मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलिलै उमेरमा गर्भपतन

कलिलै उमेरमा गर्भपतन

६ महिनाको अवधिमा अछाममा ४७३ जनाले सुरक्षित गर्भपतन सेवा लिए


‘६ महिनामा मात्रै अछाममा २० बर्ष भन्दा कम उमेरका १६ जनाले गर्भपतन गराए भने गर्भपतन पश्चात जटिलता भएका २१ जनाले पुन सेवा लिए’

अछाम : जिल्लामा अझै पनि असुरक्षित गर्भपतन गराउने क्रम कायमै रहेको देखिएको छ । जिल्लामा १५ वटा सुरक्षित गर्भपतनका सेवा केन्द्र र थप ४ वटा शल्यक्रिया मार्फत सेवा दिने स्वास्थ्य संस्था रहेको भएपनि सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थामा भएपनि असुरक्षित गर्भपतनको क्रम रोकिएको छैन् ।

पछिल्लो समयमा उल्लेखित स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मी नहुन वा भएकाहरु पनि सरुवा तथा छोडेर अन्यन्त्र जानुले गर्भपतन असुरक्षित रुपमा हुने गरेको स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए । ग्रामिण भेगका महिलाहरुमा सुरक्षित गर्भपतन बारे ज्ञानको कमी तथा सुरक्षित गर्भपतन सेवा प्रदायक सस्थासँगको सहज पहुँच नहुनुले पनि महिलाले असुरक्षित गर्भपतन गराईरहेका छन् ।

गाउँमै मेडिकलको औषधि सेवन गरेर राम्रोसँग गर्भपतन नुहँदा तथा स्वास्थ्यमा अन्य समस्या भए अन्तिम अवस्थामा मात्र महिला अस्पताल आउने गरेको स्वास्थ्यकर्मी बताउँछन् । सेवा लिन लाज मानेर गाउँमै औषधि सेवन गरेर राम्रोसँग काम नगरेपछि अस्पतालमा आउने गरेको तथ्यांक छ।

जिल्लाका दुर्गम क्षेत्रमा सरकारले सुरक्षित गर्भपतनको बारेमा जानकरी तथ सेवाको पुहँच सहज रुपमा पु¥याउन नसकेको देखिन्छ । असुरक्षित गर्भपतन हुनुको अर्को कारण गैरकानुनी रुपमा मेडिकलमा गर्भपतन गराउने औषधिको बिक्रि वितरण पनि एक हो । यसको राज्यका निकायबाट प्रभावकारी अनुगमन हुन जरुरी रहेको सरोकारवाला बताउँछन् ।

चालु आर्थिक बर्षको श्रावण देखि पौष सम्म ६ महिनाको अवधिमा जिल्लामा ९४ जनाले गर्भपतन पश्चात स्वास्थ्यमा समस्या आएपछि पुनः स्वास्थ्य संस्थामा गएर सेवा लिएका छन् । गर्भपतन पश्चात जटिलता भएका २१ जनाले पुन उक्त सेवा लिएका प्रमुख ढुंगानाले बताए ।

“असुरक्षित गर्भपतन कहिले सम्म ? अछाममा ६ महिनाको अवधिमा ९४ जनाले दोश्रो पटक गर्भ पतनको सेवा लिए भने सोहि अवधिमा ४७३ जनाले सुरक्षित गर्भपतन सेवा लिए”

उनका अनुसार अछाममा २० बर्ष मुनिका उमेर समुहका १४ ले सामान्य उपचार बिधि तथा २ जनाले शल्यक्रिया मार्फत सुरक्षित गर्भपतनको सेवा लिएका छन् भने २० बर्ष माथिका ४ सय ४१ जनाले सामान्य तथा १६ जनाले शल्यक्रिया मार्फत गर्भपतन सेवा लिएका छन् ।

गर्भपतन पश्चात ६ महिनाको अवधिमा अछाममा २ सय ८९ जनाले सामान्य र १६ जनाले शल्यक्रिया मार्फत छोटो अवधिको परिवार नियोजनका साधन अपनाएका छन् भने १ सय २६ जनाले सामान्य तथा १ जनाले शल्यक्रिया मार्फत लामो अवधिको परिवार नियोजनको सेवा लिएका छन् ।

अछाममा हाल जिल्ला अस्पताल मंगलसेन, बयलपाटा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र चौरमाण्डौ र कमलबजार, स्वास्थ्य चौकीहरु मेल्लेख, बिनायक, जयगढ, दुनी, हिच्मा, जुपु, शान्तडा, तुर्माखाँद र बारलामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा रहेको छ । सुरुमा जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा मात्र सुरु गरिएको सुरक्षित गर्भपतन सेवा थप भएर जिल्लाका बिभिन्न १५ वटा स्वास्थ्य सस्थाबाट संचालित रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

जसमध्ये जिल्ला अस्पताल, बयलपाटा अस्पताल, प्राथमिक केन्द्र चौरमाण्डौ र कमलबजारमा सामान्य सहित जटिल खालको अवस्थामा शल्यक्रिया बिधिबाट १२ हप्ता सम्मकोे गर्भपतन गर्ने सेवा छ भने बाँकी ११ वटा स्वास्थ्य संस्थामा औषधी बिधि मार्फत मात्र गर्भपतन गर्ने सेवा उपलब्ध रहेको ढुंगानाले बताए ।

७५ वटा स्वास्थ्य सस्था रहेको अछाममा जम्मा १५ वटा सस्थामा मात्र सुरक्षित गर्भ पतन सेवा सुरु हुँदा भौगोलिक बिकट्ताका कारणले अधिकांश महिलाको ति सूचिकृत स्वास्थ्य सस्थामा सहज पहुँच हुन सकेको छैन । जसका कारणले उनीहरु गर्भपतनका लागि निजी मेडिकलकै औषधिको प्रयोग गर्न बाध्य छन् ।

महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भ, बच्चा बिकलांङ्ग जन्मिन सक्ने अवस्था, बच्चा र आमाको ज्यानै जोखिम रहेको अवस्था र हाडनाता करणी तथा जर्वरजस्ती करणीबाट रहेको गर्भलाई गर्भपतन गर्न मिल्ने कानुनी व्यवस्था छ ।