अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। निर्माण कार्य सम्पन्न भएसँगै आइतबार आयोजित एक विशेष समारोहबीच प्रतिनिधिसभा सदस्य भरत कुमार स्वाँरले भवनको औपचारिक उद्घाटन गरेका हुन्।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि कुल लागत ६ करोड १३ लाख ३१ हजार ३०२ रुपैयाँ ९१ पैसा रहेकाे छ। विसं २०८० चैत ३० गतेदेखि निर्माण कार्य सुरु भएको भवन नारायण उपहार जेभीले निर्माण गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद जैशीले बताए ।
उनका अनुसार भवन निर्माण सुरु गर्दा गाउँपालिका र संघीय सरकारबीच कुल लागतको ४० प्रतिशत गाउँपालिका र ६० प्रतिशत संघीय सरकारले व्यहोर्ने सम्झौता भएको थियो। तर, निर्माण सम्पन्न हुँदासम्म लागत साझेदारीको अनुपात परिवर्तन भई गाउँपालिकाले ६० प्रतिशत र संघीय सरकारले ४० प्रतिशत खर्च व्यहोरेका छन्।
गाउँपालिका अध्यक्ष टेकबहादुर साँउदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै सांसद स्वाँरले आफ्नै प्रशासकीय भवन निर्माण गर्न सफल भएकोमा गाउँपालिकालाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले नयाँ भवनबाट नागरिकलाई सहज, छिटो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले सेवा प्रवाहसँगै विकास निर्माणका कामलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा उनले जोड दिए। विगतमा आफू जनप्रतिनिधिका रूपमा रहँदा जिल्लामा विभिन्न विकास निर्माणका काम गरेको स्मरण गर्दै सांसद स्वाँरले आफ्नो कार्यकालमा अछामको समग्र विकास र समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकबहादुर साँउदले विभिन्न चुनौती र कठिनाइका बाबजुद गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्न सफल भएको बताए। नयाँ भवन निर्माणसँगै गाउँपालिकाको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले नागरिकलाई सहज सेवा उपलब्ध गराउनुका साथै आफ्नो बाँकी कार्यकालमा विकास निर्माण र जनताका प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
उद्घाटन समारोहमा पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका चलाउने, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका निवर्तमान अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
नवनिर्मित प्रशासकीय भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका प्रशासनिक गतिविधि थप व्यवस्थित हुनुका साथै स्थानीय नागरिकले एउटै स्थानबाट सहज रूपमा सरकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया