मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालागाउँमा बिउबिजन वितरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन

कालागाउँमा बिउबिजन वितरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन


मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मंगलसेनले मंगलसेन नगरपालिका–१४ कालागाउँमा वित्तीय साक्षरता तथा उद्यम विकास कार्यक्रमअन्तर्गत बिउबिजन वितरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

संस्थामा आबद्ध सदस्य महिलाहरूको नेतृत्व, व्यक्तित्व तथा व्यावसायिक विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समूहका ५७ जना सदस्यलाई बिउबिजन वितरण गरिएको थियो। कार्यक्रममा बचतको महत्व, ऋणको सदुपयोग, आम्दानीका स्रोत बढाउने उपाय तथा वित्तीय साक्षरताका विषयमा जानकारी गराइएको थियो। साथै, वितरण गरिएको बिउबिजनको उचित प्रयोग गरी कृषि उत्पादन बढाउन र त्यसबाट बढीभन्दा बढी लाभ लिन सकिने उपायबारे समेत जानकारी दिइएको थियो।

कार्यक्रमकी प्रमुख अतिथि मंगलसेन नगरपालिकाकी उपप्रमुख संगीता रावल सोडारीले लघुवित्त संस्थाहरू ऋण लगानी गर्ने र किस्ता असुल गर्ने कार्यमा मात्रै सीमित नभई सदस्यहरूको आर्थिक तथा व्यावसायिक विकासमा समेत केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले मातृभूमि लघुवित्तले पछिल्लो समय सञ्चालन गरेका गतिविधिको प्रशंसा गर्दै समूहमा आबद्ध महिलाहरूको आर्थिक सशक्तीकरणसँगै नेतृत्व र व्यक्तित्व विकासमा थप लगानी बढाउन आग्रह गर्नुभयो।

उपप्रमुख रावलले वित्तीय संस्थाबाट ऋण लिने गरे पनि त्यसको उचित सदुपयोग गर्ने ज्ञान र सीपको अभाव देखिएकाले वित्तीय साक्षरता तथा उद्यम विकाससम्बन्धी कार्यक्रमलाई गाउँगाउँसम्म विस्तार गर्न आवश्यक रहेको बताउनुभयो।

“लघुवित्तको भूमिका ऋण दिने र किस्ता उठाउनेमा मात्रै सीमित हुनुहुँदैन। ऋण लिएपछि त्यसलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, आम्दानी कसरी बढाउने र व्यवसायलाई कसरी दिगो बनाउने भन्ने ज्ञान सदस्यहरूलाई दिन आवश्यक छ,” उहाँले भन्नुभयो।

उहाँले समूहमा आबद्ध प्रत्येक महिलाले बचतको महत्व, ऋणको सदुपयोग र आयआर्जनका सम्भावनाबारे जानकारी राख्नुपर्ने उल्लेख गर्दै महिलालाई ऋणमा निर्भर बनाउनेभन्दा पनि उद्यमशील र आत्मनिर्भर बनाउनेतर्फ वित्तीय संस्थाहरूले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। यस्ता कार्यक्रमले महिलालाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै आफ्नो व्यवसाय सञ्चालन गर्ने आत्मविश्वाससमेत बढाउने उहाँको भनाइ थियो।

वित्तीय संस्थाहरू आर्थिक समस्या परेका बेला नागरिकका लागि महत्वपूर्ण सहारा बन्ने गरेको उल्लेख गर्दै उपप्रमुख रावलले ऋण लिने सदस्यहरूले पनि त्यसको सही उपयोग गर्दै समयमै किस्ता तिर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो। उहाँले मातृभूमि लघुवित्तलाई सदस्य महिलाहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, नेतृत्व विकास गर्ने र आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी समूहका सदस्यहरूले संस्थाले ऋण लगानी र किस्ता असुलीभन्दा माथि उठेर आफूहरूको व्यावसायिक विकासका लागि समेत कार्यक्रम सञ्चालन गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए। उनीहरूले यस्ता रचनात्मक तथा उत्पादनमुखी कार्यक्रमले आयआर्जन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन माग गरेका थिए।

केन्द्र नं. ०७१०२४ का केन्द्र प्रमुख रोहिना भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मंगलसेनकी प्रमुख मनिसा रावल, मंगलसेन अनुगमन तथा उद्यम विकास संयोजक रामबहादुर बुढा, फिल्ड सहायक लक्ष्मण रावललगायत सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन मंगलसेन शाखाका फिल्ड सहायक भीमराज भाटले गर्नुभएको थियो।