मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिकाका रूपमा तुर्माखाँद सम्मानित

सुदूरपश्चिमकै उत्कृष्ट गाउँपालिकाका रूपमा तुर्माखाँद सम्मानित


अछाम । विद्यालय शिक्षा तथा समग्र शैक्षिक प्रणालीमा नेतृत्व, गुणस्तर, नवप्रवर्तन, उत्तरदायित्व र उत्कृष्ट अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अछामको तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाका रूपमा सम्मानित भएको छ।

प्रधानाध्यापक संघ नेपाल (Principals Association of Nepal–PAN) को तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा सम्माननीय पूर्वराष्ट्रपति डा. रामवरण यादवले तुर्माखाँद गाउँपालिकालाई उक्त सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो। गाउँपालिकाको प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष डम्बरबहादुर बी.सी.ले सम्मान तथा पुरस्कार ग्रहण गर्नुभएको थियो।

शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, नेतृत्व क्षमता, उपलब्धि, प्रभावकारिता तथा नवप्रवर्तनकारी अभ्यासका आधारमा योग्य स्थानीय तह, विद्यालय, प्रधानाध्यापक, विशिष्ट शिक्षाविद् तथा सञ्चारकर्मीहरू छनोट गरी सम्मान गरिएको आयोजकले जनाएको छ। सोही मूल्याङ्कनका आधारमा सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट स्थानीय तहका रूपमा तुर्माखाँद गाउँपालिका छनोट भएको हो।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष डम्बरबहादुर बी.सी.ले यो उपलब्धि समग्र तुर्माखाँदवासीको साझा गौरव र सामूहिक प्रयासको प्रतिफल भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “शिक्षा क्षेत्रमा हामीले गरेको सामूहिक प्रयास र मिहिनेतको आज राष्ट्रियस्तरबाट उच्च मूल्याङ्कन भएको छ। यस गरिमामय सम्मानका लागि प्रधानाध्यापक संघ नेपाल (PAN) प्रति हार्दिक आभार व्यक्त गर्दछु। यो सफलता हासिल गर्न अहोरात्र खटिनुहुने प्रमुख प्रशासकीय अधिकृत देवराज चौधरी, शिक्षा शाखा प्रमुख भीमबहादुर चलाउनेलगायत सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा शिक्षाप्रेमी महानुभावहरूलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु।”

अध्यक्ष बी.सी.ले आगामी दिनमा गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समग्र शैक्षिक विकासका लागि थप ऊर्जा, प्रतिबद्धता र जिम्मेवारीका साथ काम गर्ने बताउनुभएको छ। उहाँले प्राप्त सम्मानलाई आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रेरणाका रूपमा लिएकोसमेत उल्लेख गर्नुभयो।