मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सकिँदै जाडोयाम : यसपालि वर्षा कम, प्रदूषण बढी

सकिँदै जाडोयाम : यसपालि वर्षा कम, प्रदूषण बढी


काठमाण्डाै – यसपालिको जाडोयाम आजदेखि बिदा हुँदैछ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ । 

‘जाडोमा पश्चिमी वायुको प्रभावले ल्याएको प्रणालीले वर्षा हुने गर्छ तर यसपालि पानी पार्ने गरी प्रणाली भित्रिन सकेन’ वरिष्ठ मौसमविद् वरुण पौडेलले भने ‘पश्चिमी वायु नेपाल प्रवेश नगरेको पनि होइन, पाँच/छ पटकसम्म भित्रियो । तर पानी पार्ने शक्तिशाली प्रणाली भने भित्रिन सकेन । जसका कारण यो हिउँदमा औसतभन्दा निकै कम वर्षा भयो ।’ 

सुदूरपश्चिममा दुई पटक हिमपात, काठमाण्डौमा न्यून वर्षा

यसपालि पश्चिमी वायुको प्रभावका कारण पश्चिमी र सुदूरपश्चिमी क्षेत्रका केही ठाउँमा दुई/तीन पटकसम्म पानी परे पनि अन्य क्षेत्रमा खासै पानी पर्न सकेन । काठमाण्डौमा हिउँद महिनाभरि जम्मा एक पटक मात्रै पानी पर्यो । 

यही महिनाको सुरुवाततिर काठमाण्डौ उपत्यकाका केही ठाउँमा जमिन भिज्ने गरी पानी परेको थियो । अन्य केही क्षेत्रमा भने वर्षा हुन सकेन । यसअघि गएको पुस महिनामा फाट्टफुट्ट मात्रै पानी परेको थियो । ‘सामान्यतया हिउँदयाममा काठमाण्डौमा १८ दशमलव सात मिलीमिटर पानी पर्नु पर्थ्यो’ वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो- ‘यसपालि मात्रै १ दशमलव ३ मिलीमिटर पानी परेको छ ।’ 

काठमाण्डौ उपत्यकामा मात्रै होइन यसपालिको हिउँद महिनामा देशभर नै पर्याप्त पानी पर्न सकेन । यस्तै, यसपालि हिमपात पनि राम्रोसँग हुन पाएन । हिउँदयामभरि जम्मा दुई पटक मात्रै हिमपात भएको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

पर्याप्त वर्षा र हिमपात नहुँदा यसपालि हिउँदे कृषि बालीमा समेत नोक्सानी भएको छ । हिमाली क्षेत्रमा पाइने जडिबुटीको उत्पादनमा समेत कमी आएको छ ।

सुख्खासँगै प्रदूषण बढ्यो

वर्षा र हिमपात नहुँदा यसपालि देशका धेरै ठाउँमा सुख्खापन र प्रदूषण बढेको छ ।

सुख्खापनकै कारण यसपालिको हिउँदमा आगलागीका धेरै घटना भएका सरकारी तथ्याङ्क छ । पानी नपर्दा प्रदूषण पनि ह्वात्तै बढेको थियो । काठमाण्डौ उपत्यकामा दुई दिन त प्रदूषणका कारण आँखा पोल्ने समस्या नै देखिएको थियो भने केही बिरामीसमेत परेका थिए । 

धुलोधुवाँका कारण वायु प्रदूषण झन्झन् बढ्दै गएको छ । वायुमण्डलमा धुलोको कण जम्मा हुँदा यसपालिको हिउँदमा तुवाँलो लाग्ने क्रम भने बढेको छ । पोहोर परारको तुलनामा यसपालि लगातार जस्तो तुवाँलो लागेको मौसमविद् पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार पर्याप्त पानी नपर्दा यसपालि लगातारजसो बाक्लो हुस्सु र कुहिरो पनि लागिरह्यो । विशेषगरी यसबाट तराईका जिल्ला धेरै प्रभावित भए । बाक्लो हुस्सु र कुहिरोका कारण तराईका जिल्लामा प्राय आन्तरिक उडान प्रभावित भइरह्यो  । 

प्रि-मनसुन सुरु हुँदै

जाडोयाम सकिएसँगै अब बिस्तारै प्रि-मनसुनका गतिविधि सुरु हने मौसमविद्ले बताएका छन् ।

बिहान बेलुका केही चिसो भए पनि अब हट्ने मौसमविद्ले बताएका छन् । अबदेखि बेलुकाको समयमा हावाहुरी चल्ने र मेघगर्जन हुने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

यसपालि जमिन धेरै सुख्खा भएकाले आउँदा दिनमा आगलागीका घटना अझै बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।