टोकियो। नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा छठ पर्व २०८३ को अवसरमा अछाम समाज जापानले टोकियोमा विशेष शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले आगामी सन् २०२६ नोभेम्बर ७ तारिख शनिबार बिहान ११:३० बजेदेखि टोकियोको शिनओकुबोस्थित सोलमारी मुराहलमा कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रममा परम्परागत देउडा खेल, साहित्यिक तथा सांस्कृतिक प्रस्तुति, देउसी–भैलो लगायतका विविध मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ। जापानमा विभिन्न पेसा, व्यवसाय तथा क्षेत्रमा आबद्ध अछामी नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
जन्मभूमि नेपालबाट टाढा रहेर जापानमा आफ्नो कर्मथलो बनाएका अछामीहरूबीच आपसी एकता, भाइचारा, सद्भाव र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ।
विदेशी भूमिको व्यस्त जीवनशैलीबीच आफ्नो मौलिक कला, संस्कृति, भाषा, साहित्य र परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तालाई समेत आफ्नो सांस्कृतिक पहिचानसँग जोड्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। साथै, परदेशमा रहेका नेपालीहरूबीच आपसी सम्बन्ध विस्तार तथा चाडपर्वको खुसी साटासाट गर्ने अवसरसमेत कार्यक्रमले प्रदान गर्ने विश्वास आयोजकको छ।
समाजका सदस्य सचिव नरेश भण्डारीका अनुसार ‘एक चोटीको अछामी, सधैँको अछामी’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै जन्मभूमिबाट टाढा रहे पनि अछामी पहिचान, भाषा, संस्कृति र आपसी आत्मीयतालाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
उनका अनुसार उक्त कार्यक्रमकै अवसरमा अछाम समाज जापानको नयाँ कार्यसमितिसमेत चयन गरिनेछ। उनले जापानमा विभिन्न पेसा, व्यवसाय तथा क्षेत्रमा आबद्ध सम्पूर्ण अछामी दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन र कार्यक्रमलाई भव्य तथा सभ्य बनाउन आग्रह गरेका छन्।
अछाम समाज जापानले जापानमा रहेका सम्पूर्ण अछामीहरूलाई कार्यक्रममा सहभागी भई एकता, सेवा, सद्भाव र सांस्कृतिक पहिचानको उत्सवमा जोडिन हार्दिक निमन्त्रणा गरेको छ ।















प्रतिक्रिया