मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानसेनापति कठोर बनेपछि उच्च अधिकृत पनि धमाधम कारबाहीमा

प्रधानसेनापति कठोर बनेपछि उच्च अधिकृत पनि धमाधम कारबाहीमा


शिबराज खत्री, काठमाडौं- नेपाली सेनाका दुई जना उच्च अधिकारी गत बुधबार एकैपटक बर्खास्तमा परे। सैनिक आचरण विपरीत गतिविधि गरेको कसुरमा सहायक रथी डा. सुरेन्द्र रावल र महासेनानी अनिल खड्काले एकैसाथ कारबाही भोग्नु पर्यो।

उपरथी शुर्वण शाहको अध्यक्षतामा गठित सैनिक समरी अदालतले दुबै जनालाई बर्खास्तीको फैसला गरेको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाका विश्वास पात्र सहायकरथी रावल उपरथी र महासेनानी खड्का सहायकरथी बढुवाको लाईनमा थिए।

सेनाको नीति निर्देशनालयमा कार्यरत रहँदा प्रधानसेनापतिको आदेश पालना नगरेको आरोपमा उनीहरुमाथि छानबिन चलिरहेको थियो। ‘हायर कमाण्ड एण्ड म्यानेजमेण्ट कोर्स’ को मुल्यांकन प्रणाली पुनरावलोकन गर्ने विषयमा प्रधानसेनापति थापाले दिएको निर्देशनको दुवैले अवज्ञा गरेको आरोपमा छानबिन भइरहेको थियो।

नीति निर्देशनालयको रावल निर्देशक र खड्का सहनिर्देशक हुँदा पुनरावलोकनको पाठ्यक्रम परिमार्जन गर्दा व्यक्तिगत स्वार्थका लागि प्रधानसेनापतिको आदेश विपरीत काम गरेको ठहर अदालतले गरेको छ।

इन्जिनियरिङ पृष्ठभूमिका रावल हायर कमाण्ड गर्दा आफू मर्यादाक्रममा पछि परेकोमा असन्तुष्ट रहेको सैनिक स्रोतले जनाएको छ। आफूले पीएचडी गरेको भए पनि थेसिसमासमेत पहिलो नभएको भन्दै उनी असन्तुष्ट थिए। उनको ठाउँमा महासेनानी दिपेशजंग शाह थेसिसमा पहिलो भएका थिए।

नीति निर्देशनालयको प्रमुख भएपछि सहायक रथी रावलले हायर कमाण्ड एण्ड म्यानेजमेण्ट कोर्सको मुल्यांकन प्रणाली पुर्नरावलोकन गर्ने जाहेरी प्रधानसेनापति थापा समक्ष लिएका थिए।थापाले उक्त प्रस्तावलाई पिएसओ बैठकमा छलफल गर्ने निर्देशन दिए पनि रावल र खड्काले आफूखुसी डिजिएमटीमा पत्र पठाएर निर्णय लागू गर्न खोजेको अभियोगमा कारबाही भएको छ।

आर्थिक अनियमितता गर्ने महासेनानी भूपाल अधिकारी र प्रमुख सेनानी देव क्षेत्रीलाई जेठ ९ गतेको फैसलाले जागिरबाट बर्खास्त र बढुवा रोक्काको निर्णय गर्यो।

महासेनानी अधिकारीले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरेकाले बिगो रकम एक करोड ८५ लाख ४० हजार रूपैयाँ असुल गर्ने तथा दुई महिना कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी सेवाबाट हटाउने फैसला सुनायो।

प्रमुख सेनानी क्षेत्रीको दुई वर्ष बढुवा रोक्ने र चार लाख ४० हजार जरिवानाको फैसला भएको थियो। सोही मुद्दामा हुद्धा यज्ञराज पोखरेलाई पनि सेवाबाट हटाउने फैसला गर्यो। आर्थिक अनियमितताको अभियोगमा छानबिनमा तानिएका अवकास प्राप्त उपरथी सुधीर श्रेष्ठलाई पनि सैनिक अदालतले जेठ १६ गते कारबाहीको फैसला गरयो।

तत्कालीन सैनिक हवाई महानिर्देशक रहेको अवधिमा आर्थिक हिनामिना गरेको कसुरमा उनलाई नसिहत तथा रकम असुल उपर गर्ने निर्णय सैनिक अदालतले सुनायो। उनले ५८ लाख ९५ हजार ५९० रुपैयाँ हिसाव किताब नराखी आर्थिक अनियमितता गरेको अदालतले ठहर गर्यो। हिनामिना गरेको रकम असुलउपर गर्नुका साथै श्रेष्ठलाई नसियत दिने फैसला अदालतले सुनायो।

बर्खास्त हुने चेतावनी पाएपछि छानविनकै क्रममा उनले जागिरबाट राजिनामा दिए। उपरथी (लेखा) भुवनबहादुर अधिकारी अनियमिताताकै आरोपमा छानविनमा परेपछि लामो समय जिम्मेवारीबाट मुक्त भए। त्यहीबीचमा उनले अवकास पाए।

सेनाले केही महिना पहिले काठमाडौं–तराई दु्रतमार्गको विषयमा ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्दै निर्णय तहमा रहेका प्राविधिक उपरथी योगेन्द्र खाँडलाई बोलाएर बयान लिएको थियो।

दु्रतमार्ग निर्माणमा अनियमितिता गरेको आशंकामा सहायक रथी शरदलाल श्रेष्ठमाथि छानविन गर्दै सेनाले सचेत गरायो। विरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा रहँदा आर्थिक अनियमितता गरेको आरोपमा सहायकरथी प्रयोगजंग राणा र महासेनानी नविन सिलवाललाई सैनिक हिरासतमा राखेर छानबिन चलिरहेको छ।

जेठ ८ गते पक्राउ परेका राणा सैनिक कल्याणकारी निर्देशनालयको प्रमुख पदमा कार्यरत थिए भने सिलवाल पनि सोही निर्देशनालयमा कार्यरत थिए। आर्थिक अनियमितताकै आरोपमा सेनाकै अर्का उपरथी अजितवरसिंह थापामाथि पनि छानबिन चलिरहेको छ। थापाले प्लान्ट खरिदमा अनियमितता गरेको भन्दै सेनाको छानबिनले अन्तिम फैसला गर्दैछ। अवकासको मुखमै रहेका उपरथी थापालाई कारबाही हुनसक्ने सैनिक स्रोतको दाबी छ।

यी प्रतिनिधिमुलक घटना मात्र हुन्। प्रधानसेनापति थापाले पछिल्लो समयमा सेनामा सैनिक अनुशासन उल्लंघन गरेको र आर्थिक अनियमितता गरेको आरोपमा दर्जनभन्दा बढी सैनिक अधिकारीहरुलाई कारबाही गरिसकेका छन्।

सैनिक आचरण विपरीत काम गर्नेविरुद्ध सुरुदेखि नै कठोर बन्दै आएका थापाले उच्च सैनिक अधिकृतलाई जागिरबाट बर्खास्तदेखि सेचत गराउनेसम्मका निर्णय गरेका छन्। सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेका अनुसार पछिल्लो दुई आर्थिक वर्षको अवधिमा ३३४ सैनिक कारबाहीमा परेका छन्।

आर्थिक वर्ष ०७५/०७६ मा अधिकृत ५४ जना, पदिक १७ तथा सिपाही १८२ गरी २५३ सैनिक कारबाहीमा परेका थिए। पाण्डेका अनुसार चालू आर्थिक वर्षको शुक्रबारसम्म अधिकृत २६ जना, पदिक १९ र सिपाही ३६ सहित जम्मा ८१ जना कारबाहीमा परेका छन्।

२०७५ भदौ २४ गते प्रधानसेनापतिमा नियुक्त भएका थापा सैनिक अनुशासन कायम गर्न तथा अनुशासन विपरीतका गतिविधि नियन्त्रणमा शुन्य सहनशिलता अपनाउँदै आएको सैनिक अधिकारीहरु बताउँछन्। प्रवक्ता पाण्डेले प्रणाली र पद्दति सुधार गर्ने काम थापाले अभियानकै रुपमा सन्चालन गरेको बताए।

पाण्डेले पद्दति र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्यअनुसार अनुशासन र आचरण विपरीत कार्य गर्नेहरुलाई कारबाही भैरहेको बताए।