अछाम : राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य टीका सङ्ग्रौला (ज्वाला) ले अछामका नौ स्थानीय तहमा सञ्चालित विकास योजना तथा आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले जिल्लावासीका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सङ्कलन गर्दै विकास निर्माणको अवस्थाबारे जानकारी लिनुभएको हो।
जिल्लाका नागरिकका समस्या र आवश्यकता प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यसहित सांसद सङ्ग्रौला करिब दुई सातादेखि अछामका विभिन्न गाउँबस्तीमा पुगेर नागरिकसँग छलफल तथा अन्तरक्रियामा सक्रिय रहनुभएको छ। यस क्रममा उहाँले विकास निर्माणका आयोजनाको अवस्था अनुगमन गर्नुका साथै पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय तहका अगुवासँग आन्तरिक छलफलसमेत गर्नुभएको छ।
सांसद सङ्ग्रौलाले पञ्चदेवल विनायक नगरपालिकाको कर्णाली नदी कटान प्रभावित कुजेडा क्षेत्र, तुर्माखाँद गाउँपालिकाको जङ्गलघाट, ढकारी गाउँपालिका, कमलबजार नगरपालिका, मङ्गलसेन नगरपालिका, वान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, साँफेबगर नगरपालिका तथा चौरपाटी गाउँपालिकाका विभिन्न स्थानमा पुगेर विकास योजनाको स्थलगत अवस्था बुझ्नुभएको हो।
अनुगमनका क्रममा उहाँले स्थानीय नागरिक, जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता तथा नागरिक अगुवासँग विकास निर्माणको प्रगति, स्थानीय समस्या र सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई सहज, प्रभावकारी तथा नागरिकमैत्री बनाउने विषयमा छलफल गर्नुभएको थियो।
यस क्रममा बुढीगङ्गा जलविद्युत् आयोजना, साँफेबगर विमानस्थल, पुष्पलाल मध्यपहाडी लोकमार्ग, सेती लोकमार्ग, गैरीटाँड–जङ्गलघाट–चिसापानी सडक, कमलबजार–ढकारी सडक, साँफेबगर–चौरपाटी सडक, अछाम दरबारलगायतका महत्वपूर्ण विकास आयोजनाको अवस्था तथा निर्माण कार्यमा देखिएका समस्या र चुनौतीबारे जानकारी लिनुभएको छ। त्यसैगरी विभिन्न स्थानीय तहमा शिलान्यास भएर पनि निर्माण कार्य अधुरै रहेका स्वास्थ्य भवनलगायतका पूर्वाधार योजनाबारे समेत चासो व्यक्त गर्नुभएको छ।
सांसद सङ्ग्रौलाले अछामका नागरिक लामो समयदेखि विभिन्न समस्या र चुनौतीसँग जुध्दै आएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सकारात्मक सोच, साझा सङ्कल्प र सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।
जनताको दुःख, अभाव र पीडाको अन्त्य गर्दै अछामको समग्र विकासलाई गति दिन आफूले संसद् तथा सरकारका विभिन्न तहमा निरन्तर आवाज उठाउँदै आएको उहाँको भनाइ छ। जनताको चाहना र आवश्यकताअनुसार विकास निर्माणका काम अघि बढाउन तथा सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
उहाँले अछामको विकास र समृद्धिका लागि राजनीतिक दल र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज र सरोकारवाला निकाय एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
“म राजनीति गर्न मात्र होइन, अछामको समग्र विकास र निकासका लागि जनताको प्रतिनिधिका रूपमा संसद्मा पुगेकी हुँ,” उहाँको भनाइ थियो।
जिल्लाका दशवटै स्थानीय तहका नागरिकले भोगिरहेका समस्या, विकासका आवश्यकता र समाधानका लागि सरकारले चाल्नुपर्ने कदमबारे समेत सुझाव सङ्कलन गरिएको सांसद सङ्ग्रौलाको भनाइ छ। सङ्कलित गुनासा तथा सुझावलाई सम्बन्धित निकाय र सरकारसमक्ष पुर्याएर अछामको विकास निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउन पहल गर्ने उहाँको प्रतिबद्धता छ।
अछामका अधुरा आयोजना सम्पन्न गर्ने, विकास निर्माणमा देखिएका अवरोध हटाउने, नागरिकका आधारभूत आवश्यकता सम्बोधन गर्ने तथा जिल्लालाई समृद्धिको बाटोमा अघि बढाउने उद्देश्यले गरिएको यो स्थलगत अनुगमनलाई स्थानीय समस्या र विकासका सवाललाई राष्ट्रिय तहसम्म पुर्याउने प्रयासका रूपमा हेरिएको छ।














प्रतिक्रिया