मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाउँपालिकाका शिक्षा अधिकृत रामचन्द्र जोशीको बिदाइ, गौरीगंगामा सरुवा

चौरपाटी गाउँपालिकाका शिक्षा अधिकृत रामचन्द्र जोशीको बिदाइ, गौरीगंगामा सरुवा


अछाम । अछामको चौरपाटी गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत रामचन्द्र जोशीको सरुवा भएपछि गाउँपालिकाले एक कार्यक्रमका बीच बिदाइ तथा शुभकामना व्यक्त गरेको छ।

गाउँपालिकाको आयोजनामा आयोजित ‘फेरि भेटौँला’ कार्यक्रमअन्तर्गत जोशीलाई बिदाइ गरिएको हो। कैलालीको गौरीगंगा नगरपालिकामा सरुवा भएका जोशीले चौरपाटी गाउँपालिकामा रहँदा शिक्षा क्षेत्रको सुधार र विकासका लागि उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कार्यक्रममा उनको प्रशंसा गरिएको थियो।

चौरपाटी गाउँपालिकामा दुई वर्ष छ महिना कार्यरत रहँदा जोशीले शिक्षा क्षेत्रको गुणस्तर सुधार, व्यवस्थापन तथा व्यावसायिक रूपान्तरणका लागि विभिन्न प्रयास गरेका थिए। उनको कार्यकालमा शिक्षा क्षेत्रको सुधारका लागि देखाएको सक्रियता र प्रतिबद्धताको कार्यक्रममा सहभागीहरूले प्रशंसा गरेका थिए।

बिदाइ कार्यक्रममा आफ्नो अनुभव र भावना व्यक्त गर्दै जोशीले चौरपाटी गाउँपालिका आफ्नो कर्मभूमि मात्र नभई जन्मभूमि पनि भएको बताए। विगत दुई वर्ष छ महिनाको सहकार्य, सेवा र आत्मीयताले गाउँपालिकासँगको सम्बन्ध अझ गहिरो बनेको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रको सुधार र व्यावसायिक रूपान्तरणका लागि आफूले देखेको चाहना पूर्ण रूपमा पूरा गर्न नपाउँदै बिदा हुनुपरेको बताए।

उनले समय र परिस्थितिले हालका लागि चौरपाटीबाट टाढा हुनुपर्ने अवस्था सिर्जना भए पनि पुनः गाउँपालिकामै फर्किएर शैक्षिक सुधारको यात्रामा सहयात्री बन्ने चाहना रहेको बताए।

आफ्नो कार्यकालमा सहयोग, सद्भाव र सहकार्य प्रदान गर्ने जनप्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक, शिक्षक तथा शिक्षा क्षेत्रका सम्पूर्ण सरोकारवालाप्रति उनले आभार व्यक्त गरेका छन्।

‘यो बिदाइ अन्तिम होइन, फेरि भेट्ने आशासहितको विराम मात्र हो,’ जोशीले आफ्नो बिदाइ सन्देशमा भनेका छन्।

चौरपाटी गाउँपालिकामा रहँदा शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै आयोजित बिदाइ कार्यक्रममा उनलाई आगामी कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरिएको थियो।