टले गोल गरे। त्यस्तै, दोस्रो गोल फरवार्ड नवयुग श्रेष्ठले गरे। जितको मानसिकताका साथ मैदान छिरेपछि जित निकाल्न गाह्रो नहुने विष्टले खेलपछि प्रतिक्रिया दिएका थिए।

नेपाल–जोर्डन : ०-३ गोलले पराजित

पहिलो लेगमा जस्तै, दोस्रो लेगमा पनि जोर्डनले पेनाल्टीमा अग्रता बनायो। पहिलो हाफ जोर्डनलाई बराबरीमा रोक्दै दोस्रो हाफमा आक्रामक मुभ बनाउने प्रयास गरेको नेपालविरुद्ध जोर्डनले ०–३ गोलअन्तरको जित निकाल्यो। जोर्डनका लागि बाह फैजलले पहिलो हाफ र दोस्रो हाफमा एक–एक गोल गरे भने यजन अल–अरबले दोस्रो हाफमा गोल गरे।

पहिलो हाफमा पाएको पेनाल्टीले खेलको नजिता र नेपालको प्रदर्शनमा असर गरेको प्रशिक्षक अलुमताइरीको ठहर रह्यो।

नेपाल–अष्ट्रेलिया दोस्रो लेग : ०-३ गोलको हार

छनोटको अन्तिम खेल नेपालले अष्ट्रेलियासँग खेल्यो। कुवेतको जबेर अल–अल अहमद रंगशालामा। त्यही रंगशालामा सम्पन्न पछिल्लो दुई खेलमा नेपालले एक जित र हार बेहोरेको थियो।

अष्ट्रेलियाविरुद्ध सुधारिएको प्रदर्शन गरेको नेपालले ०-३ गोलको हार व्यहोर्यो। पहिलो लेगको तुलनामा दुई गोल थोरै व्यहोर्‍यो। अष्ट्रेलियाका माथ्यु लेखी, फ्रान कारासिच र मार्टिन बोएलले गोल गरे। नेपाली किल्लामा लगातार प्रहार गरेका अष्ट्रेलियाका बाँकि प्रहार भने गोलकिपर किरण चेम्जोङले निस्तेज गर्न सफल रहे। यता नेपालका भरपर्दा डिफेन्डर रोहित चन्दले चाहिँ पहिलो हाफको अन्तिममा रातो कार्ड पाए।

समग्रमा, विश्वकप छनोटको समूह बीमा नेपालसहित ५ टिम थिए। जहाँ नेपाल चौथो स्थानमा रहन सफल भयो। ८ खेलमध्ये दुई खेलमा जित निकाल्दा बाँकी खेलमा हार व्यहोरेको थियो। समूह बीमा नेपालबाहेक सबैले सात खेल खेलेका छन्। एक खेल बाँकी रहँदा अष्ट्रेलिया शतप्रतिशत जितसहित शीर्षस्थानमा छ।

समान ७ खेलबाट १४ अंक बनाएको जोर्डन दोस्रो र ११ अंक बनाएको कुवेत तेस्रो स्थानमा छ। कुनै खेलमा जित निकाल्न नसकेको चाइनिज ताइपेई भने पुछारमा रह्यो। छनोट अवधिभर नेपालले चार गोल गर्यो भने २२ गोलको सामना गर्‍यो।

विश्वकप छनोटको यात्रा नेपालको लागि टुंगिए पनि एसिया कप छनोटसम्म पुग्ने नेपालको बाटो अझै सुरक्षित छ। अब सेप्टेम्बरमा हुने प्लेअफमा जित निकालेर नेपाल एसिया कपको छनोटमा पुग्न सक्नेछ।

छनोटका तीतामिठा कुरा

कोभिड-१९ को महामारीअघि स्वदेश फर्किएका प्रशिक्षक योहान कालिन उतै रोकिए। कार्यकालको समय बाँकी रहँदै उनले राजीनामा बुझाए। यसले नेपाली फुटबलको प्रशिक्षणमा अस्थिरता पैदा गरेको थियो।

त्यसपछि नेपाली टिम बालगोपाल महर्जनले सम्हाले। उनको प्रशिक्षणमा नेपालले थ्री नेसन्स कप जित्यो। कालीनको भन्दा केही फरक रणनीतिमा मैदानमा देखिएका महर्जनले विश्वकप छनोट भने खेलाउन पाएनन्। यता थ्री नेसन्स कप जित्ने १० खेलाडी मात्र अहिलेका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आँखामा परे।

अल्मुताइरीको प्रशिक्षणमा नेपालले सुधारिएको प्रदर्शन गरेको छ। केही अनुभवी खेलाडीबाहेक युवा खेलाडी लिएर गएको जेठ ११ गते खाडी देश इराक पुगेका प्रशिक्षकले चार खेलमा नेपालको प्रदर्शनलाई सुधारोन्मुख बनाएका छन्। साथै उनले पाँच जना नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलमा डेब्यू गराएका छन्। त्यसमा सम्मिलित एक खेलाडी मनिष डाँगीले त गोल पनि गरेका छन्।

यो छनोटमा सबैभन्दा तीतो कुरा चाहिँ नेपालले कुनै खेल घरेलु मैदानमा खेल्न पाएन। २०७२ सालको भूकम्पले क्षतिग्रत भएपछि दशरथ रंगशाला बन्नुपहिले नेपालले सबै खेल खेलिसक्ने प्रस्ताव राखेको थियो। त्यसपछि पनि समयमा रंगशाला बनेन। 

रंगशाला बनेपछि कोभिडको महामारीको कारण नपाली टिमले घरेलु मैदानमा खेल्न पाएन। घरेलु समर्थकअघि खेल्न नपाउनु दुःखद् बन्यो। जसकारण नेपालले अन्तिममा तीन खेल पनि कुवेतको गर्मीमा खेल्नु परेको थियो।