मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठुलासैनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ठुलासैनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ऋणको सदुपयोग, बचत तथा आर्थिक व्यवस्थापनबारे सदस्यलाई जानकारी


अछाम । ठुलासैनमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मंगलसेनको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा नं. ६ र ७ का विभिन्न समूहमा आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई वित्तीय साक्षरताको महत्व, बचत गर्ने बानीको विकास, ऋणको सही सदुपयोग, आर्थिक व्यवस्थापन तथा वित्तीय अनुशासनका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रमको सहजीकरण निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रदेश संयोजक ध्रुवराज जोशी र शाखा प्रमुख मनु अर्यालले गर्नुभएको थियो । उहाँहरूले सहभागीहरूलाई आम्दानी र खर्चको सन्तुलन मिलाउने, अनावश्यक खर्च कटौती गर्ने, नियमित बचत गर्ने तथा ऋणलाई आयआर्जनमूलक क्षेत्रमा परिचालन गर्ने उपायबारे जानकारी गराउनुभएको थियो ।

सहजीकरणका क्रममा ऋण लिँदा आफ्नो आर्थिक अवस्था र तिर्न सक्ने क्षमताको मूल्याङ्कन गर्नुपर्ने, ऋणको रकम तोकिएको उद्देश्यअनुसार सदुपयोग गर्नुपर्ने तथा समयमै किस्ता भुक्तानी गरी वित्तीय अनुशासन कायम गर्नुपर्ने विषयमा जोड दिइएको थियो । साथै, वित्तीय सेवाको सुरक्षित प्रयोग, ब्याजदर तथा ऋणको लागत बुझ्ने, पारिवारिक बजेट निर्माण गर्ने र भविष्यका लागि आर्थिक योजना बनाउने विषयमा समेत जानकारी गराइएको थियो ।

कार्यक्रमको सञ्चालन परेक राज सञ्ज्यालले गर्नुभएको थियो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले समूहमा आबद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई वित्तीय रूपमा सचेत, आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सदस्यहरूलाई वित्तीय सेवा तथा सुविधाको सही उपयोग गर्न, ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न र नियमित बचतमार्फत आर्थिक सुरक्षा सुनिश्चित गर्न प्रेरित गर्दै आएको जनाएको छ ।

वित्तीय साक्षरताले व्यक्तिलाई आम्दानी, खर्च, बचत र ऋणको उचित व्यवस्थापन गर्न सक्षम बनाउनुका साथै आर्थिक जोखिम न्यूनीकरण र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।