मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तराई पुगेकै दिन पहाड उक्लियो सलह, सरकार के गर्दैछ ?

तराई पुगेकै दिन पहाड उक्लियो सलह, सरकार के गर्दैछ ?


रुपन्देही – शनिबार बिहान बुटवलस्थित नेपाली सेनाको गुल्ममा सलहजस्तै देखिने किरा ठूलो संख्यामा देखियो। गुल्मका गणपति कर्णेल ज्योतिकुमार थापाले उक्त किराको समूह सलह भएको अनुमान गरे र प्रमुख जिल्ला अधिकारी महादेब पन्थलाई खबर गरे।

गुल्ममा देखिएको झुण्डलाई केही हदसम्म सेनाले नियन्त्रणमा लियो । तर, दिउँसोसम्ममा सलह बुटवलका अन्य क्षेत्रमा फैलिसकेको थियो। स्थानीयले घरको छतमा लगाएको तरकारी सलहको बथानले खाएको तस्बिर सामाजिक सञ्जालमा राखिरहेका थिए।

हिजो नै बाराको निजगढ १३ रतनपुर क्षेत्रमा पनि हुलका हुल फट्यांग्राहरु देखिए। स्थानीयले कृषि प्राविधिकलाई खबर गरे। प्राविधिकले आएर हेरे र सलह नै भएको पुष्टि गरे। रौतहट, पर्सा र सर्लाहीमा पनि ससानो समूहमा सलह देखियो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार साँझ विज्ञप्ति निकालेर हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनका कारण नेपालमा सलह प्रवेश गरेको बताएको छ। मन्त्रालयले सलह किरा नियन्त्रणका लागि प्राविधिक परिचालन गरी प्राविधिक कार्यदल सक्रिय बनाएको बताएको छ। किरा व्यवस्थापनका लागि सक्रिय रहन तीन तहका सरकारका सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

विज्ञहरुले नेपालमा देखिएको सलह कुन प्रजातिको हो भन्ने अध्ययनपछि मात्र भन्न सकिने बताएका छन् । उनीहरुका अनुसार नेपालमा आएको सलह भारतमा भन्दा सानो संख्यामा रहेको र अस्वाभाविक समयमा आएको हो। फट्यांग्राकै एक प्रजाति हो, सलह । अनिकाल निम्त्याउने किराका रुपमा यसललाई लिइन्छ। यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर फलसहित बोट खाने गर्छ।

छिमेकी पाकिस्तान र भारतमा किसानलाई निकै दुःख दिएको सलह नेपालमा नआउने कृषि मन्त्रालयको अध्ययन टोलीले निष्कर्ष निकालेको थियो। तर, तराईमा प्रवेश गरेकै दिन यो किरा पहाड उक्लिएको छ। शनिबार साँझसम्ममा मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा सलहको झुण्ड भेटिएको छ। सलहको हुलले एक दिनमा १३० देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ।

एक किलो सलहको २० रुपैयाँ

प्रदेश ५ सरकारले एक किलो सलह मार्नेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ। मारिएको सलह सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्नेछ।

सलह नियन्त्रण गर्न यस्तो निर्णय गरिएको प्रदेश ५ को कृषि विकास निर्देशनालयका प्रमुख यामनारायण देवकोटाले जानकारी दिए। यसका लागि प्रदेशका १०९ वटै तहलाई निर्देशन दिएको उनले बताए। प्रदेशमा सलह देखिएपछि शनिबार साँझ बसेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसेको थियाो।

देवकोटाका अनुसार बैठकले सलहबारे किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने, सलह जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपैयाँका दरले खरिद गर्ने र बाली नभएका किरा मार्न विषादी प्रयोग गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री पोखरेलका सुझाव

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सलह किराको नियन्त्रणका लागि विभिन्न उपाय सुझाएका छन्। सलह नियन्त्रणमा उनले ६ उपाय सुझाएका हुन्। उनले सामाजिक सञ्जालमार्फत् दिएको सुझाव यस्तो छ

१) हुललाई तितरबितर पार्ने – आगो बाल्ने, धुवाँ उडाउने आदि।२) प्राकृतिक सिकारीको प्रयोग (हाँस, माकुरा, छेपारो आदि) हाँसले प्रतिदिन दुई सय जतिको संख्यामा किरा खान्छ।३) ध्वनिको प्रयोग गर्ने (थाल ठटाउने, स्पिकर बजाउने आदि (४) प्रजनन गर्न सक्ने ठाउँ नष्ट गर्ने, ५) किटनाशकको प्रयोग, जैविक समेराटाइजियम, रासायनिक मालाथिन, फेनिट्रोथिन, डाइजिनन र फिप्रोनिल, बोरिक एसिड आदि।६) लसुन र पानीको घोल बनाएर छर्किनाले समेत यसको केही मात्रामा नियन्त्रण गर्न सकिन्छ।

के हो सलह ?

विश्वकै एक खतरनाक आप्रवासी कीरा हो सलह। यो सामान्य फट्याड़ग्राभन्दा ठूलो हुन्छ र यसको पछाडिको खुट्टा फट्याड़ग्रा भन्दा लामो हुन्छ। जसकारण सलहमा उफ्रिने क्षमता धेरै हुन्छ।

यिनीहरु झुण्डमा आक्रमण गर्छन्। अरु कीराहरु कुनै निश्चित समूहको बालीमात्रै खाने गर्छन् तर सलहले बालीसहित बोटविरुवा पनि खान्छ।सलहको एक झुण्ड करिब १ वर्गकिलोमिटर बराबरको हुने बताइन्छ। यसमा लाखौको संख्यामा सलह हुन्छन्। यो झुण्डले प्रत्येक दिन १० माइलको यात्रा तय गर्न सक्छ।

२०१९ को सुरुवातताका केन्या तथा अन्य अफ्रिकी मुलुकमा देखा परेको सलह जुनसम्म पाकिस्तानको पूर्वी भागमा देखा पर्न थालेको थियो भने २०२० जनवरी २९ मा राष्ट्रिय आपतकाल नैघोषणा गरिएको थियो।

सलह अहिले भारतका ५ प्रदेशहरु राजस्थान, महाराष्ट्र, मध्य प्रदेश, गुजरात तथा उत्तर प्रदेशमा पनि देखा परिसकेको छ। सलह किरा दिनभर उड्छ र रातभर बास बस्छ । सलहको ठूलो झुण्डले बास बसेको ठाउँमा एकै रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्ने बताइन्छ। – नेपाल समय