मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकेश्वरी माविका विद्यार्थीद्वारा खाजा खर्च कटाएर रसुवाका बाढीपीडितलाई राहत सहयाेग

कालिकेश्वरी माविका विद्यार्थीद्वारा खाजा खर्च कटाएर रसुवाका बाढीपीडितलाई राहत सहयाेग


​अछाम / तुर्माखाँद गाउँपालिका वडान. ४काे बजार नजिकै रहेकाे श्री कालिकेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवाका बाढीपीडितहरूका लागि आर्थिक सहयोग जुटाएका छन्।

विद्यालयको प्रारम्भिक बालविकास (ECD) देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्च कटाएर स्वेच्छिक रूपमा कुल रु. १५,२७५ (पन्ध्र हजार दुई सय पचहत्तर रुपैयाँ) राहत कोषमा जम्मा गरेका हुन्।

​प्राकृतिक विपत्तिका कारण पीडित बनेका रसुवाका बाढी प्रभावितहरूलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरू स्वयंको अग्रसरतामा उक्त रकम संकलन गरिएको विद्यालयले जनाएको छ।

​विद्यार्थीहरूको यो मानवीय कार्यको प्रशंसा गर्दै विद्यालयका निमित्त प्रधानाध्यापक नन्दाराम बुढाले राहत कोषमा सहयोग पुर्‍याउने सम्पूर्ण विद्यार्थीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको छ।

​”हाम्रा विद्यार्थीहरू संवेदनशील, दयालु र सहयोगी भावनाका धनी छन्। उहाँहरूले आफ्नो खाजा खर्च कटाएर गरेको यो योगदान सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय हो,”निमित्त प्रधानाध्यापक बुढाले भन्नुभयो,”यो महाविपत्तिमा हामीले संकलन गरेको रकम सानो भए पनि पीडितहरूको घाउमा मलमपट्टी लगाउन र उहाँहरूलाई राहत दिलाउन ठूलो मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु।”

विपद्को समयमा सबैले आ-आफ्नो ठाउँबाट हातेमालो गर्नुपर्ने सन्देश विद्यार्थीहरूले दिएको भन्दै निमित्त प्रधानाध्यापक बुढाले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक आभार व्यक्त गर्नुभएको छ।

​विद्यालयका सह-शिक्षक महेन्द्र बहादुर बयकका अनुसार बालबालिकाहरूमा सामाजिक उत्तरदायित्व र सहयोगको भावना अभिवृद्धि गर्न यस प्रकारको कार्यले ठूलो भूमिका खेल्नेछ। विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा देखाएको यो तत्परताको स्थानीय स्तरमा समेत उच्च प्रशंसा भइरहेको छ।