धनगढी : धनगढीमा आजदेखि सुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डडेल्धुराले विजयी सुरुवात गरेको छ। डिसिए धनगढीलाई ८ विकेटले हराउँदै डडेल्धुराले विजयी सुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ३२ रन बनायो। सुरुवाती विकेट सस्तैमा गुमाएर दबाबमा आएको धनगढीलाई सम्मानजनक योगफलतर्फ पुराउनका लागि अमित श्रेष्ठले सर्वाधिक ३२ रन बनाए। निर्धारित ओभर सकिन दुई बल बाँकी रहँदा आउट भएका अमितले ३२ बलको सामना गर्दै एक छक्का प्रहार गरे। सातौ नम्बरमा ब्याटिङ गर्न आएका निरज ऐरले २७ रन र कप्तान नारायण जोशीले १६ रन बनाए। डडेल्धुराका लागि राहुल लुनियाले ३, कुशल भुर्तेल र रवि विष्टले २र२ तथा हेमन्त धामीले १ विकेट लिए।
धनगढीस्थित फाप्ला मैदानमा १३३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५।५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। डडेल्धुराका लागि कुशल भुर्तेलले अर्धशतक बनाउँदै आफ्नो टीमलाई जित दिलाए। ५१ बलको सामना गरेका उनले ८७ रनको अविजित पारी खेले। यस्तै विनोद भण्डारीले ४२ रन बनाए। धनगढीका ललित राजवंशी र अमित श्रेष्ठले १र१ विकेट लिए। खेलका नवजीव सहकारी संस्था लिमिटेड म्यान अफ द म्याच डडेल्धुराका भुर्तेल भए। उनले नगद १० हजार सहित ट्रफी पाए। प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन्। पहिलो खेलमा सीवाईसी अत्तरिया र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा डिसिए धनगढी र घोडाघोडी–११ सुख्खड प्रतिस्पर्धा गर्नेछन्।
अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् ।
यस्तै समुह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, न्यु होराईजन वुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
प्रतिक्रिया