मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘दुर्गमको पीडा : उपचार पाउन जीवनसँगको संघर्ष’

‘दुर्गमको पीडा : उपचार पाउन जीवनसँगको संघर्ष’

सुदूर कर्दुणालीका नागरिकको एकमात्र भरोसा बयालपाटा


अछाम : मानव विकास सूचकाङ्कका आधारमा देशकै पछाडि पर्ने प्रदेशमध्ये कर्णाली प्रदेश अग्रस्थानमा छ। त्यसमाथि हुम्ला जिल्ला पुछारबाट देशकै चौथो स्थानमा छ, जहाँ सडक, शिक्षा र स्वास्थ्य सेवाको सहज पहुँच अझै पनि अधिकांश नागरिकका लागि सपना जस्तै छ। यहाँ बिरामी पर्नु वा दुर्घटनामा पर्नु केवल स्वास्थ्य समस्या मात्र होइन, जीवन र मृत्युबीचको संघर्ष हो।

आर्थिक रूपमा सक्षम परिवारले मौसम अनुकूल हुँदा हवाईजहाजमार्फत सुर्खेत वा नेपालगञ्ज पुगेर उपचार गराउन सक्छन्। तर गरिबीसँग संघर्ष गरिरहेका अधिकांश परिवारका लागि त्यो अवसर आकाशको फलसरह हुन्छ। सामान्य उपचारका लागि समेत एक/दुई दिन पैदल हिँडेर सदरमुकाम सिमकोट पुग्नुपर्ने बाध्यता आज पनि हुम्लाका नागरिकले भोगिरहेका छन्।

जटिल प्रकृतिका बिरामीका लागि दुईवटामध्ये एक मात्र विकल्प हुन्छ, समयमै जिल्ला बाहिर पुगेर उपचार पाउने आशा, नभए उपचारको अभावमा मृत्युलाई पर्खिने । हुम्लासहित नेपालका अधिकांश दुर्गम जिल्लाका नागरिकको यथार्थ यही हो।

यस्तै यथार्थ बोकेका पात्र हुन् हुम्लाको खार्पुनाथ गाउँपालिका–५, ताक्ला गाउँका ३१ वर्षीय गोरख कामी। करिब १० दिनअघि आफ्नै घर निर्माणका क्रममा काठ चिर्ने मेसिन अचानक फर्किँदा गोरखको दाहिने हात गम्भीर रूपमा काटियो। विडम्बना, दुर्घटनापछि उनलाई अस्पताल पुर्‍याउनेसमेत घरमा कोही थिएन। घरमा श्रीमती र पाँच जना साना छोराछोरी—तीन छोरी र दुई छोरा—मात्र थिए। छिमेकी गाउँबाट उनका साढुभाइ रमेश विश्वकर्मा एक दिन लगाएर गोरखलाई जिल्ला अस्पताल हुम्लासम्म पुर्‍याए।

रमेश भन्छन, “जिल्ला अस्पतालका डाक्टरले हातका नसा काटिएकाले यहाँ उपचार सम्भव छैन, बयालपाटा लैजानुपर्छ भनेर रिफर गर्नुभयो।” तर रिफर भएपछि अर्को ठूलो समस्या सुरु भयो—बयालपाटा कसरी पुग्ने?

उपचार त परको कुरा, त्यहाँसम्म पुग्ने खर्चसमेत गोरखसँग थिएन। आर्थिक अवस्था कमजोर भएका उनको परिवार खेतीपातीमै निर्भर छ, जसबाट वर्षभरि परिवारको गुजारा चलाउनसमेत मुस्किल पर्छ।

रमेश भन्छन्, “गाउँका छिमेकीहरूले आर्थिक सहयोग नगरेका भए साढुदाइलाई यहाँसम्म ल्याउन सकिने थिएन।”

छिमेकीहरुले सहयोग गरेपछी एक दिन पैदल यात्रा, त्यसपछि दुई वटा सवारी साधन परिवर्तन गर्दै चार दिनको कठिन यात्रा पछि गोरख बयालपाटा प्रादेशिक अस्पताल पुगे। त्यहाँसम्म पुग्दा मात्रै करिब ३५ हजार रुपैयाँभन्दा बढी खर्च भइसकेको थियो।

समयमै भयो सफल शल्यक्रिया

बयालपाटा प्रादेशिक अस्पताल पुगेपछि गोरखको काटिएको हातको सफल शल्यक्रिया सम्पन्न भयो। शल्यक्रियाको नेतृत्व गरेका बयालपाटा प्रादेशिक अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. विश्वबन्धु निरौलाका अनुसार मेसिनले काट्दा गोरखको दाहिने हातको नाडीमा गम्भीर चोट लागेको थियो।

“उहाँको नाडीमा गहिरो घाउ थियो। हात चलाउन सहयोग गर्ने महत्वपूर्ण टेन्डन (Extensor Tendon तथा Brachioradialis Tendon) मा क्षति पुगेको थियो भने हड्डीमा पनि चोट देखिएको थियो,” डा. निरौलाले बताए।

उनका अनुसार यस्ता खुला घाउ तथा टेन्डनमा भएको चोट लामो समयसम्म उपचारविहीन रहँदा संक्रमण हुने र हातको कार्यक्षमतामा दीर्घकालीन असर पर्ने जोखिम अत्यधिक हुन्छ।

“उहाँको तत्काल घाउ सफा गर्ने शल्यक्रिया (Debridement) तथा क्षतिग्रस्त टेन्डन मर्मत (Tendon Repair) सफलतापूर्वक सम्पन्न गरिएको हो,” उनले जानकारी दिए। शल्यक्रियापछि चार दिनसम्म नियमित घाउको निरीक्षण, औषधि उपचार तथा आवश्यक निगरानीपछि गोरखलाई घर फर्काइएको छ।

दुर्गम क्षेत्रबाट आएका बिरामी भएकाले घर फर्किएपछि पनि उपचारमा कुनै अवरोध नहोस् भनेर टेलिफोनमार्फत नियमित परामर्श दिने व्यवस्था गरिएको डा. निरौलाले बताए। “अब करिब चार हप्तासम्म हातलाई सुरक्षित राख्नुपर्छ। त्यसपछि विस्तारै हात चलाउने अभ्यास सुरु गराइनेछ,” उनले भने।

यस्तो खालका अप्रेशन दुर्गम ठाउँमा सम्भव पार्न कठिन छ, बयालपाटामा पनि सिमित श्रोत साधन छ, डा. निरौला भन्छन, ठुला शहर जहाँ सबै श्रोत साधनको पहुँच छ त्यहाँ रेफेर गर्नु पर्ने केश भएपनि बिरामी संग अर्को बिकल्प नभई यहाँ आइसकेपछि हामीले सक्दो प्रयास गर्ने हो ।

डा. बिश्वबन्धु निरौलाले एक बर्षको अवधिमा करिब ५०० बढी हाडजोर्नीका ठुला शल्यक्रिया गरिसकेका छन् बयालपाटामा । गत श्रावण महिना देखि अछाम आएका डा. निरौलाले अछाम जस्तो दुर्गम जिल्लामा असम्भव जस्तै मानिने १० भन्दा बढी जटिल खालका शल्यक्रिया समेत सफलतापूर्वक गरेका छन् ।

हाडजोर्नी बिशेषज्ञ समेत रहेका बयालपाटा प्रादेशिक अस्पतालका कार्यकारी निर्देशक डा. मन्दिप पाठककै आग्रहमा डा. निरौला अछाम आईपुगेका थिए । करिब १० बर्ष बढी समय देखि अछामममै रहेका डा. पाठकका प्रेरणाका श्रोत अर्थोपेडिक सर्जन डा. भाष्करराज पन्त थिए भने डा. निरौलाका प्रेरणाका श्रोत डा. पाठक हुन् ।

मुस्कानसहित घर फर्किए गोरख

चार दिनको अस्पताल बसाइपछि आफ्नो हात बचेकोमा गोरख कामी निकै खुसी छन्। छिट्टै पूर्ण रूपमा निको हुने आशासहित उनले अस्पताल र उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै घर फर्किएका छन्।

छन गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी भन्ने उख्खानले गोरखको अवस्थालाई चरितार्थ गर्दछ् । गोरखको हात संग उनका साना छोरा छोरी भबिष्य र श्रीमतीको साहरा जोडिएको छ । गोरखले हात निको हुने मात्रै आश गरेका छैनन् हात सञ्चो भएर पुन काममा फर्किेने अपेक्षा राखेका छन् । यस कारण कि आर्थिक अवस्था कम्जोर भएका गोरखको परिवार उनि माथि निर्भर छ । बर्षभरीको कमाईले उनको परिवारले गुजारा चलाउछ । आफुले काम नगरी घरमा चुलो नबल्ने कुरा गोरखलाई राम्रो संग थाह छ ।

तर गोरखको कथा केवल एक व्यक्तिको कथा होइन। यो नेपालको दुर्गम भूभागका हजारौँ नागरिकले आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न दैनिक भोग्नुपरेको संघर्षको प्रतिनिधि कथा हो।

दुर्गमका नागरिकको एकमात्र भरोसा बयालपाटा

अनेकौँ चुनौतीबीच दुर्गममै रहेको बयालपाटा प्रादेशिक अस्पतालले दुर्गम क्षेत्रका नागरिकलाई सम्भव भएसम्म गुणस्तरीय, सहज र पहुँचयोग्य विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानमा निरन्तर अघि बढिरहेको छ।

विशेषगरी आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले सामाजिक सेवा इकाइ (Social Service Unit) मार्फत उपचार खर्चमा सहुलियत प्रदान गर्दै आएको छ।

गोरख कामीको आर्थिक अवस्था पनि अत्यन्त कमजोर भएकाले अस्पतालले सामाजिक सेवा इकाइमार्फत आवश्यक छुट प्रदान गरेर उपचारलाई सहज बनाएको अस्पताल प्रशासनले जनाएको छ।

दुर्गम भूगोल, कठिन यात्रा, गरिबी र सीमित स्वास्थ्य पहुँचका बीच बयालपाटा प्रादेशिक अस्पताल धेरै नागरिकका लागि केवल अस्पताल मात्र होइन—जीवन बचाउने आशा र भरोसाको केन्द्र बन्दै गएको छ।