मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कानमा थोपा औषधि सही रूपमा प्रयोग गर्ने तरिकाहरु

कानमा थोपा औषधि सही रूपमा प्रयोग गर्ने तरिकाहरु


हामी वा हाम्रा बालबच्चालाई विभिन्न कारणले कान पाकेमा, कानको संक्रमण भएमा वा कानमा कानेगुजी जम्नाले कानमा थोपा औषधि लगाउनु पर्ने हुनसक्छ। यस्तो अवस्थामा थोपा औषधि सहि तरिकाले प्रयोग गर्न नजान्नाले सो औषधिले काम नगर्न पनि सक्छ। यदि कुनैपनि कारणले कानमा औषधि लगाउनु पर्ने भएमा तल दिइएका तरिका अपनाउनुहोस्।

– बोतल वा बिर्कोमा लेखिएको औषधिको नाम र म्याद सकिने मिति चेक गर्नुहोस। बोतललाई हल्लाउनुहोस् र हातमा राखेर हल्का तातो बनाउनुहोस्। धेरै चिसो वा धेरै तातो कुनै पनि औषधि कानमा हाल्दा रिँगटा लाग्न सक्छ।

– ढल्कनुहोस् वा तपाईंको बच्चालाई जुन कानमा औषधि लगाउनु पर्ने हो त्यो कान माथि हुनेगरि सुताउनुहोस्।

– आफ्नो वा बच्चाको कान बिस्तारै पछाडि तान्नुहोस्, यसले कानको बाहिरी भाग सिधा गर्न मद्दत गर्छ।

– औषधिको बोतललाई कानको सीधा माथी पर्ने गरि समात्नुहोस् र डाक्टरको सल्लाह बमोजिमका थोपाहरू निचोड्नुहोस् (सामान्यतया ४ देखि ५ थोपा औषधि आवश्यक पर्दछ) कानको प्वालको अगाडि पट्टिको नरम हड्डिलाई मालिस गर्नुहोस्। यसो गर्दा कानको प्वाल बन्द हुने र खुल्ने भैरहन्छ, जसले औषधिको थोपालाई भित्रसम्म जान मद्दत गर्छ ।

– बच्चालाई केही मिनेटको लागि सो कान माथि हुनेगरि सुताउनुहोस्, यसले औषधिका थोपाहरू कानको पर्दासम्म पुग्न समय पाउँछ र औषधिले काम गर्न सक्छ।

– अब बच्चालाई उठाउनुहोस् र कुनै पनि अतिरिक्त थोपा बाँकि रहेछन भने बाहिर निस्कन दिनुहोस्।

– आवश्यक भएमा अर्को कानमा पनि उही प्रक्रिया दोहोर्‍याउनुहोस्।

-( डा दिवस सुनार नाक, कान, घाँटी रोग विशेषज्ञ हुन्)