मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाल्पा माध्यमिक विद्यालयको ५३औँ अभिभावक भेला तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जाल्पा माध्यमिक विद्यालयको ५३औँ अभिभावक भेला तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न


मंगलसेन नगरपालिका–७ मा रहेको जाल्पा माध्यमिक विद्यालयको ५३औँ अभिभावक भेला तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष भोजबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य भैरे कामी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य कामीले जाल्पा माध्यमिक विद्यालयले विगतको तुलनामा शैक्षिक तथा भौतिक क्षेत्रमा उल्लेखनीय सुधार गर्दै अघि बढेको बताउनुभयो। शिक्षकहरूको सक्रियता, विद्यालय व्यवस्थापन समितिको समन्वयकारी भूमिका तथा स्थानीय सरकारको सहयोगका कारण विद्यालयको समग्र अवस्थामा सकारात्मक परिवर्तन देखिन थालेको उहाँको भनाइ थियो।

विद्यालयको विकास कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै उहाँले शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारबीच आपसी विश्वास, जिम्मेवारीबोध र प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। आफ्नो जिम्मेवारी पूरा नगर्ने तर समस्याको दोष एकअर्कालाई थोपर्ने प्रवृत्तिले सामुदायिक विद्यालयको विकासमा बाधा पुर्‍याइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विद्यालय राम्रो बनाउने जिम्मेवारी शिक्षकको मात्र होइन, अभिभावक र विद्यार्थीको पनि उत्तिकै हो। सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न असम्भव छैन।” उहाँले विद्यालयमा अझै सुधार गर्नुपर्ने धेरै पक्ष रहेकाले विगतका कमजोरीलाई सच्याउँदै साझा संकल्पका साथ अघि बढ्न सुझाव दिनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि मंगलसेन नगरपालिकाका नगर प्रमुख पदमबहादुर बोहराले जाल्पा माध्यमिक विद्यालयले सीमित स्रोतसाधनका बाबजुद पनि उपलब्ध साधनको उचित व्यवस्थापन गर्दै शैक्षिक तथा भौतिक क्षेत्रमा सुधारको प्रयास गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो। सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्रोतसाधनको उपलब्धता मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले उपलब्ध स्रोतको प्रभावकारी उपयोग, जवाफदेहिता र परिणाममुखी कार्यसम्पादनमा जोड दिनुभयो।

सामुदायिक विद्यालयको शैक्षिक अवस्था अपेक्षाअनुसार सुधार हुन नसक्नुमा सम्बन्धित पक्षले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न नसक्नु पनि प्रमुख कारण रहेको उहाँको भनाइ थियो। अब जाल्पा माध्यमिक विद्यालयलाई नगरकै नमुना विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्यसहित विद्यालय प्रशासन, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले योजनाबद्ध ढंगले मेहनत गर्नुपर्ने उहाँले बताउनुभयो। विद्यालयमा देखिएका समस्या समाधानका लागि नगरपालिकाले आवश्यक स्रोतसाधनको व्यवस्था गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख बोहराले आगामी दिनमा पनि आवश्यकताका आधारमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगानाले विद्यालयको समग्र विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकले आ–आफ्नो जिम्मेवारी स्पष्ट रूपमा बुझेर इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। विद्यालयको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार र दक्ष जनशक्ति मात्र पर्याप्त नहुने भन्दै उहाँले त्यसको प्रभावकारी उपयोगसँगै शिक्षण सिकाइको गुणस्तर र विद्यालयप्रतिको अभिभावकको विश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

आफ्नै वडामा रहेको सामुदायिक विद्यालयमा आवश्यक भौतिक संरचना र दक्ष जनशक्ति हुँदाहुँदै पनि ठूलो सङ्ख्यामा बालबालिका निजी विद्यालयमा अध्ययन गर्न जानु चिन्ताको विषय भएको उहाँले बताउनुभयो। यसलाई सामुदायिक विद्यालयप्रतिको आकर्षण र विश्वास अभिवृद्धि गर्नुपर्ने गम्भीर चुनौतीका रूपमा लिनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “विद्यालयमा संरचना र शिक्षक भएर मात्र हुँदैन, अभिभावकले आफ्ना बालबालिकाको भविष्य यही विद्यालयमा सुरक्षित र उज्ज्वल देख्न सक्ने वातावरण निर्माण गर्नुपर्छ। त्यसका लागि शिक्षण सिकाइको गुणस्तर, अनुशासन, नियमितता र नतिजामा सुधार आवश्यक छ।”

नगरपालिकाले समग्र नगरको शैक्षिक अवस्था सुधार गर्न विशेष योजना निर्माणको तयारी गरिरहेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले विद्यालयमा देखिएका समस्या पहिचान गरी समाधान गर्न नगरपालिका गम्भीर रहेको बताउनुभयो। विद्यालयको विकासका लागि आरोप–प्रत्यारोपभन्दा पनि समन्वय, सहकार्य र साझा जिम्मेवारीका साथ अघि बढ्न उहाँले सबै सरोकारवालालाई आग्रह गर्नुभयो।

अभिभावक भेलामा विद्यार्थीहरूले विद्यालयमा विषयगत शिक्षकको अभाव, घेरापर्खालको समस्या तथा अभिभावकको पर्याप्त चासो र निगरानी नपुगेको जस्ता विषय उठाएका थिए। उनीहरूले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा मंगलसेन नगरपालिका–७ का वडा अध्यक्ष राजबहादुर शाही, वडा नं. ६ का अध्यक्ष देवेन्द्रप्रसाद भण्डारी, नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य लालबहादुर बिष्ट, नेकपा एमालेका कालुसिंह कामी, पूर्व वडा अध्यक्ष सिद्धराज ढुंगाना, पूर्व गाविस उपाध्यक्ष खड्के कामी, कार्यपालिका सदस्य मनसरा थ्यायत, शिक्षक हर्कबहादुर बिष्ट तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमबहादुर बिष्टलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सोही अवसरमा विद्यालयको शैक्षिक तथा भौतिक प्रगति विवरण प्रधानाध्यापक बलबहादुर थ्यायतले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन लेखापाल पदमराज जैशीले प्रस्तुत गर्नुभएको थियो।

शिक्षक कर्णबहादुर बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक शान्ति शाहीले गर्नुभएको थियो। कार्यक्रमबारे शिक्षक दिपेश ढुंगानाले जानकारी दिनुभएको छ।