मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटा पुतली जसले तीन दिनमा नै मानव जीवन अन्धकार बनाउँछ

एउटा पुतली जसले तीन दिनमा नै मानव जीवन अन्धकार बनाउँछ


काठमाडौं- गत भदौ १३ मा बेनीका १८ वर्षीय युवक आँखाको समस्या लिएर पोखरास्थित हिमालय आँखा अस्पताल पुगे। उनलाई आँखा रातो हुने, चिलाउने, धमिलो देख्नेलगायतका समस्या भएको थियो। आँखामा समस्या देखिएको चौथो दिन उनी अस्पताल पुगेका थिए।

अस्पताल पुग्दा उनको अवस्था जटिल बनिसकेको थियो। उनको आँखामा सापु अर्थात् सिजनल हाइपरएक्युट पानुभिआइटिस भएको पुष्टि भयो। आँखाको रेटिना पुरै बिग्रिसकेकाले अन्ततः उनको आँखाको ज्योति नै गुम्यो।

सापु सेतो रङको पुतलीको सम्पर्कमा आएपछि देखिने समस्या हो । पछिल्लो समय यो समस्या बढ्दै गइरहेको छ। विशेषगरी गण्डकी प्रदेशमा यसको समस्या बढी देखिएको छ।

सापुका कारण कारण यस वर्ष मात्रै गण्डकी ४ जनाले आँखाको ज्योति गुमाइसकेको हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठ बताउँछिन्।

विगतका वर्षहरूका तुलनामा यस वर्ष आँखामा सापुको समस्या लिएर आउनेको संख्या बढ्दै गएको छ। आँखामा सेतो पुतलीको झुस पर्दा उक्त झुसको असरले केही मानिसले आँखा समेत गुमाएका छन् भने कतिपयले दृष्टि गुमाएका छन्।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. श्रेष्ठका अनुसार पछिल्लो महिना सापुका बिरामीहरू बढ्न थालेका छन्। अस्पतालमा मात्रै दैनिक १५ जनाको हाराहारीमा मानिसहरू आँखामा समस्या लिएर आउने गरेका छन्।

सेतो पुतलीको झुसका कारण आँखामा समस्या भएमा त्यसलाई सापु भएको मानिन्छ। चिकित्सकीय भाषामा यसलाई सिजनल हाइपरएक्युट पानुभिआइटिस भनिन्छ।

अस्पतालकी मेडिकल डाइरेक्टर डा. श्रेष्ठका अनुसार पछिल्लो महिना सापुका बिरामीहरू बढ्न थालेका छन्। अस्पतालमा मात्रै दैनिक १५ जनाको हाराहारीमा मानिसहरू आँखामा समस्या लिएर आउने गरेका छन्। उनीहरू सबैको समस्याको कारक सेतो पुतलीको झुस रहेको छ। दैनिक आउनेमध्ये ३/४ जनामा सापुको समस्या भइसकेको हुन्छ।

डा. श्रेष्ठ भन्छिन्, ‘सापुका लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने, धमिलो देख्ने, आँखाको नानीको बीच भागमा सेतो देखिने तथा उज्यालोमा हेर्न सकिँदैन। साथै उपचार नगर्दा आँखाको नानी सेतो हुँदै जाने र पिप जम्छ। जसले गर्दा दृष्टि नै गुमाउनुपर्छ।’

उनका अनुसार सेतो पुतलीको झुस कति खतरनाक छ भने आँखामा झुस परेको ४८ घण्टामा नै दृष्टि गुम्न सक्छ । ‘त्यसैले आँखा रातो हुने वा चिलाउने समस्या देखियो भने जतिसक्दो छिटो आँखा अस्पताल पुगिहाल्नुपर्छ । ४८ घण्टाभित्र उपचार भए पूर्ण रूपमा निको हुन सक्छ,’ उनी भन्छिन् ।

पुतलीको संसर्गमा आएको वा समस्या देखिन सुरु गरेको ४८ घण्टाभित्र उपचारमा आएमा ५० प्रतिशतसम्म निको पार्न सकिने हिमालय अस्पतालकी मेडिकल डाइरेक्टर डा. श्रेष्ठ बताउँछिन्। 

एक वर्षको फरकमा बिरामीहरू देखिन्छन्

सापु सन् १९७५ मा नेपालमा पहिलोपटक देखिएको थियो। तर त्यतिबेला सापु भन्ने पहिचान गर्न सकिएको थिएन। नेपालमा पहिलोपटक पोखराको लामाचौरस्थित एक बोर्डिङ स्कुलका एक विद्यार्थीमा सापुको समस्या देखिएको थियो। सो समयमा आँखा रोग विशेषज्ञ डा. मदन उपाध्यायको टोलीले त्यसको अध्ययन गरेको थियो। सुरुमा ट्युमर भनिए पनि पछि अध्ययन गर्दै जाँदा सापु नामकरण गरिएको थियो।

सन् १९७५ मा पहिलोपटक देखापरे पनि त्यसपछि करिब २५ वर्ष त्यस्तो समस्या देखिएन। त्यसपछि फेरि सापुको समस्या देखिन थालेको उपाध्याय बताउँछन्। सापुको समस्या एक वर्षको अन्तरालमा देखिने गरेको उनको अनुभव छ।

‘पुतली हरेक वर्ष प्रजनन हुन्छ, तर रोग एक एक वर्ष बिराएर आउँछ, यसको उत्तर हामीसँग पनि छैन, यसको अध्ययन भइरहेको छ,’ डा. उपाध्याय भन्छन्, ‘अझ अर्को कुरा पुतलीले आँखाभित्र कसरी असर गर्छ भन्ने कुरा पनि पत्ता लागेको छैन। यी विषयमा अनुसन्धान भइरहेको छ।’

हालसम्म यस संक्रमणका कारण १५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन्। हाल यो रोगले आफ्नो स्वरूप पनि परिवर्तन गर्न थालेको डा. उपाध्यायको अनुमान छ।

सेतो पुतली चम्किलो प्रकाशमा आकर्षित हुन्छ। मुख्यगरी उत्तिसको पात खाने यो पुतली नेपालको पूर्वदेखि पश्चिम क्षेत्रमा पाइन्छ।

‘पहिला मानिसको आँखाको भित्री भागमा सुन्निने हुन्थ्यो तर अहिले बाहिरी भागमा पनि सुनिन्न थालेको छ,’ उनी भन्छन्, ‘यस्तो किन हुन्छ भन्ने अनुसन्धान गरिरहेका छौं ।’

उनका अनुसार अहिलेसम्म कति मानिस यसबाट प्रभावित भए भन्ने आधिकारीक तथ्यांक छैन। रेकर्ड भएका तथ्यांकमा १ हजारभन्दा धेरै बालबालिकाको आँखा गुमेको छ।

‘यो निकै जटिल समस्या हो। यसबाट बच्नको लागि आँखा जोगाउनुको विकल्प छैन,’ डा. उपाध्याय भन्छन्, ‘यो रोग जुनसुकै उमेर समूहका मानिसलाई हुन सक्छ तर पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइएको छ। जसको कारण बालबालिकाले पुतली देखेपछि पुतलीसँग खेल्नु, झुस बिझे पनि उनीहरूलाई थाहा नहुनुलगायतका कारण यसको नियन्त्रणका चुनौती हुन्।’

उनका अनुसार पछिल्लो समय आँखा चाहिँ जोगाउन सकिएको छ। तर पूर्ण रूपमा जोगाउन भने सकिएको छैन।  ‘सुरुवाती समयमा न त दृष्टि जोगाउन सकिन्थ्यो न त आँखा नै,’ डा. उपाध्याय भन्छन्, ‘पहिला पहिला त दृष्टि पनि आँखा पनि पूर्णरुपमा क्षति हुन्थ्यो। तर अहिले भने समयमा नै मानिसहरू उपचारमा आएमा आँखा र दृष्टि दुवै जोगाउन सकिन्छ। तर ढिला अस्पताल आइपुग्नेहरूको दृष्टि जोगाउन मुस्किल हुन्छ।’

सापुको समस्या भएका १०–१५ प्रतिशतभन्दा धेरैले देख्न सक्दैनन्। तर अहिले उपचारका नयाँ प्रविधि आएकाले तत्काल अप्रेसन गरी आँखाको फोहर निकाल्दा सकारात्मक नतिजा देखिएको छ।

‘हामीले विश्व स्वास्थ्य संगठनसँगको छलफलमा १५ हजार मानिस प्रभावित भएको अनुमान गरेका थियौं। बालबालिका किन बढी प्रभावित भएका छन् भन्ने बारेमा पनि कुनै वैज्ञानिक अध्ययन भएको छैन न त प्रभावितहरूको तथ्यांक नै छ,’ डा. उपाध्याय भन्छन्, ‘नेपालमा ४६ वर्ष अगाडि यसको समस्या देखिए पनि पर्याप्त अनुसन्धान हुन सकेको छैन। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि अनुसन्धान गरेको छैन।’

हाल त्रिवि शिक्षण अस्पताल, बिपी कोइराला लायन्स आई सेन्टरले यस बारेमा अनुसन्धान गरिरहेकोछ ।

पुतलीविज्ञ प्राध्यापक भैया खनालका अनुसार सापु लगाउने सेतो पुतली ग्याजालिना प्रजातिको हो। ‘ग्याजालिनाको ३ प्रजाति हुन्छन्। क्राइसोलोफा, एप्सरा र ट्रान्सभेरा,’ प्रा. खनाल भन्छन्, ‘त्यसमध्ये ग्याजालिना  क्राइसोलोफाअन्तर्गत यो पुतली पर्दछ। सापु लगाउने चाहिँ ‘ग्याजालिना क्राइसोलोफा’ हो। यो पुतली विशेषगरी रातको समयमा सक्रिय हुन्छ। यसको लार्भा उत्तिस, दालचिनीको रुखमा बस्न रुचाउँछ।’

यो पुतली जुलाइदेखि पोस्ट मनसुनमा बढी सक्रिय हुने र असोजको अन्तिमदेखि हराउने प्रा. खनाल बताउँछन्। उनका अनुसार यस पुतलीको समस्या तराई र हिमाली क्षेत्रभन्दा पहाडी क्षेत्रमा बढी देखिएको छ।

‘मध्यपहाडी क्षेत्रमा यसको समस्या बढ्दै गएको छ,’ खनाल भन्छन्, ‘तापक्रम, वर्षा, पहाडी क्षेत्रमा पाइने बोटबिरुवा आदिका कारणले प्रभाव पारेको हो।’

प्रा. खनालका अनुसार क्राइसोलोफाको पोथी पुतलीको कारण सापुको समस्या देखिन्छ। उक्त पुतलीको पछाडि भागमा मसिना धर्साजस्तो देखिने पहेँलो रौं हुन्छ। यी रौँहरू सामान्य हावा चल्दा पनि उसको शरीरबाट छुटिन्छ भने पुतली उड्दा पनि ती रौँहरू छ्टिन्छन्। त्यही रौं मानिसको आँखामा पर्दा सापुको समस्या हुन्छ। शरीरको अन्य भागमा उक्त रौं परेमा पनि रौं परेको स्थानमा एलर्जी हुनसक्छ।

सेतो पुतली चम्किलो प्रकाशमा आकर्षित हुन्छ। मुख्यगरी उत्तिसको पात खाने यो पुतली नेपालको पूर्वदेखि पश्चिम क्षेत्रमा पाइन्छ। खनाल भन्छन्, ‘सापुको समस्या एक वर्ष बिराएर देखिन्छ भनिएको छ । प्रायः पुतलीहरूको जीवनचक्र एक वर्षको हुन्छ, अझ यो पुतलीको आयु ११ महिनाको हुन्छ। समयमा जीवनचक्र पुरा गर्न नसकेर वा कुनै वर्ष मनसुनको कारण पनि लार्भा वयस्क हुन नपाउँदा त्यो वर्ष पुतली कम देखिन्छन्। साथै कुनै वर्ष लार्भाको अवस्थामा नै रोग लाग्दा पुतली देखिँदैन। हरेक वर्ष यो पुतली देखिन्छ तर कुनै वर्ष कम देखिन्छ त कहिले बढी देखिन्छ। त्यसैले पनि कुनै वर्ष धेरै असर गर्ने कुनै वर्ष कम देखिएको हो।’

नेपालमा ताप्लेजुङ, पाँचथर, रोल्पा, रुकुम, कास्की, स्याङ्जा, बाग्लुङ पर्वतलगायतका जिल्लामा यो पुतली देखिएको खनाल बताउँछन्।

चिकित्सकका अनुसार सेतो पुतलीबाट बच्नको लागि सेतो पुतली भएको ठाउँमा नजाने,  जानै परे चस्मा लगाउने, पुतलीको नजिक हुँदा सजग हुने, साबुनपानीले हात धुनु गर्नु पर्छ। त्यसका साथै रातीको समयमा बत्तीमा पुतली आउने हुनाले बत्ती बाल्दा घरका झ्याल ढोका बन्द राख्ने, झुल प्रयोग गर्ने र बच्चालाई सुरक्षित राख्ने गर्नुपर्छ।