जिल्ला प्रशासन कार्यालय अछामले असोज ९ गतेदेखि देशभर ठूलो वर्षा हुने सम्भावना रहेकाले जिल्लावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै अछाममा समेत वर्षा हुने भएकाले सम्भावित बाढी, पहिरो तथा अन्य विपद्बाट जोगिन पूर्वतयारी र सावधानी अपनाउन सबै जिल्लावासीलाई आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा वर्षा भइरहेको समयमा सकेसम्म यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । लगातारको वर्षाका कारण सडक तथा बाटोघाटो प्रभावित हुनसक्ने, खोला तथा नदीमा पानीको बहाव बढ्नसक्ने र पहाडी क्षेत्रमा पहिरो जाने जोखिम रहने भएकाले यात्रामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको हो ।
विशेषगरी खोला, नदी तथा जलाशय आसपास बसोबास गर्ने नागरिकलाई बढी सतर्क रहन प्रशासनले अनुरोध गरेको छ। वर्षाका कारण खोला तथा नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले नदी तथा खोलाको किनारमा नजान र अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न प्रशासनले सुझाव दिएको छ । अछामजस्तो पहाडी भूगोलमा लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाने सम्भावना रहने भएकाले भिरालो तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्ने प्रशासनले जनाएको छ । पानी परिरहेको समयमा ठूला पहिरोसमेत जान सक्ने भएकाले पहिरोको जोखिम रहेका क्षेत्रमा अनावश्यक रूपमा नजान र परिवारका सदस्यलाई समेत जोखिमबारे सचेत गराउन आग्रह गरिएको छ ।
प्रशासनले विपद्को समयमा आफन्त तथा घरपरिवारका सदस्यहरू कहाँ छन् भन्नेबारे जानकारी राख्नसमेत जिल्लावासीलाई अनुरोध गरेको छ । कुनै अप्रिय घटना वा विपद् भएमा तत्काल नजिकको प्रहरी कार्यालय, सुरक्षा निकाय वा स्थानीय तहका जनप्रतिनिधिलाई जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । यसबाट विपद्को समयमा उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई तत्काल परिचालन गर्न सहज हुने प्रशासनको भनाइ छ । त्यसैगरी, वर्षाका कारण विद्युत् सेवा अवरुद्ध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल फोन पर्याप्त मात्रामा चार्ज गरेर राख्न प्रशासनले अनुरोध गरेको छ। विपद्को समयमा सञ्चार सम्पर्क अत्यन्त आवश्यक हुने भएकाले मोबाइल फोन तथा अन्य सञ्चारका साधनलाई तयारी अवस्थामा राख्न आग्रह गरिएको हो । बाढी, पहिरो वा अन्य विपद् आउनुअघि नै आवश्यक तयारी गर्नसमेत प्रशासनले जिल्लावासीलाई सचेत गराएको छ ।














प्रतिक्रिया