मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाभाइरसबाट बष्टनका नेपालीमा थप संक्रमण

कोरोनाभाइरसबाट बष्टनका नेपालीमा थप संक्रमण


बष्टन (अमेरिका) । कोरोनाभाइरसबाट अमेरिकाको म्यासाच्यूसेट्स राज्यका विभिन्न सहरमा नेपालीहरुको संक्रमण हुने क्रम बढ्न थालेको छ ।  हालैमात्र कोरोनाभाइरस लागि निको भएका बोष्टनका नेपाली व्यवसायी राम धिताललाई संक्रमित तथा संक्रमणको आशंका लागेकाहरुले रोगबारे जिज्ञासा राख्ने गरेका छन् ।

“समाजमा आफ्नो नाम गोप्य राखिदिन उनीहरुले आग्रह गरेका छन्,” धितालले भने, “कोभिड १९ लागेको अवस्थामा के गर्ने भनेर उनीहरुले मसँग फोनमा सोध्ने गरेका छन् ।”

धिताललाई फोन गर्नेहरु नेपालीहरुको उल्लेख्य बसोबास रहेको नरउड, माल्देन र रोजलिन्डेलका हुन् । धितालले आफूलाई कोरोना लागेको र निको भएको कुरा पहिलोपटक बाह्रखरीसँग आफ्नो अनुभव साटेका थिए ।  उनलाई सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी)का प्रतिनिधिले गतसाता फोन गरी उनको लक्षणहरु नभएपछि कोरोना नभएको बताएका थिए । 

“कोरोना नभए पनि म अरु मानिसजस्तै बाहिर गएको छैन, घरैमा बसिरहेको छु,” धितालले भने ।

म्यासाच्यूसेट्समा कोभिड १९ संक्रमणको दर न्यूयोर्क जस्तै भएको भनिएको सहर चेल्सीमा पनि धेरै नेपाली परिवार बस्दछन् । चेल्सीमा करिब २० नेपाली परिवार रहेको अनुमान गरिएको छ । 

चेल्सी सिटीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १९ रहेको छ भने त्यो सानो सहरमा कुल ५ सय ४१ लाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।  सानो सहरमा धेरै व्यक्तिलाई कोरोना लागेका कारण उक्त सहरका सबै व्यक्तिलाई अनिवार्य आइसोलेसनमा राखिएको सिटीले जनाएको छ ।

म्यासाच्यूसेट्स गभर्नर चार्ली बेकरले कोभिड १९ पोजेटिभ देखिएका तथा परिवारमा छुट्टै बस्ने ठाउँ नहुनेहरुका लागि चेल्सी र रिभियरमा विशेष व्यवस्था गरिने बताए ।  उनले कोरोनाबाट सबैभन्दा धेरै प्रभावित रहेको चेल्सीका लागि राज्यको तर्फबाट विशेष सहयोग गरिने स्थानीय च्यानलहरुबाट प्रसारित प्रत्यक्ष ब्रिफिङ्मा सोमबार बताएका छन् ।

म्यासाच्यूसेट्स राज्यमा कोरोना भाइरस लागेर ८ सय ४४ जनाको मृत्यू भएको छ भने कूल संक्रमितको सँख्या २६ हजार ८ सय ६७ रहेको छ ।