साँफेबगर । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा रहेको मालिका पोलिक्लिनिक प्रा.लि.ले आफ्नै नवनिर्मित भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको छ।
साँफेबगर नगरपालिका–४ मा रहेको पोलिक्लिनिकले लामो समयदेखि प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएको हो।
नयाँ भवनमा थप व्यवस्थापन तथा सेवा–सुविधासहित स्वास्थ्य सेवा सुरु गरिएको पोलिक्लिनिकले जनाएको छ। नयाँ भवन प्रवेशको अवसरमा पोलिक्लिनिकमा उपचारका लागि आउने बिरामीलाई उपचार सेवामा ३० प्रतिशतसम्म छुट उपलब्ध गराइने पोलिक्लिनिकका प्रमुख रामबहादुर भण्डारीले जानकारी दिनुभयो।
यसैबीच, बिरामी तथा सेवाग्राहीको भुक्तानीलाई थप सहज बनाउन ग्लोबल आइएमई बैंकले मालिका पोलिक्लिनिकलाई POS मेसिनसमेत उपलब्ध गराएको छ।
अब पोलिक्लिनिकमा उपचार सेवा लिएपछि सेवाग्राहीले QR Payment, ATM Card तथा Credit Card लगायतका माध्यमबाट उपचार शुल्क भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
सेवाग्राहीलाई नगद बोकेर हिँड्नुपर्ने बाध्यता कम गर्दै स्वास्थ्य संस्थामा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्यले POS मेसिन उपलब्ध गराइएको ग्लोबल आइएमई बैंक अछाम शाखाका शाखा प्रबन्धक अर्जुन बटालाले बताउनुभयो।
उहाँका अनुसार स्वास्थ्य सेवा लिने स्थानीय नागरिक तथा बाह्य सेवाग्राहीलाई सहज रूपमा भुक्तानी गर्न सकून् भन्ने उद्देश्यले बैंकले उक्त सुविधा उपलब्ध गराएको हो।
मालिका पोलिक्लिनिकको नयाँ भवन प्रवेश कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवर, उपप्रमुख शिवबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो।
पोलिक्लिनिकले आफ्नै भवनबाट सेवा सुरु गरेसँगै स्थानीय नागरिकलाई थप सहज, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने जनाएको छ। साथै डिजिटल भुक्तानीको सुविधाले उपचार सेवाको भुक्तानी प्रक्रियालाई समेत थप सरल बनाउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया